काठमाडौं। नेपालमा चिकित्सक उत्पादनको दर बढिरहे पनि उनीहरू रोजगारी र राम्रो सेवा–सुविधाको खोजीमा विदेशिने क्रम तीव्र बन्दै गएको तथ्याङ्क सार्वजनिक भएको छ।
नेपाल मेडिकल काउन्सिलका अनुसार वार्षिक रूपमा लाइसेन्स प्राप्त गर्ने चिकित्सकको सङ्ख्या सरह नै चिकित्सकले विदेश जानका लागि ‘असल चारित्रिक प्रमाणपत्र’ लिने गरेका छन्।
काउन्सिलको तथ्याङ्कअनुसार सन् २०२५ मा दुई हजार १२२ जनाले चिकित्सकीय दर्ता प्रमाणपत्र (लाइसेन्स) प्राप्त गरेका थिए। तर सोही अवधिमा दुई हजार ३९० जना चिकित्सकले विदेश जान आवश्यक पर्ने असल चारित्रिक प्रमाणपत्र लिएका छन्। यो सङ्ख्या लाइसेन्स लिने चिकित्सकभन्दा २६८ जनाले बढी हो।
काउन्सिलको चारित्रिक प्रमाण प्रमाणीकरण शाखाका प्रमुख प्रदीप रिजालका अनुसार सन् २०२० यता १३ हजार १४० चिकित्सकले लाइसेन्स लिँदा ११ हजार ६८ जना चिकित्सकले विदेश जाने प्रयोजनका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन्।
नेपाल मेडिकल काउन्सिलका निमित्त रजिष्ट्रार डा.दीपेन्द्र पाण्डेका अनुसार आकर्षक तलब, उच्चस्तरीय सेवा–सुविधा र व्यावसायिक अवसरका कारण नेपाली चिकित्सक विदेशतर्फ आकर्षित भएका हुन्।
‘चिकित्सकले असल चारित्रिक प्रमाणपत्र विदेशमा जागिर र पढनका लागि लिन गर्दछन्’, निमित्त रजिष्ट्रार पाण्डेले भने, ‘तर नेपालबाट धेरै जसो चिकित्सक पढ्नभन्दा पनि विदेशमा गएर नाकरी गर्नका लागि असल चारित्रिक प्रमाण पत्र लिने गरेका छन् ।’ काउन्सिलका अनुसार नेपाली चिकित्सकको प्रमुख गन्तव्य अमेरिका, बेलायत, माल्दिभ्स, अस्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, भारत, क्यानडा र जर्मनी रहेका छन्।
सन् २०२० यता अमेरिकामा सबैभन्दा धेरै दुई हजार ९९५ जना चिकित्सक गएका छन्। त्यसपछि बेलायतमा दुई हजार ६३७ जना, माल्दिभ्समा दुई हजार २४१ जना, भारतमा ९१८ जना, अस्ट्रेलियामा ८४८ जना, संयुक्त अरब इमिरेट्समा ७२० जना, क्यानडामा १४८ जना र जर्मनीमा ९२ जना चिकित्सक पुगेका छन्। नेपाली चिकित्सकहरू हाल २३ विभिन्न मुलुकमा जाने गरेको काउन्सिलको तथ्याङ्कले देखाएको छ।
विदेश जाने उद्देश्यले असल चारित्रिक प्रमाणपत्र लिने चिकित्सकको सङ्ख्या पनि वर्षेनी बढ्दो क्रममा छ। सन् २०२० मा ८६९ जनाले उक्त प्रमाणपत्र लिएकोमा सन् २०२१ मा एक हजार ३२७, सन् २०२२ मा एक हजार ९५४, सन् २०२३ मा दुई हजार ३१८, सन् २०२४ मा दुई हजार २१० र सन् २०२५ मा दुई हजार ३९० जना पुगेका छन्।
यता लाइसेन्स लिने चिकित्सकको सङ्ख्या पनि निरन्तर बढिरहेको छ। सन् २०२० मा दुई हजार १३१, सन् २०२१ मा एक हजार ७१६, सन् २०२२ मा दुई हजार ८५, सन् २०२३ मा दुई हजार ६९२, सन् २०२४ मा दुई हजार ३९४ र सन् २०२५ मा दुई हजार १२२ जनाले चिकित्सकीय दर्ता प्रमाणपत्र प्राप्त गरेका छन्।
काउन्सिलका अनुसार हालसम्म नेपालमा ३९ हजार ४८६ जना चिकित्सकले लाइसेन्स प्राप्त गरिसकेका छन्। तर बढ्दो चिकित्सक पलायनले देशको स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको अभाव हुने चिन्ता समेत बढाएको छ।















प्रतिक्रिया दिनुहोस्