काठमाडौं । ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाको आजको बैठकबाट बहुमतले स्वीकृत भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव संसद्मा प्रस्तुत गरेका थिए ।
प्रस्ताव प्रस्तुत गर्दै मन्त्री गुरुङले सुशासन प्रवर्द्धन गर्ने र सार्वजनिक सेवालाई प्रभावकारी बनाउने उद्देश्यले सरकारले संशोधनसहितको अध्यादेश ल्याएको उल्लेख गरे । अध्यादेश अस्वीकार गर्ने सूचना प्रस्तुत गर्ने क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले सुशासन प्रवर्द्धन गर्दै सार्वजनिक सेवालाई प्रभावकारी बनाउन अध्यादेश अपरिहार्य भएको बताए ।
मन्त्री गुरुङले सुशासन प्रवर्द्धन कायम गरी देशलाई आर्थिक विकासको गतिमा लैजानुपर्ने अत्यावश्यक भएकाले अध्यादेश ल्याउनुपरेको स्पष्ट पारे । गैरआवासीय नेपालीलाई नेपाल आगमन सहज बनाउन र लगानी भित्र्याउन, विदेशमा सिकेको ज्ञान र पुँजीलाई भित्र्याउन ऐन संशोधनको प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ ।















प्रतिक्रिया दिनुहोस्