काठमाडौं । प्रतिनिधि सभा अन्तर्रगत अर्थसमितिको बजेट सम्बन्धी छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रमाथि करको मात्र भार बढेको गुनासो गरेका छन्। उनले निजी क्षेत्रलाई थिच्ने गरी हरेक वर्ष करको दर बढ्दै गएको र व्यवसायमै असर पार्ने अवस्था आएको बताएका छन्।
श्रेष्ठले करको भार मात्र थोपर्दै जाने हो भने निजी क्षेत्रको अस्तित्व नै संकटमा पर्ने बताए। ‘निजी क्षेत्रले जतिसुकै चुनौती बेहोरे पनि टिकिरहेको छ, त्यसलाई सघाउनु पर्ने बेलामा झनै करका बोझले थिच्ने काम भयो,’ उनले भने।
उनले कृषि क्षेत्रमा सहुलियत दिनुपर्ने, भन्सार विन्दुहरूमा कोल्ड स्टोरको व्यवस्था गर्नुपर्ने, र अन्तर्राष्ट्रिय कार्गोमा लाग्ने करमा छुट दिनुपर्ने सुझाव पनि दिए।
त्यस्तै, भारतबाट आउने पर्यटकले अन्य देशको तुलनामा बढी खर्च गर्ने भएकाले छिमेकी राष्ट्रबाट पर्यटक भित्र्याउनका लागि विशेष पहल गर्नुपर्नेमा उनले जोड दिए। उनले भारतीय पर्यटकका लागि भिसा शुल्क मिनाह गर्नुका साथै हवाई टिकटको दर घटाउनुपर्ने बताए।
श्रेष्ठले आयकरमा पनि पुनरावलोकन गर्नुपर्ने धारणा राखे। ‘हाल २० लाख कमाइमा करको भार झन्डै ३ लाख ८५ हजार पर्छ, यो अनुपात अत्यधिक छ,’ उनले भने।
नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दीपक मल्होत्राले राष्ट्र बैंकको लगानी सम्बन्धी नीति पुनरावलोकन गर्नुपर्ने, विद्युतीय सवारी साधनमा कर नबढाउनुपर्ने र प्रदूषण नियमन अनुरूपका सवारी साधन भित्रिन सक्ने वातावरण बनाउनुपर्ने माग राखे।
नेपाल उद्योग परिसंघ (सिएनआई) का तर्फबाट प्रतिनिधित्व गर्दै गुणस्तरीय १०० वस्तु भारतमा सहज रूपमा निर्यात गर्न दिने व्यवस्था हुनुपर्ने माग गरिएको छ। साथै, विदेशी नागरिकलाई अपार्टमेन्ट बिक्रीको बाटो खोलिनुपर्ने, वृद्धभत्ता गरिब लक्षित बनाउनुपर्ने, वैदेशिक लगानीको प्रभावकारी उपयोग गर्दै निजगढ विमानस्थल शीघ्र निर्माण गर्नुपर्ने सुझाव पनि छलफलमा उठाइयो।

















प्रतिक्रिया दिनुहोस्