Advertisement
Advertisement
Corporate Samachar
९ कार्तिक २०८३, आईतवार
Advertisement
Advertisement

आईपीओपछि विकास हाइड्रोपावरको वित्तीय अवस्थामा सुधार, ऋण ५२ प्रतिशत घट्यो

आईपीओपछि विकास हाइड्रोपावरको वित्तीय अवस्थामा सुधार, ऋण ५२ प्रतिशत घट्यो
विज्ञापन
Advertisement

काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेड (बीएचसीएल) को आईपीओपछि वित्तीय तथा तरलता अवस्थामा सुधार आएको छ। जुलाई २०२६ को मध्यसम्म कम्पनीको गियरिङ स्तर ०.१६ गुणा रहेको छ भने, आईपीओबाट प्राप्त रकमबाट कम्पनीले आफ्नो टर्म लोनको करिब ५२ प्रतिशत अग्रिम भुक्तानी गरेपछि ऋणको स्तरमा उल्लेख्य कमी आएको देखिएको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले गराएको इक्रा नेपाल लिमिटेडको रेटिङमा यस्तो देखिएको हो। इक्रा नेपालले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार कम्पनीको इश्युअर रेटिङ ‘आईसीआरएएनपी–आईआर’ बीबीबी– पुनः कायम गरिएको छ। यो रेटिङले कम्पनीमा वित्तीय दायित्व समयमै भुक्तानी गर्ने क्षमताका दृष्टिले मध्यम स्तरको सुरक्षा रहेको जनाउँछ। यससँगै इक्रा नेपालले कम्पनीको दीर्घकालीन कर्जा रेटिङ एलबीबीबी– र अल्पकालीन कर्जा रेटिङ ए३ कम्पनीकै अनुरोधमा फिर्ता गरेको छ। यसअघि कम्पनीको दीर्घकालीन टर्म लोनतर्फ ६५ करोड १७ लाख र अल्पकालीन कर्जातर्फ ३ करोड रुपैयाँ बराबरको कर्जा सीमा रेटिङ गरिएको थियो।

ऋण घटेपछि ऋण सेवा क्षमता बलियो

आईपीओपछि कम्पनीको ऋण दायित्व घटेसँगै ऋण सेवा गर्ने क्षमता उल्लेख्य रूपमा सुधार भएको इक्राको निष्कर्ष छ। आर्थिक वर्ष २०२६ मा कम्पनीको ऋण सेवा कभरेज अनुपात ५.७० गुणा पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यो अनुपात २.०५ गुणा थियो।त्यस्तै, कम्पनीको ब्याज भुक्तानी क्षमता पनि बलियो बनेको छ। आर्थिक वर्ष २०२५ मा ब्याज कभरेज अनुपात २.४७ गुणा रहेकोमा आर्थिक वर्ष २०२६ मा बढेर ७.१२ गुणा पुगेको छ। कम्पनीको कुल ऋण तथा मूर्त खुद सम्पत्तिको अनुपात पनि लगातार घटेको देखिन्छ। आर्थिक वर्ष २०२३ मा १.५३ गुणा रहेको यस्तो अनुपात आर्थिक वर्ष २०२४ मा १.४४ गुणा, आर्थिक वर्ष २०२५ मा ०.५३ गुणा हुँदै आर्थिक वर्ष २०२६ मा ०.१६ गुणामा झरेको छ। कम्पनीको कुल ऋण तथा सञ्चालन आम्दानीको अनुपातसमेत सुधार भएको छ। आर्थिक वर्ष २०२३ मा ६.५१ गुणा रहेको यस्तो अनुपात आर्थिक वर्ष २०२४ मा ६.०२ गुणा, आर्थिक वर्ष २०२५ मा ३.९० गुणा हुँदै आर्थिक वर्ष २०२६ मा १.०६ गुणामा झरेको छ।

आम्दानी र नाफामा पनि सुधार

कम्पनीको सञ्चालन आम्दानीमा समेत क्रमिक सुधार देखिएको छ। आर्थिक वर्ष २०२३ मा ४ करोड ७० लाख रहेको सञ्चालन आम्दानी आर्थिक वर्ष २०२४ मा बढेर १३ करोड ३० लाख, आर्थिक वर्ष २०२५ मा १५ करोड ३० लाख र आर्थिक वर्ष २०२६ मा १९ करोड १० लाख पुगेको छ।कम्पनीको सञ्चालन आम्दानीमा सञ्चालनपूर्व ब्याज, कर, ह्रासकट्टी तथा परिशोधनअघिको आम्दानीको हिस्सा आर्थिक वर्ष २०२६ मा ८१ प्रतिशत रहेको छ। करपछिको नाफामा भने अझ उल्लेख्य सुधार देखिएको छ। आर्थिक वर्ष २०२३ मा सञ्चालन आम्दानीको तुलनामा ७ प्रतिशत नोक्सानीमा रहेको कम्पनी आर्थिक वर्ष २०२४ मा ५ प्रतिशत नाफामा पुगेको थियो। आर्थिक वर्ष २०२५ मा यस्तो अनुपात २६ प्रतिशत पुगेकोमा आर्थिक वर्ष २०२६ मा ५१ प्रतिशत पुगेको छ। कम्पनीको पुँजीमा प्रतिफलसमेत आर्थिक वर्ष २०२५ को ७ प्रतिशतबाट आर्थिक वर्ष २०२६ मा ९ प्रतिशत पुगेको छ।

