काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनताले सधैँ अनुभूति गर्नेगरी उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन् । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाको स्वागतमा आज मन्त्रालयमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन् ।
उनले भने, “हामी राजनीतिकर्मीले निर्वाचनका बेला जनतासँग थुप्रै प्रतिबद्धता गरेर आएका हुन्छौँ, थुप्रै लक्ष्य लिएका हुन्छौँ, लक्ष्य प्राप्तिका लागि आआफ्नो क्षेत्रबाट लाग्नुपर्छ, राजनीतिकर्मी जनताप्रति प्रत्यक्ष उत्तरदायी भएर काम गर्नुपर्छ ।”
सधैँका लागि आफ्नो कार्यकाल नहुने भएकाले आफू नेतृत्वमा रहँदा जनताले प्रत्यक्ष अनुभूति हुने खालका काम गर्नुपर्ने भनाइ उनको थियो । मन्त्री खड्काले सीमित स्रोतसाधनकाबीच उत्कृष्ट काम गर्नुपर्ने दायित्व आफूहरूमा रहेकाले यसमा राज्यमन्त्रीको साथ र सहयोग हुने विश्वास व्यक्त गरे । यस्तै उनले तीनै तहका सरकारसँग समन्वय गरेर दायित्वलाई जिम्मेवारपूर्वक निर्वाह गर्नुपर्ने उल्लेख गरे ।
मन्त्री खड्काले व्यावहारिक ज्ञान, अनुशासित, मर्यादित, जिम्मेवार व्यक्तित्वका रूपमा आफूले राज्यमन्त्रीलाई लिएको बताए । उनले सहकार्य, पारदर्शिता र जवाफदेहिताका आधारमा मन्त्रालयको कार्यसम्पादनलाई परिणाममुखी बनाउने उल्लेख गर्दै एकआपसमा मानसम्मन, संस्कार र संस्कृति जोगाएर अगाडि बढेमात्र सफल भइने धारणा राखे ।
नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री गर्बुजाले आफू देश र जनताका लागि काम गर्ने व्यक्ति भएकाले कर्मचारीको साथ लिएर देश र मन्त्रीलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरे ।















प्रतिक्रिया दिनुहोस्