बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आर्थिक सङ्कटसँग जुधिरहेको हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् भएको बताउँदै उद्योगलाई पुनः नियमित सञ्चालनमा ल्याउन सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।
आइतबार उद्योगको निरीक्षणपछि आयोजित छलफल कार्यक्रममा मन्त्री यादवले सरकारी स्वामित्वका उद्योग बन्द हुनु चिन्ताको विषय भएको उल्लेख गर्दै हेटौँडा सिमेन्ट उद्योगलाई सञ्चालनमा ल्याउन अध्ययन भइरहेको जानकारी दिइन् ।
‘हेटौँडा सिमेन्ट उद्योग नियमित रूपमा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा हामी अध्ययन गरिरहेका छौँ,’ उनले भनिन्, ‘निजी सिमेन्ट उद्योगहरू नियमित चल्ने तर सरकारी उद्योग बन्द हुने अवस्था अत्यन्त दुःखद् हो ।’
उनले उद्योग बन्द हुँदा रोजगारी मात्र नभई देशको अर्थतन्त्रमा समेत असर पर्ने बताउँदै उद्योग सञ्चालनका लागि सरकार, व्यवस्थापन र कर्मचारीबीच सहकार्य आवश्यक रहेको धारणा राखिन् । ‘सरकार उद्योग सञ्चालनका लागि सहयोग गर्न तयार छ,’ उनले भनिन् ।
कार्यक्रममा हेटौँडा सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक शिवनारायण साहले पुराना र जीर्ण मेसिन, कच्चा पदार्थको अभाव तथा आर्थिक समस्याका कारण उद्योग बन्द भएको जानकारी दिए ।
उनका अनुसार मेसिन समय–समयमा बिग्रिने, कच्चा पदार्थ आपूर्ति नहुने तथा आर्थिक अभावका कारण उद्योग सञ्चालन प्रभावित भएको हो । उनले ११ महिनादेखि कर्मचारीलाई तलबभत्ता दिन नसकिएको, आपूर्तिकर्ताको बक्यौता भुक्तानी हुन नसकेको तथा विद्युत् महसुल तिर्न समस्या भएको बताए ।
साहले तत्काल आर्थिक समस्या समाधान गर्न सकिए उद्योग पुनः नियमित सञ्चालन गर्न सकिने धारणा राखे ।
वि।सं। २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । हाल उद्योगका उपकरण पुराना भइसकेकाले उत्पादन क्षमतामा समस्या आएको प्राविधिकहरूले बताएका छन् ।

















प्रतिक्रिया दिनुहोस्