काठमाडौं । सभामुख देवराज घिमिरेले केआईआईटीमा मृत भेटिएकी नेपाली छात्रा प्रिसा साहको मृत्यु प्रकरणमा सरकारलाई घटनाबारे सत्यतथ्य पत्ता लगाई परिवारलाई न्यायिक सहयोग गर्न रुलिङ गरेका छन् ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोलेका सांसदहरुले उक्त घटनाबारे सरकारले चासो नदिएको गुनासो गर्दै खेद प्रकट गरेपछि सभामुख घिमिरेले सरकारलाई घटनाप्रति गम्भीर हुनुका लागि निर्देशन दिएका हुन् ।
सांसदहरुले उठाएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सभामुख घिमिरेले भने, ‘कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थीको प्रिसा साहको निधनबारे सदनमा आमस्मिक समयमा उठाउनुभएको विषयमा सदनको गम्भीर ध्यानआर्कषण भएको छ ।’ उनले थप भने, ‘उज्यालो भविष्यको सपना बोकेर विदेशिएका विद्यार्थीहरुको एकपछि अर्को मृत्युको घटना राष्ट्रको संवेदनशीलता जिम्मेवारीसँग जोडिएको एउटा गम्भीर प्रश्न पनि हो । सरकारलाई यस घटनाप्रति गहिरो चासो लिँदै सत्य तत्थ्य पत्ता लगाउन, सम्बन्धित पक्षसँग सम्वाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न म निर्देशन गर्दछु ।’
सभामुखले विदेशमा रहेका विद्यार्थीहरुको सुरक्षा सुनिश्चित गर्न समेत सरकारलाई निर्देशन दिएका छन् ।
भारतको ओडिसास्थित केआईआईटी मा नेपाली विद्यार्थी प्रिसा साहको बिहीबार मृत्यु भएको थियो । यसअघि गत फागुन ४ गते बुटवलकी प्रकृति लम्सालको केआईआईटीमै मृत्यु भएको थियो । लगातार यस्ता दुःखद घटना बाहिर आउँदा समेत सरोकारवाला निकायले घटनाप्रति चासो नदिएको भन्दै आजको बैठकमा आकस्मिक समयमा बोलेका सांसदहरुले घटनाबारे सरकारको ध्यानाकर्षण गराउन माग गरेका थिए ।

















प्रतिक्रिया दिनुहोस्