Advertisement
Advertisement
Corporate Samachar
८ कार्तिक २०८३, शनिबार
Advertisement
Advertisement

एनपीएलदेखि पर्यटनसम्ममा मौसमको असर पर्ने सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

एनपीएलदेखि पर्यटनसम्ममा मौसमको असर पर्ने सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह
विज्ञापन
Advertisement

काठमाडौं। बंगालको खाडीमा विकसित हुँदै गरेको न्यूनचापीय प्रणालीको प्रभाव आगामी कात्तिक ११ गतेदेखि १५ गतेसम्म नेपालमा पर्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

उक्त प्रणालीका कारण देशका विभिन्न भूभागमा मौसम बदली हुनुका साथै वर्षा हुन सक्ने र यसको प्रभाव नेपाल प्रिमियर लिग (एनपीएल) लगायतका खेलकुद प्रतियोगितामा समेत पर्न सक्ने मौसमविद्ले बताएका छन् ।

विभागका मौसमविद् रोजराज लामिछानेका अनुसार आगामी मंगलबार (कात्तिक १० गते) सम्म हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ । विशेषगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का वर्षा हुन सक्ने भए पनि पहाडी तथा तराईका अन्य भूभागमा उल्लेख्य वर्षाको सम्भावना नरहेको उनले बताएका छन् । ‘विशेषगरी आउने मंगलबारसम्म नेपालको हिमाली र पहाडी जिल्लाहरूमा आंशिक बादल लाग्ने देखिन्छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली जिल्लाका कतै–कतै हल्का वर्षाको सम्भावना रहेको छ भने अन्य पहाडी र तराईका भूभागमा खासै वर्षाको सम्भावना देखिँदैन,’ मौसमविद् लामिछानेले भने ।

तर, बुधबार (कात्तिक ११ गते) देखि मौसममा परिवर्तन आउने सम्भावना छ। बंगालको खाडीमा विकसित हुँदै गरेको न्यूनचापीय प्रणाली क्रमशः नेपालतर्फ आउने र त्यसको प्रभाव देशका विभिन्न भूभागमा पर्ने देखिएको उनले बताए । ‘आउने बुधबारदेखि कात्तिक १५ गतेसम्म बंगालको खाडीमा बन्दै गरेको न्यूनचापीय प्रणाली क्रमशः नेपालतर्फ आउने र त्यसको प्रभाव नेपालमा पर्ने देखिन्छ । यसको प्रभाव, वर्षाको मात्रा र सम्भावित असरबारे भने अहिले नै यकिन गर्न सक्ने अवस्था छैन । तथापि, देशैभरि यसको प्रभाव पर्न सक्ने सम्भावना देखिन्छ,’ उनले भने ।

एनपीएलका खेल वर्षाले प्रभावित हुन सक्ने
आगामी दिनमा मौसममा हुन सक्ने परिवर्तनले कृषि तथा पर्यटन क्षेत्रसँगै खेलकुद गतिविधिमा पनि असर पार्न सक्ने विभागको आकलन छ। विशेषगरी दुई दिनपछि सञ्चालन हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) का केही खेलमा मौसमले पार्न सक्ने प्रभावलाई ध्यानमा राख्नुपर्ने देखिएको छ । मौसमविद् लामिछानेले न्यूनचापीय प्रणालीको प्रभावका कारण एनपीएलसमेत प्रभावित हुन सक्ने सम्भावना रहेको स्पष्ट पारेका छन् । ‘यो प्रणालीले नेपालको कृषि र पर्यटन क्षेत्रमा बढी असर गर्ने देखिन्छ । यससँगसँगै नेपालमा हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) लाई पनि यसले प्रभाव पार्न सक्ने सम्भावना रहेको छ,’ उनले भने । यद्यपि, एनपीएलका खेल कुन मिति वा स्थानमा बढी प्रभावित हुन सक्छन् भन्ने विषयमा अहिले नै निष्कर्ष निकाल्न सकिने अवस्था छैन। मौसम प्रणालीको वास्तविक अवस्था, वर्षाको मात्रा र त्यसको क्षेत्रगत प्रभाव स्पष्ट भएपछि मात्रै खेलकुद गतिविधिमा पर्न सक्ने असरबारे थप आकलन गर्न सकिने विभागले उल्लेख गरेको छ । वर्षा भएमा खेल सञ्चालन, खेलाडीको तयारी, मैदानको अवस्था तथा दर्शकको आवागमनमा असर पर्न सक्ने देखिन्छ ।

