
काठमाडौँ । सानिमा क्यापिटलले फागुन ६ गतेदेखि सानिमा फ्लेक्सी फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।
फण्डको कुल आकार १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई रहेको छ। जसमध्ये ४० प्रतिशत अर्थात् ४० करोड रुपैयाँ बराबरको ४ करोड इकाई क्यापिटलले पहिलो चरणमा खुला गर्ने भएको छ । सो ४ करोड इकाईमध्ये १ करोड ३० लाख इकाई कोष प्रबर्द्धक सानिमा बैंकलाई र २० लाख इकाई सानिमा क्यापिटलले पाउने छन् । लगानीकर्ताहरुले बाँकी २ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।
सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सानिमा फ्लेक्सी फण्ड खुलामुखी योजना हो । लगानीकर्ताहरूले कम्पनीको फण्डमा न्यूनतम १ सयदेखि ४० लाख इकाईसम्म आवेदन दिन पाउँछन् । फण्डको इकाईमा फागुन ११ गतेसम्म आवेदन दिन सकिने कम्पनीले उल्लेख गरेको छ। यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा फागुन २० गतेसम्म आवेदन खुला रहनेछ । फण्ड निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् लगानीकर्ताहरुले फण्डको इकाईमा आवेदन दिन सक्नेछन् ।
म्युचुअल फण्ड निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले कोष प्रबर्द्धकलाई इक्राएनपि इस्यूअर रेटिङ्ग ए माइनस एटडरेट प्रदान गरेको छ । यसैगरी कम्पनीको योजना व्यवस्थापकलाई इक्रएनपि एएमसि क्वालिटि ३ प्लस रेटिङ्ग प्रदान गरेको छ । जसले योजना व्यवस्थापकको व्यवस्थापन गुणस्तरमा पर्याप्त विश्वास रहेको संकेत गर्दछ ।
प्रतिक्रिया दिनुहोस्