काठमाडौं । प्रधानमन्त्रीले सुनसरीमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
उनले घटनाका कारण समाजमा भय, आक्रोश र असहजता उत्पन्न भएको भन्दै यस्ता घटना पुनः दोहोरिन नदिन सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताएका छन्।
प्रधानमन्त्रीले आफू सरकार प्रमुखका रूपमा मात्र नभई एक नागरिकका रूपमा पनि सुनसरी घटनाबाट मर्माहत भएको उल्लेख गर्दै पीडित परिवारले भोग्नुपरेको पीडालाई आफूले महसुस गरेको बताएका छन्। उनले मृतकका परिवारलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराउन तथा दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।
उनले घटनाको सुरुवातदेखि नै सरकारले आफ्नो उपस्थिति देखाएको भए पनि त्यो पर्याप्त हुन नसकेको स्वीकार गर्दै सुरक्षाकर्मीको गोलीबाट नागरिकको ज्यान जानु र घाइते हुनु कुनै पनि दृष्टिकोणबाट सामान्य विषय नभएको बताए। यस विषयमा अनुसन्धान सुरु भइसकेको र सत्यतथ्यका आधारमा कानुनी प्रक्रिया अघि बढाइने उनले जानकारी दिए।
प्रधानमन्त्रीले सम्पूर्ण घटनाको सरकारले गम्भीर समीक्षा गरिरहेको उल्लेख गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक निर्णयहरू तत्काल कार्यान्वयनमा ल्याइने बताए। उनले नागरिकले सरकारबाट जिम्मेवार र प्रभावकारी कदमको अनुभूति गर्न सक्ने विश्वाससमेत व्यक्त गरे।
मृतक तथा घाइतेका परिवारलाई न्यायको अनुभूति दिलाउन सरकारले आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले त्यतिबेलासम्म संयमता अपनाउन सबैसँग आग्रह गरेका छन्। उनले उत्तेजना, आक्रोश र बदलाको भावनालाई नियन्त्रणमा राख्न तथा कुनै पनि उक्साहट वा हिंसात्मक गतिविधिमा संलग्न नहुन आग्रह गरे।
‘मानिसको पहिलो धर्म मानिसलाई जोगाउनु हो, र सरकारको पहिलो दायित्व आफ्ना नागरिकको सुरक्षा सुनिश्चित गर्दै पीडितलाई न्याय र क्षतिपूर्ति दिलाउनु हो,’ प्रधानमन्त्रीले भने।
उनले अन्त्यमा सामाजिक सद्भाव कायम राख्न, एकअर्काप्रति प्रेम र सम्मानको भावना बढाउन तथा सुरक्षित र संयमित रहन सम्पूर्ण नागरिकसँग अपिल गरेका छन्।
















प्रतिक्रिया दिनुहोस्