Advertisement
Advertisement
Corporate Samachar
१३ श्रावण २०८३, बुधबार
Advertisement
Advertisement

सुनसरी घटनापछि सर्वदलीय बैठकको संयुक्त वक्तव्य, निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग

सुनसरी घटनापछि सर्वदलीय बैठकको संयुक्त वक्तव्य, निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग
विज्ञापन
Advertisement

काठमाडौं । सुनसरीलगायत विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित संवेदनशील घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितिप्रति गम्भीर चासो व्यक्त गर्दै सर्वदलीय बैठकले सामाजिक सद्भाव, शान्ति र राष्ट्रिय एकता कायम राख्न सबै पक्षलाई संयम अपनाउन आह्वान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले संयुक्त वक्तव्य जारी गर्दै समस्याको समाधान संवाद, सहमति र कानुनी प्रक्रियामार्फत खोजिनुपर्नेमा जोड दिएको हो।

विज्ञापन
Advertisement
Advertisement

बैठकले पछिल्ला घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घटनामा घाइते भएका नागरिक र सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यस्ता दुःखद घटना दोहोरिन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने उल्लेख गरेको छ।

संयुक्त वक्तव्यमा नेपालको पहिचान विविधताबीचको एकता, सहिष्णुता र सहअस्तित्व भएको उल्लेख गर्दै सामाजिक सद्भाव खल्बल्याउने कुनै पनि गतिविधि, उत्तेजना वा हिंसात्मक कार्यमा नलाग्न आम नागरिकलाई आग्रह गरिएको छ। आवेग र मुठभेडले समस्या समाधान नगरी थप जटिलता सिर्जना गर्ने भएकाले संयमता अपनाउन बैठकले अपिल गरेको छ।

लोकतान्त्रिक व्यवस्थामा जस्तोसुकै असन्तुष्टि र विवादको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट मात्रै सम्भव हुने उल्लेख गर्दै बैठकले सम्बन्धित सबै पक्षलाई आफ्ना माग र असन्तुष्टि शान्तिपूर्ण रूपमा राख्न आग्रह गरेको छ। साथै, केन्द्रको प्रयास मात्र पर्याप्त नहुने भएकाले प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी संवादलाई तल्लो तहसम्म विस्तार गर्न र नागरिकबीच विश्वासको वातावरण निर्माण गर्न राजनीतिक दलका सबै तहका समितिलाई निर्देशन दिइएको छ। स्थानीय तहमा धार्मिक अगुवा, नागरिक समाज र प्रशासनसँग समन्वय गरेर शान्ति कायम राख्न सक्रिय भूमिका खेल्न पनि बैठकले आग्रह गरेको छ।

बैठकले भविष्यमा यस्ता संवेदनशील घटना दोहोरिन नदिन राजनीतिक दलको केन्द्रीय तहबाट आवश्यक पहल, निरन्तर समन्वय, अनुगमन तथा नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।

संयुक्त वक्तव्यमा सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रामक सूचना, अफवाह र घृणास्पद अभिव्यक्तिले परिस्थिति थप जटिल बनाउन सक्ने भन्दै सामाजिक सञ्जाल जिम्मेवारीपूर्वक प्रयोग गर्न आम नागरिकलाई अनुरोध गरिएको छ। सञ्चारमाध्यमलाई पनि संयमित भई तथ्यपरक र पुष्टि भएका सूचना मात्रै सम्प्रेषण गर्न आग्रह गरिएको छ।

सर्वदलीय बैठकले नागरिकको जिउधनको सुरक्षा राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै नेपाल सरकारलाई अधिकतम संयमता अपनाएर अवस्था सामान्य बनाउन, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न, साथै पीडित पक्षलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन ध्यानाकर्षण गराएको छ।

बैठकले अन्त्यमा राष्ट्रिय एकता र सामाजिक सद्भावको संरक्षणका लागि सबै राजनीतिक दल एकताबद्ध रहेको सन्देश दिँदै उत्पन्न समस्याको दिगो, प्रभावकारी र शान्तिपूर्ण समाधानका लागि सरकार तथा समाजलाई आवश्यक सबै सहयोग गर्न प्रतिबद्ध रहेको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit