विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभरका अन्य स्थानको तुलनामा कोशी प्रदेशको राजनीतिक माहोल थप तातिएको छ। २८ वटा निर्वाचन क्षेत्र रहेको प्रदेशमा ५०५ जनाले मंगलबार उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख चोलाराज दंगालका अनुसार अन्तिम नामावली प्रकाशनपछि उम्मेदवारको संख्या घटबढ हुन सक्ने भए पनि प्रारम्भिक तथ्यांकअनुसार यति नै उम्मेदवारी दर्ता भएको हो । विशेष गरी सहरी र राजनीतिक रूपमा संवेदनशील क्षेत्रहरूमा उम्मेदवारको चाप बढी देखिएको छ। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा मात्रै ३४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
सुनसरीका चारै निर्वाचन क्षेत्रमा गरी कुल ११० जना उम्मेदवार मैदानमा छन् । सुनसरी क्षेत्र नम्बर १ मा धरान उपमहानगरपालिकाका पूर्वमेयर हर्कराज राईसहित प्रतिस्पर्धा हुँदैछ। सुनसरी–४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका जगदीश कुसियतमाझ मुख्य टक्कर हुने देखिएको छ। यसअघि सो क्षेत्रमा कार्की विजयी भएका थिए।

मोरङ र झापा राजनीतिक केन्द्रमा, झापा बन्यो ‘इपिसेन्टर’
प्रदेश राजधानी विराटनगर समेटिएको मोरङका ६ निर्वाचन क्षेत्रबाट ११८ जनाले उम्मेदवारी दिएका छन् । मोरङमा नेपाली कांग्रेसका प्रभावशाली नेताहरू डा. शेखर कोइराला, महामन्त्री गुरुराज घिमिरे र डा.सुनिल शर्मासहित प्रतिस्पर्धामा छन् । उता झापाका–५ निर्वाचन क्षेत्रमा ९० जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये क्षेत्र नम्बर–५ सबैभन्दा बढी चर्चामा छ। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गढमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को उम्मेदवारीले यो क्षेत्र राष्ट्रिय राजनीतिमै बहसको केन्द्र बनेको छ ।
दुवै दलले आफ्ना उम्मेदवारलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेका छन् । झापाबाटै ३४ बर्षयता (२०४८ सालदेखि) निर्वाचन लड्दै आएका ओली २०६४ सालमा बाहेक सँधै विजयी हुँदै आएका छन्। यसअघि झापा पूर्व प्रधानमन्त्री ओलीको किल्ला नै थियो । उनी एक पटक मात्र पराजित भएका छन् भने उनै ओलीको किल्लामा रास्वपाले भावी प्रधानमन्त्रीको उमेद्वार तोकेको बालेनलाई मैदानमा उतारेको छ । पूराना राजनीतिक संस्कार विरुद्ध परिवर्तनको नारा बोकेर स्वतन्त्र रुपमा राजनीतिमा उदाएका बालेन पछिल्लो समय रास्वपाबाट दलगत राजनीतिमा अघि बढेका छन् । काठमाडौं महानगरपालिकाको मेयर बनेपछि नै एमाले अध्यक्ष ओलीप्रति व्यक्तिगत रुपमा चिढिएका बालेन निर्वाचनमार्फत उनै ओलीलाई पराजित गरेर दलीय राजनीतिमा आउने महत्वकांक्षा सहित चुनावी मैदानमा उत्रिएका छन् । यता ३४वर्ष देखि झापावासीको मत जित्दै राष्ट्रिय राजनीतिमा पटक–पटक सत्ता र शक्तिको केन्द्रमा पुगेका ओली पुनः प्रधानमन्त्री बन्ने रेसमा छन्। झापा–५ मा यी ‘हेवी वेट’का दुई मध्ये एकजनाको हार निश्चित छ। यही कारण झापा–५ लाई यसपटकको निर्वाचनको ‘इपिसेन्टर’का रूपमा हेरिएको छ।
झापाकै क्षेत्र नम्बर २ मा पूर्वसभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगर मैदानमा छन् भने क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उम्मेदवार छन् ।
पहाड र हिमालमा पनि चुनावी चासो
प्रदेश निर्वाचन कार्यालयका अनुसार उदयपुरका दुई निर्वाचन क्षेत्रमा कुल ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
कोशी प्रदेशका पहाडी तथा हिमाली जिल्लामा पनि प्रतिस्पर्धा कमजोर देखिएको छैन । उपलब्ध तथ्यांकअनुसार ताप्लेजुङमा १३, पाँचथरमा १५, इलामका दुई निर्वाचन क्षेत्रमा २७, संखुवासभामा १६, तेह्रथुममा १२, भोजपुरमा १२, धनकुटामा १८, सोलुखुम्बुमा १२, खोटाङमा १५ र ओखलढुंगामा १६ जनाले उम्मेदवारी दिएका छन् ।
प्रदेश सभाबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा
यसैबीच झापा निर्वाचन क्षेत्र नम्बर ४ ९२० बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभा सदस्य भक्ति प्रसाद सिटौलाले आफ्नो पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गराएका छन् । उनले राप्रपाकै तर्फबाट झापा–४ मा उम्मेदवारी दिएका हुन् ।
कोशी प्रदेश सभा सचिवालयका अनुसार सिटौलाले सभामुखसमक्ष राजीनामा पेश गरी सनाखत गराइसकेका छन् । राजीनामा स्वीकृत भएसँगै सो क्षेत्रको प्रदेश सभा सदस्य पद रिक्त भएको छ।
उम्मेदवारी दर्ता प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ । अब उजुरी, छानबिन र अन्तिम नामावली प्रकाशनपछि औपचारिक चुनावी प्रचारले तीव्रता पाउने अपेक्षा गरिएको छ ।
















प्रतिक्रिया दिनुहोस्