
काठमाडौँ । अर्थ मन्त्रालयले चालु वर्षको बजेटको समिक्षा सुरु गरेको छ । चालु वर्षको ६ महिनाको तथ्यांकलाई आधार बनाएर मन्त्रालयले समिक्षा सुरु गरेसँगै समिक्षा अवधिमा चालु वर्षको खर्च र राजस्वको लक्ष्य पुरा नहुने निष्कर्षतिर अर्थ मन्त्रालयले पुगिसकेको छ ।
मन्त्रालय स्रोतका अनुसार यही माघ अन्तिम सातासम्म बजेट समिक्षा गर्ने तयारीमा मन्त्रालय जुटेको छ । चालु वर्षमा सरकारले लिएको बजेट खर्च र राजस्व अनुमानको कुनै पनि लक्ष्य पुरा नहुनेमा मन्त्रालय विस्वस्थ जस्तै देखिन्छ । चालु वर्षमा सरकारको १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख बजेट खर्च गर्ने लक्ष्य रहेको छ । तर, सरकारले चालु वर्षको ६ महिना १९ दिन सकिदा ७ खर्ब ८ अर्ब ६९ करोड ९७ लाख खर्च गरेको छ । यो कुल खर्च लक्ष्यको ३८.१ प्रतिशत मात्रै हुन आउछ ।
चालु शिर्षक तर्फ ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख खर्च गर्ने लक्ष्य राखेकामा ४ खर्ब ८६ अर्ब ७५ करोड ५६ लाख खर्च गरेको छ । पुँजिगततर्फ पनि चालु वर्षमा ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख खर्च गर्ने लक्ष्य सरकारको छ । हालसम्म पूँजिगत खर्च ६३ अर्ब ६ करोड ५४ लाख रुपैयाँ मात्र खर्च भएको छ । ३ खर्ब ६७ अर्ब २८ करोड ४५ लाख वित्तीय व्यवस्थातर्फ खर्च गर्ने लक्ष्य राखेको सरकारले १ खर्ब ५८ अर्ब ८७ करोड ८७ लाख खर्च गरेको आँकडा छ । यो शिर्षकमा ४३.२६ प्रतिशत प्रगति देखिन्छ । यसैगरी, चालु आवमा १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको सरकारको हालसम्म ५ खर्ब ९७ अर्ब ३५ करोड ७० लाख रुपैयाँ मात्र राजस्व संकलन भएको छ । सरकारले ४२.०९ प्रतिशत लक्ष्य पूरा गरेको देखिन्छ ।
राजस्व संकलन गर्ने मुख्य निकाय भन्सार विभाग र आन्तरिम राजस्व विभाग लक्ष्यको तुलनामा निकै पछि परिसकेको भन्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले जसरी पनि राजस्व संकलनमा लक्ष्य पूरा गर्नुपर्ने बताउँदै आएका छन् । तर, मन्त्रालयको टीम नै कुनै पनि हालतमा लक्ष्य पुरा गर्न नसकिने निष्कर्षतिर पुगिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्