Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

अभावभित्र सुन्दर भविष्य खोज्दै सुष्मा

अभावभित्र सुन्दर भविष्य खोज्दै सुष्मा
विज्ञापन
Advertisement

कर्णाली । उमेरका हिसाबले सुष्मा हमाल भर्खर १७ वर्षकी भइन्। सानो उमेर भए पनि क्षमता र विश्वासका दृष्टिले एउटा परिपक्व युवाभन्दा कम छैनन् उनी। हिमाली जिल्ला जुम्ला तिला गाउँपालिका–४ जुम्लास्थित साँपुल्ली गाउँ निवासी उनी अहिले सरस्वती प्राविधिक माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छिन्।

विज्ञापन
Advertisement
Advertisement

अलि चञ्चले र खुला स्वभावकी सुष्माको पारिवारिक, आर्थिक एवं शैक्षिक हिसाबले अवस्था निकै कमजोर छ। प्रौढ शिक्षा पढेर सामान्य आफ्नो नाम लेख्न बाहेक अरु खासै आउँदैन सुष्माको आमा कमला शाहीलाई। मेलापात र नानीहरूलाई दैनिक खानाको जोहो गर्ने दिनचर्याले माथि उठ्न नदिँदा उनलाई सरकारी विद्यालयमा पढ्ने उनीहरूको प्रगति र दुर्गती दुवैका बारेमा बुझ्ने समय हुँदैन।

मजदुरीका लागि बर्सेनि कालापहाड जाने सुष्माका बुबा खड्गबहादुर हमालको पनि सामान्य लेखपढभन्दा बढी छैन। घरमा तीन महिना पुग्ने अन्न उब्जिँदैन। गिट्टी कुटेर वा बालुवा बोकेर कमाएको पैसाले हातमुख जोड्नुपर्ने बाध्यता छ, उनको परिवारलाई। बुबा मजदुरीका लागि कालापहाड (भारत) र आमा सुष्मालगायत उनका भाइबहिनीको स्याहार गर्दै आएकी छिन् । खड्गबहादुर कालापहाड गएको करिब वर्ष दिन पुग्न थाल्यो, अहिलेसम्म घर फर्किएका छैनन् ।

निम्नवर्गीय परिवारकी सन्तानका रुपमा जन्मेकी सुष्माको सोच र सपना भने उच्च कोटीको छ तथापि कहिले कापी, किताब र कलम किन्न पैसाको निकै अभाव खट्किन्छ। विद्यालयमा आफ्नै साथीहरूबीच उनी फरक धारणा र प्रस्ताव प्रस्तुत गर्छिन्। अलि खरो स्वभाव भएकी सुष्मा यतिबेला सामाजिक सञ्जालमा चर्चाको विषय बन्दै आएकी छन्। यसमा श्री ज्योति फाउण्डेसनद्वारा यही वैशाख २७ देखि २९ गतेसम्म सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली छोरी सम्मेलन’ महत्वपूर्ण अवसर बन्यो।

सम्मेलनमा उनले खस भाषामा आफ्नो एकल नाटक प्रस्तुत गरिन्। कुनै तयारी बिना नै पहिलोपटक मञ्चमा उक्लेकी उनले एकल नाटकबाट दर्शकलाई क्षणभरमै प्रभावित बनाइन्। दर्शकदीर्घामा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल, मन्त्रीहरू, प्रदेशसभा सदस्यहरूसहित विशेष व्यक्तिहरूको उल्लेख्य सहभागिता थियो।

मञ्चमा पुगेर खस भाषामै उनले भनिन्, ‘आइगइ कर्णालीकी छोरी खस भाषा लिएर, गरिबहरूका कुडा सुन्दिने आखिर को थिए र रु हाम्रा कुडा सुन्दिने कोइनाइ, नापा नापा (थोरै) सुन्दिया पुनि भुन्दिन्या कोही नाई। यसबाट उदेक मात्र होइन, कर्णाली अनि आफ्नै अवस्था हेरेर रुन मन लाग्यो।’

तथापि सम्मेलनका सहभागीहरूलाई उनले सके उड, उड्न सक्दैनौँ दौड, दौडन सक्दैनौँ हिँड, हिँड्न सक्दैनौँ घिस्र, जीवनमा कहिले नहार तर प्रयास गर एकदिन अवश्यक लक्ष्यबिन्दुमा पुग्नेछौँ भन्ने ऊर्जा पनि दिइन् ।

