काठमाडौं । जेनजी आन्दोलनका कारण गम्भीर घाइते भएकाहरु देशका विभिन्न अस्पतालमा अझै पनि उपचार गराइरहेका छन् । गत भदौ २३ गते काठमाडौं नयाँ बानेश्वरमा प्रहरीको गोली कम्मरमा लागेर राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराइरहेका महोत्तरीका २५ वर्षीय राकेश महतोको दुईवटै खुट्टा चल्न नसक्ने अवस्थामा पुगेको छ ।
राकेशका दाजु राजेशका अनुसार गोली लागेका भाइको दुईवटै खुट्टा प्यारालाइसिस हुने संभावना बढेको डाक्टरले जानकारी गराएका छन् । काठमाडौंमा बसेर लोक सेवाको तयारी गरिराखेका राकेशको कम्मरदेखि तलको भाग नचल्ने अवस्थामा पुगेको उल्लेख गर्दै उनले भने, ‘भाईलाई काठमाडौंमा राखेर पढाइरहेका थियौं । सरकारी जागिरका लागि लोकसेवाको तयारी गरिरहेको थियो । उसको कम्मरमा गोली लागेकाले खुट्टै नचल्ने अवस्था पुगेको डाक्टरहरुले जानकारी दिनुभएको छ । घरमा आमा पनि बिरामी हुनुहुन्छ, कमाइ गर्ने म एक्लो हुँ । अब भाई र आमालाई उपचार एवम पालनपोषणमा समस्या पर्न थालेको छ ।’
राजेशका अनुसार भाईको अवस्था सामान्य भएपछि दुवै खुट्टा चलाउन सक्दैनन्, डाक्टरहरुले अब उपचार संभव नभएको बताएका छन् । आफ्नो भाईले अब अशक्त जिवन व्यतित गर्नुपर्ने अवस्था आएको प्रति दुःख मान्दै राजेशले घाइते भएर आजीवन अशक्त भएकाहरुलाई सरकारले जागिर दिनुपर्ने माग गरे । यस्तै उनले दोषीमाथि छिटो कारबाही हुनुपर्ने बताए । ‘गोली हान्न आदेश दिनेलाई कारबाही हुनुपर्छ । जीवन गुमाएका परिवार र घाइते भएर आजीवन अशक्त भएकाहरुलाई सरकारले जागिर दिनुपर्छ ।’
राजेशका अनुसार बिरामी आमालाई घरमा छोडेर भाइलाई कुर्न काठमाडौं आएका उनको परिवारले यो वर्ष दसैँ मनाएको छैन् ।







कर्पोरेट समाचार 



















प्रतिक्रिया दिनुहोस्