काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सचिवालय सदस्य महमद निजामुदिन (निजाम) ले सचिव पदमा आफ्नो बलियो दाबी रहने बताएका छन् ।
उनले लामो समयदेखि सङ्गठनमा रहेर गरेको योगदान, हासिल गरेको अनुभव र कुशल नेतृत्व क्षमताका आधारमा उनले आफूलाई सचिव पदको दाबेदारका रूपमा आफ्नो दाबेदारी प्रस्तुत गरेको उल्लेख गरे ।
सङ्गठले दिएको जिम्मेवारीलाई सहर्ष स्वीकार गरी जिम्मेवारीबोधका साथ काम गर्दै आएको कारण पनि आफू स्वाभाविक रूपमा सचिव पदको दाबेदार रहेको उनको भनाइ छ ।
उनका अनुसार यो सचिव पदको उम्मेदवार बन्ने घोषणा नभइ व्यत्तिगत आकांक्षा मात्र हो । सङ्गठनमा गरेको लामो योगदान, अनुभव र नेतृत्व क्षमताका आधारमा आफ्नो दाबी स्वाभाविक रहेको उनको भनाइ छ ।
युवा संघको युथफोर्स वीरगञ्जको अध्यक्षको जिम्मेवारीबाट केन्द्रीय सङ्गठनमा प्रवेश गरेका निजाम केन्द्रीय सदस्य हुँदै सङ्गठनको राष्ट्रिय तहमा स्थापित भएका व्यक्ति हुन् ।
निजामले विभिन्न जिम्मेवारीमा रहँदा देखाएको वैचारिक परिपक्वता, सङ्गठनप्रतिको निष्ठा र नेतृत्व क्षमताले उनलाई सङ्गठनभित्र विश्वासिलो र प्रभावशाली व्यक्तित्वको रूपमा स्थापित गराएको युवा संघकै नेताहरू बताउछँन् ।
सचिव पदको आकांक्षी निजामले १०औँ राष्ट्रिय महाधिवेशनमार्फत सचिवको उम्मेदवारीको औपचारिक घोषणा नगरेको भए पनि उनी सचिव पदका लागि सङ्गठनभित्र आफ्नो बलियो दाबेदारी पेश गरेर बसेका छन् । संघको १०औँ राष्ट्रिय महाधिवेशनमार्फत यही जेठ ९ देखि ११ गतेसम्म पोखरामा हुँदैछ ।
महाधिवेशनले नौ जना पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ। केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिलाको सुनिश्चिता गर्ने राष्ट्रिय युवा संघ नेपालले जनाएको छ ।
पदाधिकारी १० जना भन्दा कम बनाउने एमालेको नीति बमोजिम यो महाधिवेशनबाट यसअघि १७ जना रहेको पदाधिकारी नौ जनामा सीमित बनाइनेछ । केन्द्रीय कमिटी पनि ३२९ बाट घटाएर १५१ मा झारिने बताइएको छ ।
अधिवेशनको उद्घाटन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने तयारी छ ।

















प्रतिक्रिया दिनुहोस्