काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा देखिएको तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै बल प्रयोगले कुनै पनि समस्याको दीर्घकालीन समाधान नदिने बताएका छन्। जारी सर्वदलीय बैठकमा बोल्दै उनले संवाद, सहमति र राजनीतिक समझदारीमार्फत मात्र परिस्थितिलाई सहज बनाउन सकिने बताएका हुन्।
प्रचण्डले यस्तो संवेदनशील समयमा सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न अग्रसर हुनुपर्नेमा जोड दिए। उनले विगतमा भूकम्प, बाढी–पहिरो तथा संविधान निर्माणजस्ता जटिल परिस्थितिमा राजनीतिक दलहरूले राष्ट्रिय एकता र साझा सहमतिको उदाहरण प्रस्तुत गरेको स्मरण गराउँदै अहिले पनि त्यही राजनीतिक परिपक्वता आवश्यक रहेको बताए।
उनले राष्ट्रिय महत्त्वका संवेदनशील विषयमा सरकार साझा समाधानतर्फ प्रभावकारी रूपमा अघि बढ्न नसकेको भन्दै प्रश्न उठाए। साथै, सर्वदलीय बैठक बोलाएकोमा रास्वपा सभापति रवि लामिछानेलाई धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्रीले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद र सहमतिको पहल गर्नुपर्ने बताए। संसद्भित्र पनि सरकारको प्रस्तुति अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको उनको टिप्पणी थियो।
प्रचण्डले आफ्नो पार्टीले यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरिसकेको र स्थानीय तहमा संयमता तथा सामाजिक सद्भाव कायम राख्न पार्टी पंक्तिलाई आवश्यक निर्देशनसमेत दिइसकेको जानकारी दिए। घटनास्थलमा स्थानीय व्यक्तिमात्र नभई बाहिरी रूपमा वातावरण भड्काउने तत्वसमेत सक्रिय हुन सक्ने भएकाले सबै पक्ष उच्च सतर्क रहनुपर्ने उनको भनाइ थियो।
उनले यो राजनीतिक तिक्तता बढाउने समय नभई राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने समय भएको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरे। साथै, सरकार, राजनीतिक दल र सबै सरोकारवाला पक्षले सामाजिक सद्भाव, शान्ति र आपसी विश्वासलाई केन्द्रमा राखेर एकताबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिए।
















प्रतिक्रिया दिनुहोस्