
काठमाडौं । प्रधानमन्त्री मार्क कार्नीले आफ्नो लिबरल पार्टीलाई सत्तामा अर्को कार्यकालका लागि नेतृत्व गर्न चुनाव जितेपछि चीनले क्यानाडासँग सम्बन्ध सुधार गर्न इच्छुक रहेको बताएको छ ।
मंगलबार चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले भने “चीन आपसी सम्मान, समानता र आपसी लाभका आधारमा चीन–क्यानाडा सम्बन्ध विकास गर्न इच्छुक छ ।”
वर्षको सुरुवाती चरणमा लिबरल पार्टीका लागि क्यानडामा चुनाव जित्ने सम्भावना निकै कम थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्नीको हार सुनिश्चित भएको प्रतिक्रिया दिँदै आएका थिए । यसैबीच क्यानाडामा लिबरल पार्टीले जितेपछि त्यसलाई असाधारण पुनरागमनको रुपमा हेरिएको हो ।
बेइजिङले मङ्गलबार कार्नीलाई बधाई नदिई भनेको छ, “चीन–क्यानाडा सम्बन्धबारे चीनको स्थिति सुसङ्गत र स्पष्ट छ ।” बेइजिङ र ओटावाबीचको सम्बन्ध हालका वर्षहरूमा तनावपूर्ण रहँदै आएको छ ।
सन् २०१८ डिसेम्बरमा भ्यानकुभरमा अमेरिकी वारेन्टमा एक वरिष्ठ चिनियाँ दूरसञ्चार कार्यकारीको गिरफ्तारी र बेइजिङले जासुसीको आरोपमा दुई क्यानाडालीलाई प्रतिशोधात्मक हिरासतमा लिएकोले दुई देशको सम्बन्धमा तिक्तता आएको हो ।
सन् २०१९ र २०२१ मा क्यानाडाको चुनावमा चिनियाँ हस्तक्षेपको आरोप लागेपछि सम्बन्ध थप तनावपूर्ण भएको थियो । उक्त हस्तक्षेपको आरोपलाई बेइजिङले अस्वीकार गरेको छ । बेइजिङमा सत्तारूढ कम्युनिस्ट पार्टीको मुखर आलोचक रहेका क्यानाडाली विपक्षी सांसद र उनको परिवारलाई लक्षित गरेको आरोपमा विदेशमन्त्री मेलानी जोलीले सन् २०२३ मा एक चिनियाँ कूटनीतिज्ञलाई निष्कासन गरेका थिए ।
ओटावाले हङकङमा सुरक्षा कडाइ र चीनको उइगुर मुस्लिम अल्पसङ्ख्यकहरूको व्यवहारको आलोचना गर्दै आएको छ । गत महिना ओटावामाले मृतुद्दण्डविरुद्ध गरेको अपिललाई अवज्ञा गर्दै चीनले हालै चार क्यानाडाली नागरिकहरूलाई मृत्युदण्ड दिएको पुष्टि गरेको हो । चीनले मृत्युदण्ड कार्यान्वयन गर्दा ‘कानूनअनुसार’ काम गरेको दाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्