काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रालयका सेवा तथा दर्तासम्बन्धी विवरणलाई थप पारदर्शी र सहज बनाउन ड्यासबोर्ड प्रणाली सञ्चालनमा ल्याएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको सक्रियतामा सञ्चालनमा ल्याइएको उक्त ड्यासबोर्डमार्फत अब दैनिक रूपमा हुने कम्पनी दर्ता, उद्योग दर्ता तथा फर्म दर्तासम्बन्धी विवरण रियल टाइममै अद्यावधिक हुने भएको छ।
यसअघि नेपालमा हालसम्म दर्ता भई सञ्चालनमा रहेका उद्योग तथा कम्पनीहरूको विवरण सर्वसाधारणले सहज रूपमा प्राप्त गर्न कठिन हुने गरेकामा ड्यासबोर्ड सञ्चालनसँगै त्यस्ता सूचना सहजै उपलब्ध हुने मन्त्रालयले जनाएको छ।
हाल ड्यासबोर्डमा उद्योग विभाग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा कम्पनी रजिस्ट्रारको कार्यालयका सूचना प्रविधि प्रणालीहरू एकीकृत गरिएको छ। सूचना प्रविधि प्रणाली नभएका निकायहरूको विवरण पनि डाइनामिक फाराममार्फत समावेश गर्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार एपीआई मार्फत विभिन्न प्रणालीलाई एकीकृत गरी रियल टाइम डाटा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। आगामी आर्थिक वर्षदेखि प्रदेशस्तरमा हुने उद्योग, कम्पनी तथा फर्म दर्तासम्बन्धी विवरणसमेत यसमा समावेश गर्ने योजना रहेको छ।
हाल उक्त ड्यासबोर्ड मन्त्रालय परिसरबाट अवलोकन गर्न सकिने व्यवस्था गरिएको छ।













प्रतिक्रिया दिनुहोस्