काठमाडौं । अल्ट्राभोइलेट एफ७७ बाइकको प्रचार–प्रसार र परीक्षणका लागि आयोजना गरिएको ‘अल्ट्राभोइलेट र्याली एण्ड टेष्ट राइड’ कार्यक्रमको उद्घाटन नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेती र चर्चित हास्यकलाकार हिमेश पन्तले गर्ने भएका छन्।
उक्त टेष्ट राइड काठमाडौंको नक्सालस्थित अल्ट्राभोइलेट शोरुमबाट सुरु भई नागपोखरी, लैनचौर, बालाजु, मुड्खु हुँदै ककनीमा पुगेर समापन हुने केडिया अर्गनाइजेसनका बिजनेस हेड नवराज कोइरालाले जानकारी दिए। अफरोड र अनरोड दुवै अनुभव गर्न सकिनेगरी कार्यक्रम डिजाइन गरिएको उनले बताए।
राइडमा अल्ट्राभोइलेट बाइकसँगै अन्य कम्पनीका २५० सीसी माथिका बाइक भएका राइडरहरू सहभागी हुन सक्नेछन्। सहभागीहरूले आफ्नै बाइक र पेट्रोलको व्यवस्था गर्नुपर्नेछ भने त्यसबाहेकका अन्य व्यवस्थापन कम्पनीले गर्ने कोइरालाले जानकारी दिए।
नेपाली बजारमा भर्खरै भित्रिएको अल्ट्राभोइलेट एफ७७ बाइकको मूल्य १० लाख ७५ हजार रुपैयाँ तोकिएको छ। यो बाइक भारतको प्रिमियम इलेक्ट्रिक बाइक सेग्मेन्टमा निकै चर्चित छ र अब नेपाली ग्राहकले पनि यसको टेस्ट राइडको अवसर पाउने भएका छन्।
यस प्रकारको इभेन्टले नेपाली बाइक राइडर समुदायलाई नयाँ प्रविधि र बाइकको अनुभव गराउने उद्देश्य राखेको आयोजकको भनाइ छ।

















प्रतिक्रिया दिनुहोस्