काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले भिजिट–भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्नु गलत भएको तर्क गरेका छन् ।
आइतबार विराटनगरमा पत्रकारसँग सिटौलाले विभागका कर्मचारीले गरेको गलत कामलाई आधार बनाएर गृहमन्त्रीको राजीनामा माग्ने कार्यले गलत नजिर बस्ने बताए ।
उनले गुहमन्त्रीको बचाउ गर्दै भने, ‘कुनै पनि कार्यालयको कर्मचारीले गल्ती गर्छ भने जवाफदेही कर्मचारी नै हुने हो,’ नेता सिटौलाले भने, ‘त्यस्तो अवस्थामा हामीले कार्यालयको प्रमुखले राजीनामा दिनुपर्छ , छोड्नुपर्छ भन्ने उठायौं भने राज्य व्यवस्था चल्दैन। ’
उक्त प्रकरणमा अख्तियारले छानबिन गरिरहेको भन्दै नेता सिटौलाले गृहमन्त्री रमेश लेखकको राजिनामा माग्न हतार गर्न नहुने बताए ।
नेता सिटौलाले भने, ‘विगतमा मन्त्रीहरूमाथि नै कुरो उठेकोले राजीनामा दिएको भए पनि अहिले अध्यागमन विभागको कर्मचारीमाथि आरोप लागेको छ, अख्तियारलेपनि छानबिन गरिरहेकोले केही समय पर्खिनुपर्छ ।’
गृह मन्त्रालयले नै बनाएको मापदण्डको आडमा अध्यागमनका कर्मचारीले भिजिट भिसामा जाने नेपालीबाट लाखौं रुपैयाँ अनावश्यक दुःख दिएर असुल्ने गरेको विषय बाहिरिएको छ । गृह मन्त्रालयले नेपालीलाई युरोप, एसिया र अफ्रिकाका विभिन्न देशमा भिजिट भिसामा जानलाई ‘कठोर प्रावधान’ सहितका मापदण्ड जारी गरेको थियो । तर, केही वर्षदेखि अध्यागमनकै कर्मचारीले मन्त्रालयसम्म ‘सेटिङ’ मिलाएर भिजिट भिसामा नागरिक तस्करी गर्दै आएको पाइएको छ ।
त्रिभुवन अन्तर्राष्टिय विमानस्थलस्थित अध्यागमन कार्यालयले वैदेशिक रोजगारीमा जान चाहानेसँग लाखौं रुपैयाँ उठाउँदै भिजिट भिसा दिने गरेको उजुरीकर्ताको दाबी छ । अध्यागमन कार्यालयबाट वैदेशिक रोजगारीमा यूएई र साउदी अरेबियामा भिजिट भिसामा पठाएवापत प्रतिव्यक्ति ५० देखि ७५ हजार, युरोपियन मुलुक माल्टा, पोर्चुगललगायतका देशमा पठाएवापत ३ देखि ४ लाख रुपैयाँसम्म अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीले उठाउने गरेको आरोप लागेको छ । एयरलाइन्स, ट्राभल एजेन्सी, कर्मचारी, प्रहरी र बिचौलियाबीच रकम लेनदेन गरी ‘सेटिङ’ मिलाएर भिजिट भिसामा नागरिकलाई युरोप तथा अन्य देशमा पठाउने गरेको प्रमाण अख्तियारले फेला पारेपछि छानबिन सुरु गरेको हो ।
विभागदेखि मन्त्रालयकै कर्मचारीको ‘सेटिङ’मा उक्त कार्य भएपछि गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानमा सघाउनुपर्ने आवाज चौतर्फी उठेको छ ।















प्रतिक्रिया दिनुहोस्