काठमाडौं। नेपालको अग्रणी सिमेन्ट उत्पादक कम्पनी होङ्सी शिवम् सिमेन्ट प्रालिको अल्पकालीन कर्जा क्षमताप्रति विश्वास जनाउँदै इक्रा नेपालले कम्पनीको ६ अर्ब बराबरको अल्पकालीन कर्जा सीमाका लागि ए२ प्लसरेटिङ पुनः पुष्टि गरेको छ।
इक्रा नेपालको पछिल्लो रेटिङ प्रतिवेदनअनुसार कम्पनीको उत्पादन क्षमता, सुधारिँदो आम्दानी तथा नाफा, न्यून ऋणभार र बलियो वित्तीय अवस्थाले रेटिङलाई समर्थन गरेको हो।
प्रतिवेदनअनुसार होङ्सी शिवम् वार्षिक करिब २० लाख मेट्रिक टन क्लिङ्कर तथा २३ लाख मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता भएको नेपालको सबैभन्दा ठूलो एकीकृत सिमेन्ट उद्योगमध्ये एक हो।
कम्पनीको सञ्चालन आम्दानी आर्थिक वर्ष २०२५ मा अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले वृद्धि भएको छ। चालु आर्थिक वर्षको पहिलो नौ महिनामा आम्दानी १८ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ। सञ्चालन नाफा दर पनि अघिल्लो वर्षको २४ प्रतिशतबाट बढेर ३१ प्रतिशत पुगेको छ।
दीर्घकालीन ऋणको अधिकांश भुक्तानी सम्पन्न भएपछि कम्पनीको ऋण तिर्ने क्षमता उल्लेखनीय रूपमा सुदृढ भएको इक्रा नेपालको निष्कर्ष छ। ऋण सेवा क्षमता करिब १९ गुणासम्म पुगेको छ भने कुल ऋण र नेटवर्थको अनुपात ०.१५ गुणा मात्र रहेको छ, जसले कम्पनीको वित्तीय जोखिम न्यून रहेको संकेत गर्छ।
कम्पनीमा चीनको होङ्सी ग्रुपको ७० प्रतिशत तथा शिवम् होल्डिङ्सको ३० प्रतिशत स्वामित्व रहेको छ। अनुभवी प्रवर्द्धक समूह र सुदृढ व्यवस्थापन पनि कम्पनीको प्रमुख सबल पक्षका रूपमा उल्लेख गरिएको छ।
यद्यपि, प्रतिवेदनले केही चुनौतीहरू पनि औँल्याएको छ। इन्भेन्टरी तथा उधारो भुक्तानी अवधिका कारण कार्यकारी पुँजी चक्र मध्यम रहेको, क्लिङ्कर बिक्री पूर्ण रूपमा तथा सिमेन्ट बिक्रीको करिब ३५ प्रतिशत हिस्सा शीर्ष १० ग्राहकमा निर्भर रहेको उल्लेख गरिएको छ।
त्यसैगरी, देशमा सिमेन्ट उत्पादन क्षमता मागभन्दा बढी रहेकाले मूल्य र नाफामा भविष्यमा दबाब पर्न सक्ने तथा आर्थिक सुस्तताले उद्योगलाई चुनौती थप्न सक्ने इक्रा नेपालको विश्लेषण छ। नियामकीय स्वीकृतिमा ढिलाइ र लगानी योजनाका कारण करिब रु १.५ अर्ब लाभांश वितरण हुन बाँकी रहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।
समग्रमा, बलियो सञ्चालन प्रदर्शन, उच्च नाफादर, कम ऋणभार र पर्याप्त नगद प्रवाहका कारण कम्पनीको अल्पकालीन वित्तीय दायित्व पूरा गर्ने क्षमता सुदृढ रहेको निष्कर्षसहित इक्रा नेपालले कम्पनीको ए२ प्लस रेटिङ यथावत् राखेको जनाएको छ।
















प्रतिक्रिया दिनुहोस्