काठमाडौं । नेपालको धान–चामल उद्योगमा अहिले उत्पादनभन्दा पनि उधारो कारोबार ठूलो चुनौती बनेको उद्योगीले बताएका छन्।
पूर्वी नेपालको मोरङस्थित आरजु राइस मिलका सञ्चालक वीरेन्द्र बहादुर बस्नेतले उद्योगको करिब ३ करोड रुपैयाँ बजारमा फसेको भन्दै समय व्यापार विस्तारमा होइन, उधारो रकम असुलीमै खर्च गर्नुपरेको बताएका छन्। आरजु राइस मिलका सञ्चालक बस्नेतका अनुसार काठमाडौं, पोखरा लगायतका विभिन्न सहरका होलसेलर तथा रिटेलरबाट उठ्न बाँकी रकमका कारण उद्योग कानुनी र प्रशासनिक प्रक्रियामा जान बाध्य भएको छ।
उनले उपभोक्ताले चामल खरिद गर्दा नगदमा भुक्तानी गरे पनि बीचका व्यापारीले रकम रोकेर राख्दा उद्योगीको पूँजी नै थुनिने अवस्था सिर्जना भएको बताए। ‘हामी अहिले राइस मिलका रूपमा सबैभन्दा ठूलो चुनौती उधारो रकम उठाउने विषयमा भोगिरहेका छौं। करिब ३ करोड रुपैयाँ बजारमा अड्किएको छ। बुद्ध एयरमा वर्षमा १५ अर्ब रुपैयाँको कारोबार गर्छु । उद्योगले ३ करोड रुपैयाँ उठाउन घरदैलो गर्नुपर्ने अवस्था आएको छ, बस्नेतले भने।
उनका अनुसार नयाँ सरकार गठनपछि केही सहजीकरणको अनुभव भए पनि उधारो असुलीलाई प्रभावकारी बनाउन अझै स्पष्ट संयन्त्र आवश्यक छ। बस्नेतले पैसा नतिर्ने व्यापारीलाई प्रहरी प्रशासनमार्फत बोलाएर तत्काल भुक्तानी गराउने वा आवश्यक परे छिटो कानुनी कारबाहीमा लैजाने व्यवस्था भए उद्योगीलाई ठूलो राहत पुग्ने धारणा राखे । ‘उपभोक्ताले त पैसा तिरेरै चामल किन्छन्। तर त्यो पैसा बीचका व्यापारीको तहमा कहाँ हराउँछ भन्ने समस्या छ। यही कारण उद्योगीले उत्पादन र बजार विस्तारभन्दा बढी समय उधारो रकम उठाउन खर्च गर्नुपरेको छ,’ उनले भने।
उनले अहिलेको ३ करोड रुपैयाँको समस्या समयमै समाधान गर्न नसकिए भविष्यमा यही समस्या ३० करोड, ३ अर्ब वा अझ ठूलो आकार लिन सक्ने धारणा राख्दै यसलाई एउटा उद्योगको मात्र नभई समग्र व्यापारिक प्रणालीको समस्याका रूपमा हेर्नुपर्ने बताए ।
बस्नेतले आगामी दिनमा उधारो कारोबारलाई व्यवस्थित बनाउन उद्योगीहरूले साझा अभियान सञ्चालन गर्ने तयारीसमेत भइरहेको जानकारी दिए।
उद्योगले धान किन्दा किसान खुशी छन्
उधारोको समस्या भए पनि आरजु राइस मिलले किसानसँगको सम्बन्धलाई प्राथमिकतामा राखेको बस्नेतले बताए। उनका अनुसार उद्योगले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य (एमएसपी) अनुसार किसानबाट धान खरिद गर्दै आएको छ। किसानहरुमा पनि असन्तुष्टि नरहेको उनको दाबी छ। मलको अभावबारे बोल्दै उनले यो नेपालको मात्र नभई विश्वव्यापी समस्या भएको टिप्पणी गरे। ‘किसानलाई हामीले एमएसपी पनि दिइरहेका छौँ, किसान पनि खुसी छन्। मलको समस्या, त्यो तपाईंको ग्लोबल समस्या हो। त्यो नेपालले मात्र फेस गर्ने समस्या होइन, त्यो चाहिँ संसारभरिले फेस गरिरहेको समस्या हो।’
३०–३५ हजार टन प्रशोधन क्षमता
आरजु राइस मिलले वार्षिक ३० देखि ३५ हजार टन धान किसानबाट खरिद गरि प्रशोधन गर्ने जनाएको छ। ‘अर्को सालदेखि हाम्रो क्यापासिटी ३० देखि ३५ हजार टन प्रशोधन गर्ने हो । त्यति धान हामी किसानसँग खरिद गर्छौँ, र चामललाई बिक्री गर्छौँ,’ बस्नेतले भने । बस्नेतका अनुसार उद्योगले अब चामल उत्पादनमा मात्र सीमित नरही प्रशोधनपछि निस्कने कनिका र राइस ब्रानको उपयोग गर्ने पूरक उद्योग स्थापना गर्ने तयारी गरिरहेको छ। यसबाट उत्पादनको पूर्ण उपयोग गर्दै थप मूल्य अभिवृद्धि गर्ने लक्ष्य लिइएको उनले बताए। बस्नेतले भने, ‘चामलबाट निस्केको तपाईंको कनिका र ब्रान्डको पनि हामीले एउटा पूरक इन्डस्ट्री खोल्नुपर्छ भनेर त्यहीँ हामी सुरु गर्दैछौँ। भनिसकेपछि समस्याको समाधान त हामीले सबै निकालिसक्यौँ ।’
नेपाली चामल आयातित भन्दा गुणस्तरीय र स्वास्थ्यकर
बस्नेतले नेपाली उपभोक्तालाई स्वदेशी चामलको प्रयोग बढाउन आग्रह गरेका छन्। उनका अनुसार नेपाली चामल गुणस्तरका हिसाबले आयातित चामलभन्दा कमजोर नभई धेरै अवस्थामा अझ राम्रो भएको उनको भनाइ छ। उत्पादन भएको खेतसम्म ट्रेस गर्न सकिने भएकाले यसको गुणस्तर र विषादी प्रयोगबारे स्पष्ट जानकारी लिन सकिने उनले बताए। स्वास्थ्यका दृष्टिले पनि भातभन्दा रोटी सधैं राम्रो भन्ने धारणा वैज्ञानिक रूपमा सही नभएको उनको भनाइ छ। ‘चामल ग्लुटेन–फ्री खाद्य हो। आवश्यक मात्रामा सन्तुलित रूपमा नेपाली चामल खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ,’ उनले भने।
बस्नेतका अनुसार नेपालमा उत्पादित चामल मूल्य र गुणस्तर दुवैमा आयातित चामलसँग प्रतिस्पर्धा गर्न सक्षम छ। त्यसैले नेपाली उपभोक्ताले स्वदेशी उत्पादन रोजे किसान, उद्योग र राष्ट्रिय अर्थतन्त्र सबैलाई प्रत्यक्ष लाभ पुग्ने उनको विश्वास छ।
उनले धान उत्पादनदेखि उपभोक्ताको भान्सासम्मको यात्रालाई खेती वा उद्योगको विषय मात्र नभई व्यापारिक अनुशासन, समयमै हुने भुक्तानी र स्वदेशी उत्पादनप्रतिको विश्वाससँग जोडिएको विषयका रूपमा लिनुपर्ने धारणा उनले राखे ।















प्रतिक्रिया दिनुहोस्