मञ्चमा सुष्माले नेपालको संविधानले व्यवस्था गरेका मौलिक हकलगायतका विभिन्न अधिकार, सङ्घीय संरचनाअनुरुप गठित तीनै तहका सरकारमा रहेर काम गर्ने जनप्रतिनिधिको कार्यक्षमता र शैली, शिक्षक शिक्षिकहरूको भूमिका र सिङ्गो नेपालको राजनीतिक प्रणालीमाथि व्यङ्ग्य गरिन्। न्यायिक समितिको संयोजकमा रहेर काम गर्दै आएका पालिकाका उपाध्यक्षहरूको न्याय सम्पादन कमजोर रहेको र कति त आफैँ अन्यायमा परेको सवाल समेत उनले उठान गरिन्।

सुष्माको अभिव्यक्तिको आशय थियो, सरकार प्रमुखहरूको जिम्मेवारी र उत्तरदायित्व, विभिन्न निकायमा काम गर्नेहरूको कार्यशैलीकै कारण आज समाजका बालबालिका, महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र सिङ्गो नागरिकले दुःख पाउँदै आएका छन्। गाउँबाट राजधानी सुर्खेत वीरेन्द्रनगरमा पहिलोपटक पुगेकी बालिकाको उक्त प्रस्तुतिले सबैलाई आश्चर्यचकित पारेको थियो।

मञ्चमा उभिएकी सुष्माले निर्धक्कका साथ भन्दै थिइन्, ‘भाषणले देश बन्दैन, असल नियत राखेर काम गर्नुपर्दछ। जातीय विभेद आजसम्म पनि अन्त्य भएको छैन। कुर्सीमा बस्नेहरूले नै नागरिकलाई अपमान गर्दै आएका छन्। कृषि क्षेत्रलाई नीति, कार्यक्रम र बजेटमा राखे पनि कार्यान्वयन प्रभावकारी छैन।’

उनको अभिव्यक्ति र अभिनय राष्ट्रियस्तरमा आफ्नो क्षमता देखाई पर्याप्त अनुभव लिइसकेका कलाकारहरूभन्दा कम थिएन। सुष्माको कलात्मक प्रस्तुतिले कुनै पनि क्षमता र प्रतिभावान व्यक्तिहरूको गतिशीलतालाई गरिबी र विकटताले छेक्न सक्दैन भन्ने उक्तिलाई चरितार्थ पार्दै सूचना, सञ्चार र प्रविधिको युगमा हरेकले आफूलाई सिर्जनशील र सकारात्मक बनाउँदै लैजानुमा नै ठूलो हित हुन्छ भन्ने सन्देश प्रवाह गरेको थियो।

दलहरूका घोषणा, सङ्कल्प, प्रतिबद्धता जप्ने मन्त्रजस्तै भएकाले अब प्रतिफल र कार्यान्वयनमुखी विकासमा जोड दिनुपर्ने उहाँको सुझाव थियो। सुष्माका अनुसार अधिकार खोज्नेले पनि कर्तव्य पालना गर्नुपर्दछ। स्वर नभए पनि भविष्यमा गीत रेकर्ड गर्ने र देउडा गायिका बन्ने धोको राखेकी उनले गरिब, निमुखाहरूको हितमा काम गर्ने र समाजमा व्याप्त भ्रष्टाचार, बेथिति, विकृति एवं कुरीतिविरुद्ध बोलिरहने बताएकी छिन्।

सरस्वती प्राविधिक माध्यमिक विद्यालयका प्रधानाध्यापक मानबहादुर सिंह हमाल अन्य विद्यार्थीभन्दा फरक भएको बताइन्। उनले भनिन्, ‘सुष्मा अत्यन्तै उत्सुक र जिज्ञासु छन्। समाजका विभिन्न खाले विषयमा विशेष सरोकार राख्छिन् । समाज बुझ्ने र बोल्ने कला उनीमा राम्रो छ। गीत, कविता रचना गर्ने र देउडा गाउनेतर्फ उनको बढी रुचि देखिन्छ। यसलाई निरन्तरता दिँदै अगाडि बढे उनी राष्ट्रको एउटा राम्रो कलाकार बन्ने सम्भावना छ।’

सुष्माले आर्थिकरुपले पारिवारिक अवस्था कमजोर भएकाले आफूले चाहेजस्तो गर्न नसकेको बताइन्। उनले भनिन्, ‘बाबा धेरैजसो समय घरमा नहुँदा आमालाई बढी दुःख छ। हामीलाई खाना, लत्ताकपडा, कपी, किताब, कलमलगायतका आधारभूत आवश्यकता पूरा गर्न आर्थिक अभाव धेरै छ । त्यही दुःख एवं सङ्घर्ष गरेर अभावभित्रै मेरो सुन्दर भविष्य निर्माण गर्ने यात्रामा लाग्नेछु।’ रासस  

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit