गण्डकी । नेपालको प्रमुख पर्यटकीय गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा विदेशी पर्यटकको आकर्षण बढ्दै गएको छ । सन् २०२६ को अक्टुबर महिनामा मात्रै ४१ हजार ७५८ जना विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा ४ हजार ६८२ ले बढी हो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार गत वर्ष अक्टुबरमा ३७ हजार ७६ जना विदेशी पर्यटक यस क्षेत्रमा आएका थिए । मुख्य पर्यटकीय याम सुरु भएसँगै पदयात्राका लागि पर्यटकको आगमन बढेको हो । अक्टुबरमा अन्नपूर्ण क्षेत्र पुगेका कुल पर्यटकमध्ये १९ हजार २०७ जना दक्षिण एसियाली मुलुकका नागरिक हुन् भने बाँकी अन्य देशका पर्यटक रहेका छन् । यस वर्षको अक्टुबर–नोभेम्बर मुख्य पर्यटकीय याम भएकाले आगामी दिनमा पर्यटक आगमन अझ बढ्ने अपेक्षा गरिएको छ ।
सन् २०२६ मा अन्नपूर्ण क्षेत्रमा सबैभन्दा बढी पर्यटक गत जुन महिनामा भित्रिएका थिए । उक्त महिनामा एक लाख ८ हजार ७०३ जना विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए । त्यसैगरी, वर्षको पहिलो १० महिनामध्ये सबैभन्दा कम पर्यटक जनवरीमा आएका थिए । जनवरीमा २० हजार ६३ जना विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । सडकमार्ग हुँदै आउने आन्तरिक पर्यटकको संख्या भने यसमा समावेश छैन । सडक पहुँच विस्तारसँगै अन्नपूर्ण क्षेत्रमा आन्तरिक पर्यटकको आगमनसमेत उल्लेख्य हुने गरेको छ ।
प्राकृतिक सौन्दर्य, हिमाली दृश्य र पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्यका रूपमा स्थापित छ । यहाँ पर्ने अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ तथा म्याग्दीको घोडेपानी पर्यटकका प्रमुख रोजाइमा पर्दै आएका छन्। कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र नेपालको महत्वपूर्ण पर्यटकीय तथा जैविक विविधतायुक्त क्षेत्रसमेत हो ।















प्रतिक्रिया दिनुहोस्