काठमाडौं । नेपालमा औषधि उत्पादन तथा वितरणमा ख्यातिप्राप्त संस्था लोमस फर्मास्युटिकल्स र अग्रणी डेन्टल सेवा प्रदायक संस्था हिमाल डेन्टलबीच औपचारिक सहकार्यको समझदारीपत्रमा हस्ताक्षर भएको छ।
समझदारी अनुसार, अबदेखि हिमाल डेन्टल अस्पताल तथा यसको सेवा केन्द्रहरूमा लोमस फर्मास्युटिकल्सका सम्पूर्ण डेन्टल उत्पादनहरू प्रयोग गरिनेछ। साथै, लोमस फर्मास्युटिकल्सले हिमाल डेन्टल अस्पतालले आयोजना गर्ने डेन्टलसम्बन्धी शैक्षिक कार्यक्रम, गोष्ठी, सेमिनार तथा जनचेतनामूलक अभियानहरूमा सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
सहकार्यलाई दुवै पक्षले दीर्घकालीन र आपसी लाभदायक साझेदारीको रूपमा लिएका छन्। यसले नेपाली डेन्टल सेवा र शिक्षामा गुणस्तर अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास उनीहरूले व्यक्त गरेका छन्। समझदारीपत्रमा हिमाल डेन्टल अस्पतालका प्रबन्ध निर्देशक डा। राजेन्द्र भट्ट र लोमस फर्मास्युटिकल्सका निर्देशक तथा युवा उद्यमी प्रणव जंग पाण्डेले हस्ताक्षर गरेका थिए।
डा. भट्टले सहकार्यपछि प्रतिक्रिया दिँदै भने, ‘हामीले सधैं गुणस्तरीय सेवा र नवीनतम प्रविधिमा विश्वास गरेका छौं। लोमस फर्मास्युटिकल्ससँगको यो सहकार्यले हाम्रो सेवामा थप विश्वास र प्रभावकारिता ल्याउनेछ।’
त्यसैगरी, लोमस फर्मास्युटिकल्सका निर्देशक प्रणव जंग पाण्डेले भने, ‘स्वास्थ्य सेवामा गुणस्तरीय सामग्रीको पहुँच अत्यावश्यक हुन्छ। हिमाल डेन्टलजस्तो अग्रणी संस्थासँग सहकार्य गर्न पाउँदा हामी उत्साहित छौं। हामी यसलाई दीर्घकालीन साझेदारीको रूपमा अगाडि बढाउनेछौं।
दुवै संस्थाले आगामी दिनहरूमा संयुक्त रूपमा विविध कार्यक्रम सञ्चालन गर्ने योजना समेत सार्वजनिक गरेका छन्। यो सहकार्य डेन्टल सेवा क्षेत्रका लागि मात्र नभई, समग्र स्वास्थ्य सेवा प्रणालीको सुधारतर्फ पनि उदाहरणीय मोडेल बन्ने विश्वास गरिएको छ।

















प्रतिक्रिया दिनुहोस्