काठमाडौं । चार दिनदेखि काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी’ आइतबार सम्पन्न हुँदैछ। आयोजकका अनुसार प्रदर्शनीको अन्तिम दिनसम्म ७० हजारभन्दा बढीले अवलोकन गरेका छन् भने घर तथा जग्गा खरिदमा समेत सर्वसाधारणको आकर्षण बढेको छ।
नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले अपेक्षा गरेभन्दा बढी अवलोकनकर्ता प्रदर्शनीमा आएको बताए। उनका अनुसार शनिबारसम्म करिब ७० हजारले प्रदर्शनी अवलोकन गरिसकेका थिए। उनले भने, ‘एक्स्पो चलेको चार दिन भयो, अब समापन हुँदैछ। तर अपेक्षा गरेभन्दा बढी नै अवलोकनकर्ता पायौं। करिब सात महिना अगाडि नै कार्यक्रम तय गरेका थियौं। भदौ १० गतेको विनाशकारी बाढीपछि एक्स्पो नगरौं कि भन्ने पनि भएको थियो। तर बाढीलाई मध्यनजर गर्दै यसलाई शिक्षामूलक रूपमा आयोजना गर्यौं र सफल भयौं।’

घिमिरेका अनुसार यसपटक अघिल्ला प्रदर्शनीको तुलनामा घर तथा जग्गाको बिक्रीसमेत बढेको छ। विशेषगरी सस्तो तथा कम लागतमा निर्माण भएका घर र जग्गाप्रति सर्वसाधारणको आकर्षण देखिएको उनले बताए। उनका अनुसार १ करोड ४० लाख रुपैयाँसम्मका ५० वटाभन्दा बढी घर बिक्री भएका छन् भने शनिबारसम्म करिब ७० वटा घर बिक्री भइसकेका छन्। काठमाडौं उपत्यकाबाहिर चितवन, दाङ र सुनसरीलगायतका क्षेत्रमा रहेका जग्गाको मागसमेत बढेको उनले बताए। यसपटक प्रदर्शनीस्थलमै घर तथा जग्गा खरिदका लागि बुकिङ गर्नेको संख्या बढेको व्यवसायीहरूको भनाइ छ। विगतमा प्रदर्शनीपछि ग्राहकसँग फलोअप गरेर बिक्री गर्ने गरिएकोमा यसपटक स्थलमै बुकिङ गर्ने क्रम बढेको उनीहरू बताउँछन्।

१ करोड ४० लाखमै घर
हाउजिङ तथा घरजग्गा विकासमा सक्रिय ग्रान्डी डेभलपर्सका अध्यक्ष दीपक कुँवरले सर्वसाधारणले खरिद गर्न सक्ने ‘एफोर्डेबल’ घरलाई प्राथमिकता दिइएको बताए। उनका अनुसार टोखा–झोर क्षेत्रमा साढे दुई आनामा बनेको दुई तले, तीन बेडरुमको घर १ करोड ४० लाख रुपैयाँमा उपलब्ध गराइएको छ। त्यस्ता घरमध्ये करिब ८० देखि ८५ प्रतिशतसम्म बुकिङ भइसकेको उनले जानकारी दिए। ग्राहकका लागि चरणबद्ध भुक्तानीको व्यवस्था गरिएको र लक्ष्मी बैंकमार्फत ५.४९ प्रतिशत ब्याजदरमा १०, १५ र २० वर्ष अवधिका कर्जा उपलब्ध गराइएको कुँवरले बताए। तर घरजग्गा व्यवसायीका लागि जग्गा हदबन्दी अहिले पनि प्रमुख समस्या रहेको उनको भनाइ छ।

