चितवन । स्वास्थ्य संस्था बाहेकबाट सञ्चालित एम्बुलेन्सको नवीकरण रोकिएपछि देशभर करिब दुई हजार एम्बुलेन्स सञ्चालनविहीन बनेका छन्। स्वास्थ्य ऐन, २०७५ को व्यवस्थाका कारण ती एम्बुलेन्स नवीकरण हुन नसकेको एम्बुलेन्स चालकहरूको भनाइ छ।
संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपाल (ट्रेड युनियन सङ्घ) का अध्यक्ष नवराज लामिछानेले स्वास्थ्य संस्था बाहेक गैरसरकारी संस्था र निजी क्षेत्रबाट सञ्चालित करिब दुई हजार एम्बुलेन्स नवीकरण हुन नसकेको जानकारी दिए। उनका अनुसार थप करिब एक हजार ५०० एम्बुलेन्स पनि यही समस्याको जोखिममा छन्।
देशभर करिब छ हजार एम्बुलेन्स सञ्चालनमा रहेको तथ्याङ्क छ। तीमध्ये स्वास्थ्य संस्थाले सञ्चालन गरेका एम्बुलेन्सको नवीकरण भए पनि गैरसरकारी संस्था र निजी क्षेत्रका एम्बुलेन्स सञ्चालनमा आउन सकेका छैनन्।
अध्यक्ष लामिछानेका अनुसार स्वास्थ्य ऐन, २०७५ लागू भएयता ऐन संशोधनका लागि सरकारसँग निरन्तर पहल हुँदै आएको छ। यस विषयमा पूर्व स्वास्थ्यमन्त्री डा.सुधा शर्मालाई समेत जानकारी गराइएको र नयाँ सरकार गठनपछि स्वास्थ्यमन्त्रीसमक्ष पनि समस्या राख्ने तयारी गरिएको उनले बताए।
ऐन संशोधन नभए थप एम्बुलेन्स सञ्चालनविहीन हुने, नागरिकले समयमै एम्बुलेन्स सेवा नपाउने र चालकहरूको रोजगारीसमेत गुम्ने अवस्था आउने भन्दै उनले सरकारले यस विषयलाई गम्भीर रूपमा सम्बोधन गर्नुपर्ने माग गरे।
















प्रतिक्रिया दिनुहोस्