काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना लागि आफैँले नेता छनोट गर्नपाउने सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प अरु कुनै नभएको बताएका छन् ।
गणतन्त्र दिवसका को उपलक्ष्यमा टुडिँखेलमा आज ओयोजित विशेष समाराहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निरंकुशतन्त्र र गणतन्त्रको तुलना नै नहुने बताएका हुन्।
उनले भने, ‘ निरंकुशतन्त्र र गणतन्त्र कुन उत्तम हो भन्ने हाम्रो समाजको बहसको विषय होइन ।’ प्रधानमन्त्री ओलीले राज्यबाट सेवा सुविधा लिई जिम्मेवार निकायमा बसेकाहरुले आचरण सुधार गर्नुपर्नेमा जोड दिँदै चुनावमार्फत नै असल राजनीतिक शक्ति छनोट हुनुपर्ने धारणा राखे ।
प्रधानमन्त्री ओलीले भने, ‘राज्यका अङ्ग र अनौपचारिक क्षेत्रमा समेत जिम्मेवारीमा रहेका हामी सबैको आचरण र व्यवहारमा अझै सुधार गर्नुपर्ने धेरै कुरा हुन सक्छन्। गरिबी, बेरोजगारी, भ्रष्टाचार– राष्ट्रका यी चुनौती हुकुम बक्सिने एउटा मुकुटधारी अधिनायक खोजेर होइन, लोकतान्त्रिक प्रणालीमा चुनाव मार्फत इमान्दार राजनीतिक शक्ति छनौट गरेर मात्र सामना गर्न सकिन्छ।’
यही शासन व्यवस्थामा शिक्षा, स्वास्थ्य, उद्यम, रोजगारी पूर्वाधारलगायतका क्षेत्रमा अतुलनीय उपलब्धिसहित परिवर्तन भएको भनाइ प्रधानमन्त्री ओलीको छ । उनले गणतन्त्रलाई अझ सुदृढ र बलियो बनाउन सबै एक हुनुपर्ने बताए । ‘गणतन्त्र कुनै दलको स्वामित्व होइन यसको मालिक जनता हुन् । लोकतान्त्रिक गणतन्त्र ‘जनताका लागि जनताद्वारा जनताको शासन प्रणाली’ हो । यसको मर्मअनुसार हाम्रो प्रणालीमा जनताले नै वडा सदस्यदेनिख राष्ट्रपतिसम्म आफैँले छान्न र फेर्न सक्छन् । त्यसैले राम्रो वा नराम्रोको उत्त्रदायित्व पनि जनताकै हातमा छ ।’
प्रधानमन्त्री ओलीले गणतन्त्र आउनुअघि र हालको मानव विकास सूचकाङ्कमा निकै फरक भएको उल्लेख गरे । ‘गणतन्त्र आउनुअघि देशको विकासका सूचकाङ्कहरु कहाँ थिए, आज कहाँ पुग्यो । गणतन्त्र आउनुअघि मानव विकास सूचकाङ्क कहाँ थियो, आज कहाँ पुग्यो । राजतन्त्र हुँदाका अढाइसय वर्षमा कति विद्यालय थिए, कति अस्पताल थिए, अहिले कति पुगे? राजतन्त्रकालमा सडक कति किलोमिटर थियो, अहिले कति पुग्यो? गरिबी कति थियो, कति घट्यो, खानेपानी र बिजुलीको सुविधा कति जनतामा थियो र आज कतिमा पुग्यो ? जनताको जीवनस्तर कहाँ थियो, अहिले कहाँ पुग्यो? यी सबै उपलब्धि लोकतान्त्रिक गणतन्त्रबाट सम्भव भएको हो’ प्रधानमन्त्री ओलीले भने ।
।

















प्रतिक्रिया दिनुहोस्