काठमाडौं। नेपाल पर्यटन बोर्डले कार्यकारी प्रमुख (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ।
बोर्डले शुक्रबार सूचना प्रकाशित गर्दै योग्यता पुगेका इच्छुक उम्मेदवारबाट दरखास्त माग गरेको हो। इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ। अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछि कार्यालय खुलेको पहिलो दिन कार्यालय समयभित्र दरखास्त बुझाउन सकिने बोर्डले जनाएको छ।
सीईओ पदका लागि उम्मेदवार नेपाली नागरिक हुनुपर्नेछ। मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी पर्यटन क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव भएको हुनुपर्नेछ। साथै, प्रचलित कानुनबमोजिम उम्मेदवार हुन अयोग्य नभएको हुनुपर्नेछ।
आवेदकले बोर्डको प्रभावकारिता अभिवृद्धिका लागि गर्नुपर्ने गतिविधि समेटिएको तीन हजार शब्दसम्मको रणनीतिक कार्ययोजना र आफूले काम गरेको संस्था वा संगठनमा आफ्नो प्रयासबाट हासिल गरेका उल्लेख्य उपलब्धिसम्बन्धी एक हजार शब्दसम्मको प्रतिवेदनसमेत पेश गर्नुपर्नेछ।
त्यस्तै, सार्वजनिक संस्थाको विभागीय जिम्मेवारीमा रहेका उम्मेदवारले विभागीय स्वीकृतिपत्र र बोर्डको कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस कार्यविधि, २०८३ बमोजिमको स्वघोषणासमेत पेश गर्नुपर्ने उल्लेख छ।
दरखास्त दस्तुरबापत १५ हजार रुपैयाँ बुझाउनुपर्नेछ। आवेदन नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुखको सचिवालय, भृकुटीमण्डप, काठमाडौंमा बुझाउन सकिनेछ। इमेलमार्फत आवेदन दिने उम्मेदवारले आवश्यक कागजातसहित बोर्डको इमेलमा आवेदन पठाउन सक्ने छन्।बोर्डमा पाँच महिनायता उक्त पद रिक्त छ ।
सीईओ छनोट प्रक्रियासम्बन्धी थप सूचनाहरू नेपाल पर्यटन बोर्डको वेबसाइटमार्फत सार्वजनिक गरिने जनाइएको छ।















प्रतिक्रिया दिनुहोस्