किसानलाई केही दिन धान नकाट्न आग्रह

मौसममा हुन सक्ने परिवर्तनलाई ध्यानमा राख्दै विभागले किसानलाई धान काट्ने तथा बाली भित्र्याउने काम सम्भव भएसम्म कात्तिक ७ गतेभित्रै सम्पन्न गर्न आग्रह गरेको छ। धान भित्र्याउने मुख्य समय भएकाले आगामी दिनमा मौसम प्रतिकूल हुन सक्ने सम्भावनालाई बेवास्ता नगर्न किसानलाई सचेत गराइएको हो। ‘यदि कृषि कार्यअन्तर्गत धान काट्ने र बाली भित्र्याउने काम गर्दै हुनुहुन्छ भने आउने मंगलबारसम्म बाली भित्र्याइसक्ने गरी काम गर्नुहोला,’ मौसमविद् लामिछानेले भनेका छन्। उनका अनुसार कात्तिक ११ देखि १५ गतेसम्म न्यूनचापीय प्रणालीको प्रभाव धेरै स्थानमा पर्न सक्ने भएकाले त्यस अवधिमा कृषि कार्यको योजना बनाउँदा मौसमको अवस्थालाई विशेष ध्यान दिनुपर्नेछ। वर्षाको मात्रा अहिले नै निश्चित नभएकाले सम्भावित जोखिमलाई ध्यानमा राखेर समयमै बाली भित्र्याउनु उपयुक्त हुने विभागको सुझाव छ ।

भ्रमणको योजना बनाउँदा मौसम बुझ्न आग्रह

न्यूनचापीय प्रणालीको सम्भावित प्रभावलाई ध्यानमा राख्दै विभागले कात्तिक ११ देखि १५ गतेसम्म भ्रमण, पर्यटन गतिविधि तथा अन्य बाह्य कार्यक्रम सञ्चालन गर्ने योजना बनाएका नागरिकलाई मौसमको अवस्था बुझेर मात्रै अघि बढ्न आग्रह गरेको छ। ‘कतै घुम्न जाँदै हुनुहुन्छ र त्यो समय कात्तिक ११ देखि १५ गतेसम्म पर्छ भने मौसमबारे बुझेर मात्रै योजना बनाउनुहोला । त्यसैगरी, कृषि कार्य गर्दै हुनुहुन्छ भने मंगलबारसम्म बाली भित्र्याइसक्ने गरी काम गर्नुहोला,’ लामिछानेले भने।

उनले कात्तिक ११ गतेपछि गरिने काम तथा कार्यक्रमको योजना बनाउँदा मौसमी अवस्थालाई प्राथमिकतामा राख्न सुझाव दिएका छन्। विशेषगरी वर्षाको सम्भावना र त्यसको प्रभावबारे थप जानकारी प्राप्त नभएसम्म जोखिमयुक्त क्षेत्रमा भ्रमण तथा बाह्य गतिविधि सञ्चालन गर्दा सावधानी अपनाउनुपर्ने देखिन्छ । विभागका अनुसार हाल देशभर उल्लेख्य वर्षा नभए पनि आगामी दिनमा मौसम प्रणाली परिवर्तन हुन सक्ने भएकाले अहिलेको मौसम अवस्थालाई आधार मानेर मात्रै लामो अवधिको योजना बनाउनु उपयुक्त हुँदैन। विशेषगरी कृषि, पर्यटन र खेलकुद क्षेत्रसँग सम्बन्धित निकाय तथा सर्वसाधारणले मौसमको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्रै आवश्यक निर्णय गर्नुपर्ने मौसमविद्को सुझाव छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit