काठमाडौं । सोलुखुम्बुको फोर्चे गाउँका टासी ग्याल्जेन शेर्पा १४ दिन १० घण्टा ११ मिनेट अवधिभित्र चार पटक सगरमाथा शिखर पुगेर गाउँ फर्किँदै थिए । उनलाई गाउँभन्दा थोरै माथि डाँडामै स्वागत गर्न आइपुगेका थिए गाउँले । तर स्वागत गर्नेको भीडमा टासीका आँखाले खोजेको एउटा मान्छे अनुपस्थित थिए । त्यो अनुपस्थित व्यक्ति अरु कोही नभएर आङछिरिङ अर्थात टासीकै बुबा थिए ।
जब टासी घरको आँगनमा पुगे डाँडामाथिको घाम झैँ भएका उनका बुबा हातमा खादा लिएर ढोका अगाडि उभिइरहेका थिए छोराको प्रतिक्षामा । त्यतिखेर पुनः टासीको आँखाले अर्को मान्छे खोज्यो । जसलाई त्यहाँ देख्न सम्भव थिएन । १५ वर्षअघि सधैँका लागि बिदा लिएकी आमालाई टासीको मनले खोजिरह्यो, “यतिखेर मेरो आमा पनि बुबासँगै भइदिनुभएको भए कति खुसी हुनुहुन्थ्यो होला ।” बुबाले खादा लगाइसकेपछि बाउछोराले अँगालो मारे एकअर्कालाई । अनि दुवैका आँखाबाट बग्यो खुसीका आँशु ।
जसरी हिमताल फुटेर उर्लिँदै झर्छ पग्लिएका बरफ । “बाहिर म जति खुसी देखिएपनि भित्रभित्रै मलाई तिम्रो धेरै चिन्ता थियो छोरा” टासीका बुबाले भने । टासीले लुक्लाबाट काठमाडौं ओर्लिएको केही घण्टापछि बुधबार कपनको सिद्धार्थ होटलमा लेखकलाई भने, “७८ वर्षका बुबाको आँखाबाट आँशु झरेको मैले जीवनमै पहिलोपटक देखेँ । तर त्यो आँशु दुःखको थिएन ।”
किनकी उनका बुबालाई थाहा थियो एउटा आरोहीको मर्म र जोखिम । उनले पनि सगरमाथा शिखर टेकेका थिए त्यो पनि तीन पटक । हिमालका उकाली र ओरालीमा बोक्दाबोक्दै दुःख, एक दशक अघि आङछिरिङ खुम्बु आइसफलको खर्पासमा परे । बुढेसकाल लागेको गोडाले साथ दिएनन् । दाहिने खुट्टाले लौरोको सहारा माग्यो । खट्टाले लौरोको सहारा मागेसँगै बन्द भयो आम्दानीको स्रोत र कान्छो छोरा टासीको पढाइ । छोरालाई पढाएर ठूलो मान्छे बनाउने आङछिरिङको सपना तुहिएको दिन थियो त्यो । त्यही छोरा जसलाई हिँडाउनु मन थिएन आफैले दुःखको भारी बोकेको गोरेटो । तर त्यही गोरेटो भएर आज फर्किँएका थिए टासी र बनाएका थिए नयाँ कीर्तिमान। फरक यत्ति थियो, कि टासीले १५ दिनमा चार पटक सगरमाथा शिखरमा पाइला राखी विश्व कीर्तिमान बनाएर फर्किएका थिए । जुन सामान्य आरोहीका लागि असम्भव सरह हो ।
पासाङल्हामु गाउँपालिका–४, फोर्चे गाउँ हेर्दा जत्ति सुन्दर छ, त्यति नै हिमालका दुःख र साहासका कथाले भरिएका छन् प्रत्येक घर । त्यही गाउँका २८ वर्षीय युवा हुन् टासी ग्याल्जेन । जो नागरिकताअनुसार २९ वर्षको भएका थिए । आरोहणको यात्रा सुरु गरेको सात वर्षमै टासीले विश्व कीर्तिमानी कायम गरे । उनले यही मे ९, १४, १९ र २३ तारिखका दिन एकै सिजनमा १५ दिनभित्र चारपटक सगरमाथा आरोहण गरे । सन् २०१८ देखि मात्र हिमालमा भारी बोक्न थालेका उनले यसअघि पाँचपटक सगरमाथा र एक पटक चोयूको आरोहण गरिसकेका छन् । टासीले म कुनै दिन सगरमाथा शिखरमा पुग्छु भन्नेसम्म पनि सोच्दै नसोचेको बताउँछन् । उनलाई त बुबाको सपना पूरा मात्र गर्नुथियो । विसं २०७२ मा सर एडमण्ड हिलारी माध्यामिक विद्यालय खम्जुङबाट एसएलसी उत्तीर्ण गरेपछि बुवाले प्लस टु पढ्न काठमाडौं पठाए । होटल म्यानेजमेन्ट लिएर सरासर प्लस टु गरेपछि स्नातक पनि सोही विषयमा पढ्ने चाहना थियो ।
तर, स्नातका लागि बुबाको कमाइले सम्भव भएन । अनि पुष्पलाल मेमोरियल कलेजमा पत्रकारिता विषय लिएर पढ्न थालेका टासीले दोस्रो वर्ष अध्ययन गर्दागर्दै बुबाले काम गर्न नसक्ने भएपछि घर फर्किए । दाजु र दिदीले बिहे गरिसकेका छन्, एउटी बहिनी पढ्दै थिइन् । घर व्यवहार र बुबालाई हेर्ने जिम्मा टासीको काँधमा आयो । “मलाई छिटो र धेरै पैसा कमाउनुपर्ने बाध्यता आइलाग्यो”, सातवर्ष अघिको परिस्थिति सम्झँदै टासीले भने, “त्यसरी छिटो पैसा कमाउने एउटै मात्र विकल्प हिमालमा भारी बोक्नु भन्दा अरु थिएन ।” पहिलोपटक नै सन् २०१८ मा उनले चीनतर्फबाट अल्पाइन ग्लो नामक आरोहण कम्पनीसँग सगरमाथा आरोहणका लागि गए । तर उनीसँग आरोहणसम्बन्धी कुनै तालिम र ज्ञान थिएन, त्यसैले आरोहण गर्न सकेनन् । गाउँ फर्किएपछि गाउँकै आरोहण तालिम केन्द्रमा आधारभूत र ‘एड्भान्स’ तालिम लिएको उनले सुनाए । ।
सन् २०१९ मा चीनतर्फबाटै फोर्टिन पिक एस्पिडिशन नामक कम्पनीमार्फत सगरमाथा र त्यही वर्ष चोयू हिमालको आरोहण गर्न उनी सफल भए । त्यसपछि उनले सन् २०२२, २०२३ र २०२४ मा सगरमाथा आरोहण गरे । २०२४ मा भने दुईपटक सगरमाथा आरोहण गरे । हुनत फोर्चे गाउँका कुनै घर छैनन्, जुन घरका एक वा एकभन्दा बढी सदस्यले सगरमाथा आरोहण नगरेको । टासीकै साथीहरुले पनि कसैले १७ पटक, कसैले १४ पटक आरोहण गरिसके । “दुईवर्षअघि मलाई लाग्यो आरोहण त सबैले गर्छन् । अरुले भन्दा केही फरक गरिएन भने न मेरो आर्थिक प्रगति हुन्छ, न त मलाई कसैले चिन्छन्”, उनले भने, “त्यतिबेलै मैले २० दिनमा चारपटक सगरमाथा चढेर कीर्तिमानी बनाउँछु भनेर योजना बनाएँ ।”
