काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाखुसी करिडोर अन्तर्गतको ढल निर्माण कार्यको ठेक्का प्रक्रियामा अनियमितता भएको ठहर गर्दै सात जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
हाल सूचना तथा प्रसारण विभागका महानिर्देशक रहेका परियारसँगै बोलपत्र मूल्यांकन समितिका पदाधिकारीहरू रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, जनार्दन गिरी र उत्तम दाहालविरुद्ध आयोग मुद्दा लिएर अदालत पुगेको हो ।
आयोगको अनुसार, ठेक्काको लागि समानान्तर निर्माण सेवा प्रालिले १८ करोड ९ लाख २२ हजार ३२५ रुपैयाँ ६३ पैसाको प्रस्ताव राखेको थियो । यस्तै, कल्पवृक्ष कोहिनूर जेभीले २२ करोड ४० लाख ९४ हजार ६१२ रुपैयाँ ९५ पैसाको प्रस्ताव पेस गरेको थियो । कम कबोल गर्ने कम्पनीलाई ठेक्का नदिई महँगो प्रस्ताव राख्ने कल्पवृक्षलाई ठेक्का लगाएर ४ करोड ३१ लाख ७२ हजार २३७ रुपैयाँ ३२ पैसाको भ्रष्टाचार भएको निष्कर्ष आयोगले निकालेको छ ।
यसै आधारमा आयोगले बुधबार परियारसहित सात जनानाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले सातै जनालले जनही ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको ठहर गरेको छ । उनिहरुविरुद्ध सोही अनुसारको जरिवाना र कैद सजायको मागदाबी गर्दै आयोगले मुद्दा चलाएको हो ।







कर्पोरेट समाचार 



















प्रतिक्रिया दिनुहोस्