काठमाडौं । सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभिआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु गरेको छ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप तथा लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाइको समस्या समाधान गर्ने उद्देश्यले नयाँ प्रणालीबाट छपाइ सुरु गरेको हो। नयाँ प्रणालीमा सेवाग्राहीको विवरण ईडीएलभिआरएसमा अपलोड भएपछि उक्त विवरण सिधै सुरक्षण मुद्रणमा पुग्ने व्यवस्था गरिएको छ।
सुरक्षण मुद्रणले लाइसेन्स छपाइ गरी हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउनेछ। यसले लाइसेन्स छपाइ र वितरणमा देखिँदै आएको ढिलाइ तथा अन्य समस्या कम हुने अपेक्षा गरिएको छ। पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छपाइ गरी वितरणका लागि सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा हुलाकमार्फत पठाइएको मन्त्रालयले जनाएको छ।
प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरी आफ्नै व्यवस्थापनमा सवारी चालक अनुमतिपत्र छपाइ गर्न सक्ने व्यवस्था पनि गरिएको छ। सोहीअनुसार मधेश प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरी आफ्नै व्यवस्थापनमा लाइसेन्स छपाइ गरिरहेको छ। यस्तै, लुम्बिनी प्रदेशले पनि शुक्रबार सुरक्षण मुद्रणसँग सम्झौता गरी लाइसेन्स छपाइ सुरु गरेको मन्त्रालयले जनाएको छ। प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता नगरेको अवस्थामा भने सेवाग्राहीको चाप र समस्यालाई ध्यानमा राख्दै यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रणको समन्वयमा लाइसेन्स छपाइ गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले स्पष्ट गरेको छ।
नयाँ प्रणाली कार्यान्वयनमा आएसँगै प्रदेशअनुसार लाइसेन्स छपाइको जिम्मेवारी व्यवस्थापन गरी सेवाग्राहीलाई सहज, छिटो र समयमै सवारी चालक अनुमतिपत्र उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा आएको मन्त्रालयले जनाएको छ।















प्रतिक्रिया दिनुहोस्