योजना बनाए पनि त्यो पूरा गर्न सजिलो थिएन । उल्टै आरोहणका लागि खर्च गर्ने पैसा आफूसँग थिएन । सौभाग्यवशः यसवर्ष टासीको त्यही योजना पूरा गर्न दाजु छिरिङ टासीमार्फत चिनेको स्कटल्यान्डका जेम्स ल्याम्ब र लिटिल फाउन्डेशन, इन्सपायर ट्रेक तथा एटके एक्सपिडिशन कम्पनीबाट साथ पाए । यसवर्ष पहिलो आरोहणको रुपमा डोरी टाँग्ने (रोप फिक्सिङ) टिममा सामेल भएर शिखर पुगे । ३० किलो तौल हुने ३०० मिटर लामो डोरीलगायतका सामान बोकेर काम गर्दै मे ९ तारिखका दिन साँझ ५ बजे उनी शिखर पुगेका थिए । “त्यो दिन मौसम यति सफा र राम्रो थियो कि चुचुरोमा सलाई कोरेर बाले पनि ननिभ्ने थियो”, उनले भने । त्यही बेला एउटा खादा सगरमाथालाई चढाउँदै ढोगेर उनले आशिष मागेको सुनाए । “मलाई माफ गर्नुहोला, यसपटक म तपाईँको शिरमाथि चारपटक पाइला राख्न आउँदैछु, मलाई आशिष दिनुहोला ।” सायद टासीले आशिष पाए र यसवर्षको चौथो आरोहणमा उनले सगरमाथा र आफ्नो कुलपितृ लोबुचेलाई सम्झँदै फेरि एउटा खादा चढाएर धन्यवाद दिए ।
यसवर्षको सबैभन्दा सजिलो आरोहण दोस्रो पटकको थियो । मे १४ तारिख बिहान ८ बजे शिखरमा पुगेका थिए । फर्किने क्रममा दोस्रो शिविरदेखि पहिलो शिविरको बाटोमा पर्ने नुप्त्से फेस आइपुगेपछि टासीलाई एक्कासि घरको याद (होम सिक) आयो । आफैँलाई थाम्न सकेनन् उनले । रोप फिक्सिङमा गरेको दुःख सम्झँदै बाटोमै भक्कानिएर एक्लै रोएको सुनाए । “खै के भयो, के भयो, अचानक होम सिक जस्तो भयो र आफैँलाई रोक्न सकिन”, त्यो क्षण सम्झिँदै उनले भने, “मलाई चिच्याइचिच्याइ रुन मन लाग्यो अनि भक्कानिएर रोएँ ।”
तेस्रो पटकको आरोहणमा उनले बङ्गलादेशका आरोही इक्रामुल हसन साकिललाई लिएर गएका थिए । जसलाई दुई वर्षअघि नै सगरमाथा शिखर लैजाने प्रतिबद्धता जनाएका थिए । समुद्रदेखि पैदलै हिँडेर ८४ दिनमा सगरमाथा शिखर आरोहण गरेका शाकिल अर्का साहसी आरोही थिए । ग्रेट हिमालयन ट्रेलको यात्रा पूरा गरिसकेका साकिललाई नेपालकै मकालु इ ट्रेडर्सले निर्भाना र अन्य अन्तर्राष्ट्रिय ब्रान्डका आरोहणका लागि आवश्यक गियर्स (जुत्तादेखि कपडा) सहयोग गरेको थियो । उनीहरु मे २३ तारिखका बिहान ६ः११ मा शिखर पुगेका थिए । तेस्रोपटक आरोहण गरेर फर्किदा टासी निकै थकित थिए । आधारशिविर आइपुगेपछि एकदिन आराम गर्ने सोचमा थिए टासी तर, जब आधारशिविरमा एटके एक्सपिडिशनका सञ्चालक लाक्पा शेर्पाले बधाई दिँदै खुसी र उत्साह थप्ने काम गरे त्यसले उनलाई पछि हट्न दिएन । ती सबै थकाई हरायो र त्यही साँझ आधारशिविरबाट उकालो लागेर उनी दोस्रो शिविरमा पुगे । भोलिपल्ट चौथो शिविर पुगेर साँझ ८ बजे शिखरको यात्रालाई निरन्तरता दिएका उनका लागि यो आरोहण सबैभन्दा जोखिम र चुनौतीपूर्ण थियो ।
