काठमाडौं ।हालै आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सहजीकरण गर्ने उद्देश्यले सुबिसुले सेवा अवधि थप गरेको छ।
सुबिसुका अनुसार भदौ १० गते आएको बाढीपछि विशेषगरी भोटेकोशी तथा त्रिशूली नदी आसपासका क्षेत्रमा सेवा प्रभावित भएको छ। बट्टार, चरौंदी, चौघडा, देवीघाट, धादिङ, हुङ्दीखोला, खाल्टे, खानीखोला, गल्छी, धार्के र मलेखुलगायतका क्षेत्रमा बाढीका कारण इन्टरनेट सेवामा समस्या आएको कम्पनीले जनाएको छ।
बाढीका कारण सेवा प्रभावित भएका अवधिमा कनेक्सनको म्याद समाप्त भएका ग्राहकलाई सुबिसुले थप ७ दिनको सेवा अवधि उपलब्ध गराउने निर्णय गरेको हो। कम्पनीले विपद्का कारण ग्राहकको सेवा अवधि प्रभावित नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको जनाएको छ।
सेवा पुनःस्थापनाका विषयमा सुबिसुका प्रमुख सञ्चालन अधिकृत सुबास अधिकारीले प्रभावित क्षेत्रमा नेटवर्क तथा इन्टरनेट सेवा पुनःस्थापनाको काम निरन्तर भइरहेको बताए। स्थानीय अवस्था र पहुँचलाई ध्यानमा राख्दै प्राविधिक टोलीहरू सेवा यथाशीघ्र सञ्चालनमा ल्याउन फिल्डमै खटिएको उनले जानकारी दिए।
उनले सेवा पुनःस्थापनासँगै फिल्डमा परिचालित प्राविधिक टोलीको सुरक्षालाई समेत उच्च प्राथमिकतामा राखिएको बताए।
बाढीका कारण सेवा प्रभावित भएका ग्राहकले सेवा तथा पुनःस्थापनासम्बन्धी जानकारीका लागि सुबिसुको ग्राहक सहायता केन्द्रमा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ।















प्रतिक्रिया दिनुहोस्