काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले रसुवा बाढी तथा विपद्का लागि विदेशी दातृ निकाय र विभिन्न देशबाट प्राप्त राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गोमा अलपत्र अवस्थामा रहेको बताएका छन्। उनले उक्त राहत सामग्री तत्काल सम्बन्धित क्षेत्रका प्रभावित नागरिकसम्म पुर्याउन माग गरे ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद न्यौपानेले आफू विमानस्थलको कार्गो हुँदै आएको र त्यहाँ विपद्का लागि आएका लत्ताकपडालगायतका सामग्री लामो समयदेखि थन्किएको देखेको बताए। उनले जीटुजी प्रक्रियामार्फत आएका सामग्रीसमेत विमानस्थलमै थन्किएको तथा विभिन्न संस्थाले सामग्री बुझ्न खोज्दा भन्सारसम्बन्धी प्रक्रियाका कारण फर्किनुपर्ने अवस्था रहेको जानकारी आफूले पाएको बताए। ‘रसुवा विपद्को सन्दर्भमा विदेशी दातृ निकायहरू र देशहरूले दिएका सामग्रीहरू आज त्रिभुवन विमानस्थलको कार्गोमा अलपत्र अवस्थामा रहेछन्,’ उनले भने, ‘म भर्खरै त्यहाँबाट आउँदै छु। आधा नेपाललाई एक वर्ष पुग्ने सामान थन्किएको जस्तो देखिन्छ। जीटुजीबाट आएको सामग्री पनि थन्काएर राखिएको छ।’
न्यौपानेका अनुसार कार्गोका कर्मचारीले कोरोना महामारीका समयमा पनि विदेशीबाट आएका करिब २० कन्टेनर सामान प्रयोगमा आउन नसकी खेर गएको बताएका थिए। अहिले पनि त्यस्तै अवस्था दोहोरिन सक्ने भन्दै उनले चिन्ता व्यक्त गरे। उनले भने, ‘त्यहाँका कर्मचारीले कोरोनाका बेलामा समेत २० कन्टेनर सामान खेर गएको बताउनुभएको छ। अहिले पनि त्यस्तै अवस्था नआओस् भन्ने मेरो आग्रह हो।’ राहत सामग्री सम्बन्धित क्षेत्रमा पठाउन नसक्नुको कारण प्रभावित क्षेत्रबाट माग नआएको भन्ने जवाफ पाउने गरेको उनले बताए। तर विपद्का बेला आवश्यक पर्ने सामग्री कहाँ र कति आवश्यक छ भन्ने तत्काल पहिचान गरी व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ। ‘ती सामग्रीहरू किन पठाइएको छैन भन्दा सम्बन्धित क्षेत्रबाट माग आएको छैन भन्ने आवाज छ। माग छ कि छैन, सम्बन्धित क्षेत्रका नागरिकहरूलाई बुझियोस्। अहिले आवश्यकता छ भने तत्काल सम्बन्धित क्षेत्रमा पुर्याइयोस्।’
उनले रसुवामा तत्काल आवश्यक नरहेको सामग्री भए पनि भविष्यमा अन्य विपद्का लागि प्रयोग हुने गरी सुरक्षित र व्यवस्थित गर्न सरकारसँग आग्रह गरे। ‘विदेशीहरूले दिएका सामानहरू यत्रतत्र रूपमा एयरपोर्टमा अलपत्र छाड्ने हो भने त्यसले राम्रो गर्दैन। अरू विपद्का बेला पनि ती सामग्री आवश्यक पर्न सक्छन्। एयरपोर्टमा सामान थन्किएर नागरिकहरू पीडित भएका ठाउँमा मलमपट्टी गर्ने सामान नभएको अवस्था आउनु हुँदैन,’ सांसद न्यौपानेले भने ।
सांसद न्यौपानेले विमानस्थलमा रहेका राहत सामग्रीको तत्काल विवरण संकलन गरी ती सामग्री रसुवालगायत प्रभावित क्षेत्रमा आवश्यक भए–नभएको पहिचान गर्न र आवश्यकताअनुसार वितरण तथा व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।















प्रतिक्रिया दिनुहोस्