Advertisement
Advertisement
Corporate Samachar
४ आश्विन २०८३, आईतवार
Advertisement

एसियाली राजमार्गअन्तर्गत बिर्तामोडमा ओभरपास निर्माण सुस्त, निर्धारित समयमा काम नसके ठेकेदार कम्पनीलाई कारबाही हुने 

एसियाली राजमार्गअन्तर्गत बिर्तामोडमा ओभरपास निर्माण सुस्त, निर्धारित समयमा काम नसके ठेकेदार कम्पनीलाई कारबाही हुने 
विज्ञापन
Advertisement

झापा । एसियाली राजमार्गअन्तर्गत बिर्तामोडको मुक्तिचोकमा ओभरपास निर्माण सुरु भएसँगै मुख्य सडक क्षेत्र अस्तव्यस्त बनेको छ।

विज्ञापन
Advertisement
Advertisement

निर्माण कार्यले गति लिन नसक्दा तथा पछिल्ला दिनमा परेको वर्षाका कारण सडकमा हिलो र पानी जम्ने समस्या बढेपछि सर्वसाधारणको आवागमन प्रभावित भएको हो । व्यस्त मुक्तिचोक क्षेत्रमा सडक संरचनामा काम सुरु भएपछि पैदलयात्रु, दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनलाई आवतजावतमा कठिनाइ भएको स्थानीयको गुनासो छ। निर्माणस्थलमा पर्याप्त व्यवस्थापन नहुँदा दुर्घटनाको जोखिमसमेत बढेको उनीहरूको भनाइ छ ।

स्थानीयवासी देवेन्द्र प्रसाईले विकास निर्माणका काम आवश्यक भए पनि समयमा सम्पन्न नहुँदा लामो समयदेखि सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको बताए । निर्माणस्थललाई व्यवस्थित गर्दै कामलाई तीव्रता दिनुपर्ने उनको माग छ । त्यस्तै, स्थानीयवासी राजु श्रेष्ठले सडक निर्माणका कारण दैनिक आवतजावतमा समस्या भएको बताए । उनले निर्माण कम्पनी र सम्बन्धित निकायले कामलाई गति दिनुका साथै निर्माणका क्रममा सर्वसाधारणलाई कमभन्दा कम असर पर्ने गरी सडक तथा ट्राफिक व्यवस्थापन गर्नुपर्ने बताए।

सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष देवीप्रसाद संग्रौलाले निर्माण कार्यमा भएको ढिलाइका कारण सवारी व्यवस्थापनमा थप चुनौती सिर्जना भएको बताए । व्यस्त बजार क्षेत्रमा निर्माण भइरहेकाले सडक प्रयोगकर्ताको सुरक्षालाई प्राथमिकतामा राखेर काम छिटो सम्पन्न गर्नुपर्ने उनको भनाइ छ। स्थानीय तथा व्यवसायीहरूले भने आफूहरू निर्माणको विरोधमा नरहेको स्पष्ट पारेका छन् । उनीहरूले विकासका लागि निर्माण आवश्यक भए पनि लामो समयसम्म निर्माणस्थल अस्तव्यस्त रहँदा व्यवसायी, स्थानीयवासी, पैदलयात्रु तथा सवारी चालक प्रभावित भएकाले कामलाई तीव्रता दिनुपर्ने माग गरेका छन् ।

एसियाली राजमार्ग परियोजना पूर्वी खण्डका प्रमुख इन्जिनियर सुनिलबाबु पन्तले स्थानीयवासीबाट गुनासो आएको स्वीकार गर्दै निर्धारित समयभित्र काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निरन्तर दबाब दिइरहेको बताए ।‘स्थानीयवासीको गुनासो आएको छ । समयमा काम सम्पन्न गर्न निर्माण कम्पनीलाई दबाब दिइरहेका छौँ । निर्धारित समयमा काम गर्न नसके ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सन जेभीमाथि आवश्यक कारबाही गर्न हामी पछि पर्दैनौँ,’ उनले भने ।