उनले बाटोमा करिब दुई सय आरोहीलाई ओभरटेक (उछिन्नु) गरे । हिउँ परेर हराएको डोरी खोज्दै बिहान ३ः११ बजे शिखरमा पुगेका टासीसँग एटके एक्सपिडिशनकै फूर्वा तेन्जी शेर्पा थिए । फूर्वाले पहिलोपटक शिखर पुग्ने अवसर प्राप्त पाएका थिए भने उनीहरुका पछिपछि थिए अन्य चारपाँच जना अरु आरोही । टासीलाई एउटै डर थियो फर्किने बेला ट्राफिक जाममा परिन्छ कि भन्ने । हावा यति बेजोड चलेको थियो कि भर्खरै परेको हिउँ उडाएर गालामा हिर्काउँदा थप्पड हानेको भन्दा बढी दुखाउँथ्यो । तर फर्किँदा टासी र फूर्वाले करिब ३० जनामात्र आरोही बाटोमा भेटे । बाँकी सबै आरोही प्रतिकूल मौसमका कारण फर्किएछन् ।
यसरी टासीले सगरमाथा आरोहणको इतिहासमा साहसिक विश्व कीर्तिमानी राख्ने आरोहीहरुको सूचीमा आफ्नो नाम समावेश गर्न सफल भए । टासी भन्छन्, “म भन्दा छिटो दौडिन सक्ने शेर्पा दाजु भाइ अझै धेरै हुनुहुन्छ, तर आफ्नो ‘क्लाइन्ट’लाई सम्हाल्दै शिखरमा पु–याउनुपर्ने बाध्यताले यो कीर्तिमानी राख्ने अवसर मैले प्राप्त गरेको हुँ ।”
टासीका दुईवटा सपना छन्, एक शिक्षामा पिछडिएको आफ्नो गाउँलाई समृद्ध बनाउने, जुन सपना पूरा गर्न युवा पुस्ताका भाइबहिनी पनि शैक्षिक प्रगति हासिल गरिरहेका छन् । अर्को छ, पर्यटनकै माध्यमबाट देशलाई संसारमा थप परिचित गर्ने । पर्यटनबाट देशलाई समृद्ध बनाउने अभियानमा एउटा इँटा थप्ने । तरपनि दुःखको कुरा एउटै छ, हिमालमा काम गर्ने शेर्पालाई राज्यले आफ्नै देशका नागरिक हुन् भनेर गम्भीरतापूर्वक कहिल्यै लिएन । “सामाजिक सुरक्षा र अरु सुविधा त परै जाओस्, कम्तीमा हिमालमा ज्यान गुमाउने शेर्पाका बालबच्चालाई निःशुल्क पढ्ने व्यवस्था गरेपनि हुन्थ्यो”, उनले भने, “हिमालमा ज्यान गुमाउनेहरु वास्तवमा हिमालका सहिद हुन्, उनीहरुका बालबच्चा पढाउन विदेशीलाई हात फैलाउनुपर्ने अवस्थाबाटमाथि उठ्न सकिएको छैन ।”
परिस्थितिले काँध थाम्नु परेको जिम्मेवारीले टासीलाई परिपक्व बनाउँदै छ । कम्तीमा आफ्नो काखमा हुकिँदै गरेका चार वर्षीय छोराको अवस्था आफ्नै जस्तो नहोस् भन्नेमा सचेत छन् उनी । हुन त सफलताको कुनै मापन छैन, विश्वको सर्वोच्च शिखर पुगे पनि आखिर झर्नैपर्छ फेदीमा । त्यो वास्तविकताका साक्षी टासी आफैँ छन् । तर, पनि यस पटकको सफलता टासीको दृढ सङ्कल्प र मेहनतले मात्र सम्भव भएको हो । “मैले १६ दिनसम्म कुनै रात राम्रोसँग आराम गरिँन”, उनी भन्छन्, “ढिलोमा रातको २ बजे उठिसक्थेँ । वास्तविक सपना पूरा गर्न निदाएर सम्भव छैन भन्ने मलाई राम्रोसँग थाहा थियो ।” रासस

















प्रतिक्रिया दिनुहोस्