
काठमाडौं । चीन र संयुक्त राज्य अमेरिकाबीचको व्यापार युद्ध गहिरो हुँदै जाँदा बेइजिङले आफ्ना एयरलाइन्सलाई अमेरिकी उड्डयन जायन्ट बोइङबाट जेटहरू डेलिभरी गर्न रोक्न लगाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनप्रति लगाएको उच्च ट्यारिफपछि विश्वका दुई ठूला अर्थतन्त्र भएको राष्ट्रबीच कर युद्ध चलिराखेको छ । अमेरिकाले चीनबाट आयात गर्ने सामग्रीमा १४५ प्रतिशत कर लगाएको छ ।
बेइजिङले पनि वासिङ्टनसँग नझुक्ने प्रतिक्रिया दिँदै अमेरिकी आयातमा १२५ प्रतिशतको प्रतिशोधात्मक भन्सार शुल्क लगाएको छ ।
चीनले यस मामिलासँग परिचित व्यक्तिहरूलाई उद्धृत गर्दै बोइङ विमानहरूको डेलिभरी रोक्न एयरलाइन्सलाई आदेश दिएको ब्लुमबर्ग न्युजले मङ्गलबार रिपोर्ट गरेको छ ।
दुई शक्ति राष्ट्र बीचमा कर युद्धको वातावरण बनेसँगै बेइजिङले अमेरिकी कम्पनीहरूबाट विमानसम्बन्धी उपकरण र पुर्जाहरू खरिद गर्न निलम्बन गर्न भनेको वित्तीय समाचार आउटलेटले रिपोर्ट गरेको छ ।
एएफपीले उक्त टिप्पणीका लागि बोइङ र चीनको विदेश मन्त्रालयलाई सम्पर्क गरेको जनाएको छ । अमेरिकी आयातमा बेइजिङको प्रतिशोधात्मक भन्सार शुल्कले सम्भवतः विमान र घटकहरू ल्याउने लागतमा उल्लेखनीय वृद्धि गर्नेछ ।
ब्लुमबर्गले चिनियाँ सरकारले बोइङ जेट भाडामा लिने र उच्च लागतको सामना गर्ने क्यारियरहरूलाई सहयोग गर्ने जनाएको छ ।
ट्रम्पको भन्सार शुल्कको आक्रमणले विश्व बजारहरूलाई हल्लाउनुका साथै मित्रराष्ट्र र विरोधीहरूसँगको कूटनीतिलाई समेत उलटपुलट पारेको छ । यस्तै, अमेरिकी अधिकारीहरूले शुक्रबार स्मार्टफोन, सेमीकन्डक्टर र कम्प्युटर जस्ता उच्च–टेक सामानहरूका लागि चीन र अन्य विरुद्धको नयाँ भन्सार शुल्कमा छुटको घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्