‘साथीहरूको दुई खर्बभन्दा बढीको प्रोपर्टी रोक्कामा छ। बिक्री गरिएका घरहरू पनि पास हुने अवस्थामा छैनन्। त्यसकारण उपभोक्ताहरूको विश्वास कमजोर भइरहेको छ,’ अध्यक्ष कुँवरले भने।जग्गा हदबन्दीसम्बन्धी समस्या समाधान भए घरजग्गा क्षेत्रमा ठूलो रकम चलायमान हुने कुँवरको दाबी छ। घरजग्गा कारोबार बढ्दा त्यसको प्रभाव निर्माण सामग्री उद्योगमा समेत पर्ने उनको भनाइ छ।‘घरजग्गा क्षेत्र चलायमान भयो भने रड, सिमेन्टलगायत निर्माणसँग सम्बन्धित उद्योगमा पनि सकारात्मक प्रभाव पर्छ।’
स्टलमै बढ्यो बुकिङ
गृहलक्ष्मी रियल्टी लिमिटेडका जनरल म्यानेजर निरज खड्काले पनि प्रदर्शनीमा ग्राहकको सहभागिता उल्लेख्य रहेको बताए। उनका अनुसार कम्पनीको स्टलमा दैनिक करिब २०० देखि २५० जनासम्मले जानकारी लिएका थिए भने दैनिक कारोबारका क्रममा १२ देखि १५ वटासम्म बुकिङ भएको थियो। ‘चार दिनको प्रदर्शनीमा हाम्रो स्टलमा दैनिक २०० देखि २५० जनासम्म आउनुभयो। बुकिङ पनि उत्साहजनक रह्यो,’ खड्काले भने । कम्पनीले मनमैजु रेसिडेन्सीमा २५ लाख रुपैयाँसम्म छुटको व्यवस्था गरेको थियो। त्यस्तै, बनेपास्थित नागीडाँडा ग्रीन हिल्समा चार आनाभन्दा बढी जग्गासहितका घर तीन करोड रुपैयाँमा उपलब्ध गराइएको खड्काले बताए।
हदबन्दीले रोकियो अर्बौंको सम्पत्ति
घरजग्गा व्यवसायीहरूले लामो समयदेखि जग्गा हदबन्दीसम्बन्धी व्यवस्थाका कारण कारोबार प्रभावित भएको बताउँदै आएका छन्। व्यवसायीहरूका अनुसार २०७६ सालदेखि लागू भएको व्यवस्थाले कम्पनीलाई ३० रोपनीभन्दा बढी जग्गा राख्न नदिने प्रावधानका कारण ठूलो परिमाणको सम्पत्ति रोकिएको छ। व्यवसायीहरूको दाबीअनुसार २०७६ सालअघि जग्गा खरिद गरी अपार्टमेन्ट तथा आवासीय परियोजना निर्माण गरेका कतिपय कम्पनीले अहिले पनि घर निर्माण गरेर बिक्री गर्न समस्या भोगिरहेका छन्। बिक्री गरिसकेका घरजग्गाको स्वामित्व हस्तान्तरणमा समेत समस्या देखिएको उनीहरूको भनाइ छ। यही कारणले घरजग्गा व्यवसायीहरू हदबन्दीसम्बन्धी व्यवस्था पुनरावलोकन गर्नुपर्ने माग गर्दै आएका छन्। उनीहरूको तर्कमा रोकिएको जग्गा कारोबारमा आउन सकेमा घरजग्गा मात्र नभई निर्माण सामग्री, बैंक तथा वित्तीय संस्था र रोजगारीमा समेत प्रभाव पर्न सक्छ।

भदौ १० गते भोटेकोशी नदी प्रणालीमा आएको विनाशकारी बाढीका ठूलो धनजनको क्षति भएपछि विपद्लाई ध्यानमा राख्दै सुरक्षित तथा व्यवस्थित आवास निर्माणसम्बन्धी जनचेतना बढाउने उद्देश्यले प्रदर्शनी सञ्चालन गरिएको महासंघले जनाएको छ। चार दिनसम्म चलेको प्रदर्शनीमा घर तथा जग्गाको खरिदबिक्रीका अतिरिक्त सुरक्षित र व्यवस्थित आवास निर्माणका विषयमा विज्ञ तथा इन्जिनियरमार्फत जानकारी तथा प्रशिक्षणसमेत दिइएको थियो। प्रदर्शनीमा देखिएको ग्राहकको सहभागिता र स्थलमै भएको बुकिङले कम लागतका आवासीय परियोजनाप्रति बजारमा माग रहेको संकेत गरेको व्यवसायीहरूको भनाइ छ। यद्यपि, जग्गा हदबन्दी, स्वामित्व हस्तान्तरण र वित्तीय व्यवस्थापनजस्ता विषय समाधान नभएसम्म घरजग्गा क्षेत्रको कारोबार पूर्ण रूपमा चलायमान हुन कठिन हुने उनीहरूको धारणा छ। नेपाल न्युज बैंक















प्रतिक्रिया दिनुहोस्