उत्पादनमा सुधार, सम्झौता ऊर्जाको करिब शतप्रतिशत उत्पादन

इक्राका अनुसार कम्पनीको सञ्चालनमा रहेको ४.५५ मेगावाटको अपर माछा खोला साना जलविद्युत् आयोजनाको विद्युत् उत्पादनमा सुधार आएको छ। आर्थिक वर्ष २०२६ मा आयोजनाले करिब १०० प्रतिशत सम्झौता गरिएको ऊर्जाको बराबर विद्युत् उत्पादन गरेको छ। आर्थिक वर्ष २०२५ मा यस्तो उत्पादन करिब ८२ प्रतिशत थियो। विद्युत् निकासी संरचनामा सुधार र अनुकूल जलविज्ञानका कारण आयोजनाको उत्पादनमा सुधार आएको इक्राले जनाएको छ। आयोजनाको वार्षिक बिक्रीयोग्य ऊर्जा करिब ३१.१५७ गिगावाट घण्टा रहेको छ।आयोजनाको कुल वार्षिक ऊर्जामा सुख्खायामको ऊर्जाको हिस्सा करिब ३९ प्रतिशत रहने भए पनि आर्थिक वर्ष २०२६ मा यो बढेर करिब ४२ प्रतिशत पुगेको छ। सुख्खायामको विद्युत्ले तुलनात्मक रूपमा उच्च दर पाउने भएकाले यसले कम्पनीको वित्तीय अवस्थालाई सहयोग गरेको इक्राको भनाइ छ।

३० वर्षको विद्युत् खरिद सम्झौता

कम्पनीको वित्तीय अवस्थालाई सहयोग गर्ने अर्को प्रमुख पक्ष नेपाल विद्युत् प्राधिकरणसँग भएको दीर्घकालीन विद्युत् खरिद सम्झौता हो।अपर माछा खोला आयोजनाले आफ्नो सम्पूर्ण ४.५५ मेगावाट क्षमताका लागि नेपाल विद्युत् प्राधिकरणसँग ३० वर्षको विद्युत् खरिद सम्झौता गरेको छ। सम्झौता ‘टेक अर पे’ प्रणालीमा आधारित छ। सम्झौताअनुसार वर्षायाममा प्रतियुनिट ४.८० र सुख्खायाममा प्रतियुनिट ८.४० रुपैयाँ विद्युत् दर कायम गरिएको छ। आधारभूत दरमा वार्षिक ३ प्रतिशतका दरले आठ पटकसम्म वृद्धि हुने व्यवस्था छ। यसका कारण आयोजनाको विद्युत् बिक्री तथा खरिदसम्बन्धी जोखिम तुलनात्मक रूपमा कम रहेको इक्राले जनाएको छ।

एउटै आयोजनामा निर्भरता मुख्य चुनौती

वित्तीय अवस्थामा सुधार आए पनि कम्पनीका केही चुनौती भने कायमै रहेको इक्राले औँल्याएको छ। कम्पनीको हाल सञ्चालनमा रहेको ४.५५ मेगावाटको एउटै आयोजना मात्रै भएकाले आम्दानीका लागि एउटै आयोजनामा उच्च निर्भरता रहेको छ। आयोजनामा प्राकृतिक विपत्ति, प्राविधिक समस्या वा अन्य कारणले उत्पादन अवरुद्ध भएमा कम्पनीको आम्दानी तथा तरलता अवस्थामा असर पर्न सक्ने जोखिम छ। यस्तै, आयोजनाको उत्पादन नदीको जलप्रवाहमा निर्भर भएकाले जलवायु तथा मनसुनमा हुने परिवर्तनबाट उत्पादन प्रभावित हुन सक्ने जोखिम पनि रहेको छ।

