खोटाङ । जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित ओखरबोटेमा करिब पाँच करोड रुपैयाँ लगानीमा स्थापना गरिएको प्राङ्गारिक मल तथा बायोग्याँस उद्योग उद्घाटन भएको पाँच वर्ष बित्दा पनि सञ्चालनमा आउन सकेको छैन ।
तत्कालीन १ नं प्रदेशका मुख्यमन्त्री शेरधन राईले विसं २०७७ चैत २१ गते तामझामका साथ उद्घाटन गरेको उद्योग अहिले अलपत्र अवस्थामा रहेको छ । नेपाल सरकार अर्थ मन्त्रालयको विशेष अनुदानवापत तीन करोड ३२ लाख रुपैयाँ र नगरपालिकाको एक करोड ५६ लाख रुपैयाँ लगानीमा उद्योग स्थापना गरिएको थियो ।
प्रतिघण्टा एक हजार केजी मल उत्पादन गर्न सक्ने क्षमताको उद्योगमार्फत प्राङ्गारिक मल उत्पादन गर्ने तथा गोबरग्याँसलाई सिएनजीमा रूपान्तरण गरेर एलपी ग्याससरह सिलिण्डरमा भरेर वितरण गर्ने लक्ष्य राखिएको थियो । नगरपालिकालाई अर्गानिक नगर बनाउने उद्देश्यसहित स्थापना गरिएको उद्योग सञ्चालनमा नआएपछि स्थानीयले सामाजिक सञ्जालमार्फत आलोचना गरिरहेका छन् । उद्योग परिसरमा निर्माण गरिएका पोखरी, हाइटेक ग्रिनहाउस तथा अन्य संरचनासमेत प्रयोगविहीन बनेका छन् ।
स्थानीय गङ्गाबहादुर विश्वकर्माले उद्योग सञ्चालन हुने विश्वासमा आफूले छ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको बताउँदै उद्योग तत्काल सञ्चालनमा नल्याइए राज्यको लगानी खेर जाने चेतावनी दिए । उद्योगबाट उत्पादित मल पहिलो चरणमा नगरभित्रका कृषकलाई अनुदानमा वितरण गर्ने योजना थियो । त्यसका लागि तीन हजार ५०० घनमिटर क्षमताको अण्डरग्राउण्ड ट्याङ्की निर्माण गरिएको थियो । दिक्तेल बजारका शौचालयको फोहोर सक्सन मेसिनमार्फत ल्याएर बायोग्याँस उत्पादन गर्ने तयारीसमेत गरिएको थियो ।
उद्योग सञ्चालनका लागि चार युवालाई पूर्णकालीन तथा २५ जनालाई अल्पकालीन रोजगारी दिइएको थियो । तर अहिले कर्मचारी, भैँसी तथा सञ्चालनका अन्य गतिविधि पूर्ण रूपमा बन्द भइसकेका छन् । नगरपालिकाका अनुसार मलमूत्र व्यवस्थापनका लागि खरिद गरिएका तीन भैँसीमध्ये एउटा मरेको र दुईवटा रु ९० हजारमा लिलाम गरिएको थियो । उद्योगका लागि खरिद गरिएका सक्सन मेसिन, दुई ट्याक्टर र एउटा गाडी भने अहिले नगरपालिकाले प्रयोग गरिरहेको छ ।
तत्कालीन नगरप्रमुख दीपनारायण रिजालले पाँच वर्षभित्र नगरपालिकालाई पूर्ण अर्गानिक बनाउने लक्ष्यसहित उद्योग स्थापना गरिएको बताएका थिए । वर्तमान नगरप्रमुख तीर्थराज भट्टराईले भने अघिल्लो नेतृत्वले दीर्घकालीन योजना नबनाई संरचना निर्माण गर्दा यस्तो अवस्था आएको दाबी गरेका छन् ।

















प्रतिक्रिया दिनुहोस्