Advertisement
Advertisement
Corporate Samachar
४ आश्विन २०८३, आईतवार
Advertisement

संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ का अवसरमा शनिबार टुँडीखेलमा आयोजित समारोहमा सम्बाेधन गर्नुहुँदै प्रधानमन्त्री वालेन्द्र शाह । तस्बिर : किरणराज बिष्ट / रासस
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोह समितिले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले शहीदको रगतले लेखिएको संविधानलाई सरकारले काममार्फत पूर्णता दिने बताएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

प्रधानमन्त्री शाहले संविधानप्रतिको निष्ठा र यसको पालनामा सरकार पूर्ण प्रतिबद्ध रहेको दोहोर्‍याउँदै संविधान जारी भएको दिन हरेक वर्ष आउने भए पनि संविधान पूर्ण कार्यान्वयन हुने दिन आफैँले ल्याउनुपर्ने बताए । त्यसका लागि इमानदार निर्णय, पारदर्शी नियुक्ति र नागरिकको घरदैलोमा पुग्ने सेवा आवश्यक रहेको उनको भनाइ थियो ।

जनताले सुशासन, विकास, समृद्धि र सामाजिक न्यायको अपेक्षा गरेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले सरकारका हरेक कदम त्यही आकाङ्क्षा पूरा गर्ने दिशामा केन्द्रित रहेको बताए ।

प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र कानुनी राज्य नेपालका लागि सर्त मात्र नभई राष्ट्रिय जीवनका आधार भएको उनले बताए । संविधानले विविधताबीचको एकता, विभेद र असमानताको अन्त्य तथा विकास, समृद्धि र सामाजिक न्यायका आधारमा समतामूलक समाज निर्माणको वाचा गरेको उनको भनाइ थियो ।

संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने हात इमानदार र निरन्तर सक्रिय नभए कागजमै सीमित हुने उनले बताए । संविधान कार्यान्वयनको प्रक्रिया सुरुवात मात्रै भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो भए पनि त्यसविरुद्ध काम गर्ने शक्ति बलियो हुँदै गएको बताए ।

विकासका लागि सुशासन अनिवार्य पूर्वसर्त भएको उल्लेख गर्दै उनले वर्तमान सरकारले प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, प्रशासनयन्त्रमा राजनीतिक तटस्थता तथा सरकारी र सार्वजनिक पदमा योग्यतामा आधारित नियुक्ति प्रक्रियालाई प्राथमिकता दिएको बताए ।

‘सुशासन नारा होइन, काम हो’ भन्दै प्रधानमन्त्री शाहले सरकार त्यसैअनुसार काम गरिरहेको बताए । संघ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा राष्ट्र विकासको साझा उद्देश्य हासिल गर्न संघीय सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री शाहले सरकारले पुरानै शैलीमा मात्र अघि नबढी कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र साइबर सुरक्षालाई सँगसँगै अघि बढाउने बताए । नवप्रवर्तन र नवउद्यमलाई प्राथमिकता दिँदै ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्ने योजना रहेको उनले बताए । डिजिटल सुशासन कार्ययोजनाअनुसार निर्माण भइरहेको राष्ट्रिय डिजिटल पूर्वाधार त्यसको आधार भएको उल्लेख गर्दै युवाले सडकमा उठाएको सुशासनको माग प्रविधिमार्फत पनि सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरे ।

भोटेकोशी बाढीबाट भएको क्षति अकल्पनीय र अपूरणीय रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले विपद् व्यवस्थापन तथा उद्धारमा सहयोग गर्ने मित्रराष्ट्र, अन्तर्राष्ट्रिय समुदाय, संघसंस्था, निजी क्षेत्र, राष्ट्रसेवक कर्मचारी तथा आम नागरिकप्रति आभार व्यक्त गरे ।

नेपाल विश्वका विपद् उच्च जोखिममा रहेका मुलुकमध्ये एक रहेको उल्लेख गर्दै उनले विपद् आएपछि मात्र नभई विपद् आउनुअघि नै जोखिम न्यूनीकरण र पूर्वतयारीमा केन्द्रित हुनुपर्ने बताए । जोखिम न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यमा विशेष जोड दिँदै विपद्को पूर्वसूचना प्रणालीलाई सर्वोच्च प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइने उनले बताए ।

प्रधानमन्त्री शाहले नेपालको राजनीतिक व्यवस्थामा परिवर्तन तथा सुशासनको माग गर्दै भएका आन्दोलनमा ज्यान आहुति दिने सम्पूर्ण ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरे । ऐतिहासिक जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका जेनजी सुशासन योद्धाहरूप्रति पनि उनले श्रद्धाञ्जली व्यक्त गरे ।

त्यसैगरी भोटेकोशी बाढीमा ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री शाहले शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit