झापा । मेचीनगर नगरपालिका–८ का पर्शुराम गिरीले दुई वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका छन्। करिब १० कट्ठा जमिनमा खेती सुरु गरेका उनले एक याममा करिब तीन लाख रुपैयाँ आम्दानी गरिरहेका छन्।
१७ वर्ष वैदेशिक रोजगारीमा बसेर स्वदेश फर्किएपछि उनले व्यावसायिक केराखेती सुरु गरेका हुन्। खेतीबाट मनग्य आम्दानी हुन थालेपछि खेतीको क्षेत्रफल विस्तार गरी अहिले १५ कट्ठा पुर्याएका छन्। आगामी दिनमा थप विस्तार गर्ने योजना सहित पाँच बिघा जमिन खोजी गरिरहेको उनले बताए।
गिरीले ‘जि–नाइन’ जातको केराका करिब ६ सय बोट लगाएको जानकारी दिए। यो जातको केरा कोसा पोटिलो, ठूलो र पाकेपछि अरु प्रजातिको भन्दा स्वादिलो हुने उनले बताए। ‘रुखोपाखो जग्गा भएकाले धान रोप्दा १० हजार रुपैयाँ नाफा हुँदैनथ्यो,’ उनले भने, ‘अहिले केरा बेचेर एक याममा तीन लाख रुपैयाँ आम्दानी भइरहेको छ। खनजोत, मल, रोग र कीराको नियन्त्रण लगायतमा करिब एक लाख रुपैयाँ खर्च हुने जनाउँदै, हरेक याममा करिब दुई लाख रुपैयाँ बचत भइरहेको उनले उल्लेख गरे।
मेचीनगर, अर्जुनधारा, गौरीगञ्ज, कचनकबल, गौरादह, बाह्रदशी, कमल र भद्रपुरमा करिब १,९०० हेक्टर क्षेत्रफलमा व्यावसायिक केराखेती भइरहेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ। सामान्यतया केराको बोट नौ महिनामा पसाउने र एक वर्षभित्रै फल दिन सुरु गर्ने गर्दछ।
यहाँ उत्पादन भएको केरा स्थानीय बजारबाहेक काठमाडौँ, पोखरासम्म पुर्याइन्छ। अधिकांश किसान पर्शुराम गिरीजस्तै वैदेशिक रोजगारीबाट फर्किएर केराखेतीमा लागेका छन्। झापामा पाँच कठ्ठादेखि ५० बिघासम्मको जमिनमा केराखेती गर्ने किसानहरू रहेका छन्। विसं २०६० मा बाह्रदशीका डम्बर पाहिमले १० बिघा क्षेत्रफलमा पहिलोपटक व्यावसायिक केराखेती सुरु गरेका थिए। त्यसपछि झापा गाउँपालिका–३ का चन्द्रबहादुर बस्नेतले इजरायलबाट फर्केर ३० बिघा जमिनमा केराखेती गरेपछि अन्य किसानले पनि केराखेतीको अनुकरण गर्न थालेका हुन्। विसं २०७१ मा जिल्लामा जम्मा ३० हेक्टरमा मात्र व्यावसायिक केराखेती हुन्थ्यो भने अहिले १,९०० हेक्टर पुगेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ। अहिले जिल्लामा वार्षिक ३७ हजार मेट्रिक टन केरा उत्पादन भइरहेको छ।
केराको बोट प्रतिघरी ५०० देखि ७०० रुपैयाँसम्ममा बिक्री हुने गरेको जानकारी गिरीले दिएका छन्। कम मेहनत र लगानीमा छिटो र बढी आम्दानी दिने भएकाले किसानको आकर्षण बढेको उनी बताउँछन्। खेती विस्तार, प्राविधिक ज्ञान, अनुदान, बजारीकरण तथा कृषि बीमा जस्ता पक्षमा स्थानीय सरकार, कृषि ज्ञान केन्द्र र अन्य सरोकारवाला निकायको सहकार्य भएपछि किसान केराखेतीतर्फ आकर्षित भएका हुन्।
तर, मल, सिँचाइ, हुरी, कीराको संक्रमण र उपचारको अभावले गर्दा केराखेतीमा चुनौती पनि थपिएको उनले बताए। झापाका किसानले चिनीचम्पा, मालबोक, जि–नाइन र इजरायली प्रजातिका केरा खेती गर्दै आएका छन्।
















प्रतिक्रिया दिनुहोस्