पन्तका अनुसार निर्माण कार्य निर्धारित समयभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनीलाई आवश्यक निर्देशन दिइएको छ । निर्माणका क्रममा देखिएका समस्या समाधान गर्दै कामको गति बढाउन आयोजना कार्यालयले नियमित अनुगमन तथा समन्वय गरिरहेको उनले बताए । बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईले ओभरपास निर्माणमा भएको ढिलाइका कारण नगरवासीले असहजता व्यहोर्नुपरेको बताइन् । नगरपालिकाले कामलाई छिटो र व्यवस्थित बनाउन सम्बन्धित पक्षसँग पटकपटक ताकेता गर्दै आएको उनले जानकारी दिइन् ।

उनका अनुसार बिर्तामोडको मुख्य बजार क्षेत्र भएकाले निर्माण कार्यले सर्वसाधारण तथा व्यवसायीलाई प्रत्यक्ष असर पारिरहेको छ । नगरपालिकाले आयोजना पक्षसँग समन्वय गर्दै निर्माणस्थलमा आवश्यक व्यवस्थापन गर्न आग्रह गर्दै आएको छ । बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपानेले पनि ओभरपास आवश्यक भए पनि निर्माण सुरु गर्ने समय र कामको गतिका कारण व्यवसायी समस्यामा परेको बताए । उनका अनुसार मुक्तिचोकमा रहेको शहीद स्तम्भसमेत करिब छ महिनाअघि नै हटाएर निर्माण सुरु गर्ने तयारी गरिएको थियो । तर निर्माण प्रक्रिया अघि बढ्न समय लाग्दा व्यवसायीले अपेक्षित रूपमा व्यवसाय सञ्चालन गर्न नसकेको उनले बताए। काँकडभिट्टा–लौकही सडक आयोजनाअन्तर्गत पूर्वी खण्डमा सडक स्तरोन्नतिसँगै विभिन्न स्थानमा ओभरपास निर्माण भइरहेको छ । बिर्तामोडको मुक्तिचोकमा निर्माण हुने ओभरपासले व्यस्त बजार क्षेत्रमा हुने सवारी चाप व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

आयोजना पक्षका अनुसार सडक निर्माणसँगै विद्युतका पोल तथा अन्य संरचना व्यवस्थापन, जग्गा तथा संरचनासम्बन्धी विषय र शहरी क्षेत्रमा निर्माण गर्दा उत्पन्न हुने प्राविधिक तथा व्यवस्थापकीय चुनौतीका कारण काम प्रभावित भएको हो । पछिल्ला दिनमा परेको वर्षाले निर्माणस्थलमा पानी जम्ने र हिलो हुने समस्या थपिएको छ। निर्माणस्थलमा सवारीसाधनको गति तथा आवागमनको बाटो परिवर्तन गर्नुपर्दा व्यस्त समयमा ट्राफिक व्यवस्थापनसमेत चुनौतीपूर्ण बनेको छ । स्थानीयवासीले निर्माणस्थलमा अस्थायी सडक, पर्याप्त ट्राफिक संकेत, पैदलयात्रुका लागि सुरक्षित मार्ग तथा पानी निकासको उचित व्यवस्था गर्न आग्रह गरेका छन् ।

आयोजना प्रमुख पन्तले निर्माणको गति बढाउँदै स्थानीयवासीले उठाएका समस्यालाई समेत सम्बोधन गरिने बताए । निर्माण कम्पनीले निर्धारित समयभित्र काम सम्पन्न गर्न नसके सम्झौताअनुसार आवश्यक प्रक्रिया अघि बढाइने उनले स्पष्ट पारे । पन्तका अनुसार मुक्तिचोकबाट ओभरपास संरचना करिब ३०० मिटर पूर्वदेखि ३९० मिटर पश्चिमसम्म फैलिनेछ । ओभरपासमा २१/२१ मिटरका दुई लेनको सडक रहने र बीचमा करिब एक मिटर खाली स्थान रहने गरी निर्माण भइरहेको उनले बताए ।

निर्माण कार्य छिटो सम्पन्न भए हाल देखिएको सडक तथा ट्राफिक व्यवस्थापनको समस्या कम हुने अपेक्षा गरिएको छ। स्थानीयवासी, व्यवसायी र नगरपालिकाले निर्माणमा अवरोधभन्दा पनि कामको गति बढाएर निर्धारित समयमै आयोजना सम्पन्न गर्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit