काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन जाने प्रधानमन्त्री नेतृत्वको टोलीलाई भोटेकोशी बाढीबाट उत्पन्न बहुआयामिक समस्या, बदलिँदो राजनीतिक परिस्थिति, समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध तथा विश्वमञ्चमा नेपालको भूमिकाका विषयमा केन्द्रित भएर तयारी गर्न निर्देशन दिएको छ।
रास्वपा सभापति रवि लामिछानेको अध्यक्षतामा आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो नीतिगत निर्देशन दिएको हो। बैठकपछि पार्टी प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायतको टोलीलाई नेपालको भोटेकोशी विपद्सँग जोडिएका विषयसहित बदलिँदो राजनीतिक परिस्थिति, समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वमञ्चमा नेपालको भूमिकाबारे सम्बोधन केन्द्रित गर्न निर्देशन दिइएको जानकारी दिए। ‘संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन जान लाग्नुभएका सम्माननीय प्रधानमन्त्री, परराष्ट्र मन्त्री लगायतको कार्यदललाई नेपालको भोटेकोशी विपद्सँग जोडिएका बहुआयामिक पक्षहरू, बदलिँदो राजनीतिक परिस्थिति, समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वमञ्चमा नेपालको भूमिकाका विषयमा सम्बोधन केन्द्रित गर्ने गरी तयारी गर्न नीतिगत निर्देशन दिइएको छ’ रास्वपा प्रवक्ता खरेलले भने।
प्रधानमन्त्रीको टोली राष्ट्रसंघ महासभामा भाग लिन असोज ६ गते अमेरिका जाने र ९ गते फर्किने कार्यतालिका रहेको छ।
यसैगरी, बैठकले भोटेकोशी बाढीपछिको खोजी, उद्धार, राहत वितरण, पुनर्स्थापना तथा पुनर्निर्माणका कामबारे पनि समीक्षा गरेको छ। सरकारमा सहभागी पार्टीका पदाधिकारी तथा सदस्यहरूले विपद् व्यवस्थापनका क्रममा भएका कामका बहुआयामिक पक्षबारे बैठकलाई जानकारी गराएका थिए।रास्वपाले बाढीमा परी ज्यान गुमाएका तर शव पहिचान हुन नसकेका व्यक्तिको शीघ्र डीएनए परीक्षण गर्न सरकारको ध्यानाकर्षण गराएको छ। त्यस्तै, लामो समयदेखि बेपत्ता रहेका र परिवारले आशा मारिसकेका व्यक्तिको हकमा परिवारको सहमतिमा मृत्यु प्रमाणपत्र उपलब्ध गराउने कानुनी प्रक्रिया छिटो टुङ्ग्याउन पनि माग गरेको छ।
मृत्यु प्रमाणपत्र तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरी पीडित परिवारलाई राहत तथा अन्य सरकारी सुविधा उपलब्ध गराउन सरकारले प्रभावकारी पहल गर्नुपर्ने रास्वपाको निष्कर्ष छ।















प्रतिक्रिया दिनुहोस्