वर्षायाममा १० प्रतिशतसम्म उत्पादन घटाउन सकिने

आयोजनाको विद्युत् खरिद जोखिम कम भए पनि पीपीएमा रहेको १० प्रतिशत रिजर्भ मार्जिन कम्पनीका लागि चुनौतीका रूपमा रहेको छ। पीपीएअनुसार वर्षायामका पाँच महिनामा नेपाल विद्युत् प्राधिकरणले ग्रिडको भार व्यवस्थापनका लागि सम्झौता गरिएको ऊर्जाको १० प्रतिशतसम्म उत्पादन घटाउन निर्देशन दिन सक्ने व्यवस्था छ। यस्तो अवस्थामा कम्पनीको विद्युत् बिक्री आम्दानीमा केही असर पर्न सक्छ। त्यस्तै, सुख्खायामको ऊर्जा वार्षिक कुल ऊर्जाको ३० प्रतिशतभन्दा कम भएमा कमजोर उत्पादनका कारण वार्षिक विद्युत् बिक्री आम्दानी घट्न सक्ने जोखिमसमेत इक्राले औँल्याएको छ।

प्रतिमेगावाट लागत उच्च

इक्राले कम्पनीको अर्को दीर्घकालीन चुनौती आयोजनाको लागतलाई मानेको छ। अपर माछा खोला आयोजनाको लागत करिब २४ करोड ६० लाख रहेको छ। विद्युत् बिक्री दर पूर्वनिर्धारित हुने भएकाले आयोजनाको उच्च निर्माण लागत दीर्घकालीन रूपमा कम्पनीका लागि चिन्ताको विषय हुन सक्ने इक्राको निष्कर्ष छ। आयोजना निर्माणको कुल लागत करिब १ अर्ब ११ करोड ८० लाख रुपैयाँ पुगेको थियो। प्रारम्भिक अनुमानको तुलनामा आयोजनाको लागत करिब ३७ प्रतिशत बढेको थियो।

बुढीगण्डकी आयोजनामा लगानी

कम्पनीले एउटै आयोजनामा रहेको निर्भरता घटाउने दिशामा भने कदम अघि बढाएको छ। बीएचसीएलले हालै बुढीगण्डकी हाइड्रोपावर प्राइभेट लिमिटेडमा १० करोड रुपैयाँ लगानी गरेको छ। बुढीगण्डकी हाइड्रोपावरले ४.६ मेगावाटको सुपर माछा खोला जलविद्युत् आयोजना विकास गरिरहेको छ। उक्त आयोजना अपेक्षित समय र लागतमा सम्पन्न भएर पर्याप्त आम्दानी गर्न सकेमा यसले दीर्घकालमा कम्पनीको आम्दानी एकाग्रता जोखिम घटाउन सहयोग पुग्ने इक्राको विश्लेषण छ।

तरलतामा अवस्थामा सुधार

कम्पनीको तरलता अवस्था पनि सुधारिएको देखिएको छ। आर्थिक वर्ष २०२३ मा ०.४८ गुणा रहेको चालु अनुपात आर्थिक वर्ष २०२४ मा १.६४ गुणा, आर्थिक वर्ष २०२५ मा १०.८५ गुणा र आर्थिक वर्ष २०२६ मा २.९६ गुणा रहेको छ। खुद कार्यशील पुँजी तथा सञ्चालन आम्दानीको अनुपात आर्थिक वर्ष २०२६ मा १६ प्रतिशत रहेको छ। आर्थिक वर्ष २०२५ मा यो अनुपात २०७ प्रतिशत पुगेको थियो, जसको मुख्य कारण वित्तीय विवरणमा आईपीओबाट प्राप्त हुन बाँकी रकमलाई चालु सम्पत्तिअन्तर्गत देखाइनु रहेको इक्राले जनाएको छ।

उत्पादन र ऋण व्यवस्थापन रेटिङका लागि महत्वपूर्ण

समग्रमा, आईपीओपछि ऋण दायित्वमा आएको कमी, ऋण सेवा क्षमता तथा ब्याज भुक्तानी क्षमतामा भएको सुधार, सञ्चालन आम्दानी तथा नाफामा देखिएको वृद्धि र आयोजनाको विद्युत् उत्पादनमा आएको सुधारले कम्पनीको वित्तीय प्रोफाइल बलियो बनाएको इक्राको विश्लेषण छ। तर कम्पनीको भविष्यको रेटिङका लागि अपर माछा खोला आयोजनाको जलविज्ञान अवस्था, हाल देखिएको उत्पादन वृद्धिलाई निरन्तरता दिन सक्ने क्षमता, एउटै आयोजनामा रहेको निर्भरता, प्राकृतिक तथा भौगोलिक जोखिम र नयाँ आयोजनाको समय तथा लागत व्यवस्थापन महत्वपूर्ण रहने देखिएको छ।

इक्रा नेपालले कम्पनीको इश्युअर रेटिङ ‘आईसीआरएएनपी–आईआर’ बीबीबी– मा पुनः कायम गरेको हो। कम्पनीको इश्युअर रेटिङलाई इक्राले वित्तीय दायित्व समयमै भुक्तानी गर्ने क्षमताका दृष्टिले मध्यम स्तरको सुरक्षा भएको श्रेणीमा राखेको छ । कम्पनीले गोरखा जिल्लामा ४.५५ मेगावाट क्षमताको अपर माछा खोला साना जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit