काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासबीच गाजाको युद्ध अन्त्यतर्फको ‘पहिलो चरण’ को सम्झौतामा सहमति भएको घोषणा गरेपछि विश्व नेताहरूले बिहीबार शान्तिको नयाँ आशा व्यक्त गर्दै दुवै पक्षलाई प्रतिबद्धता पूरा गर्न आग्रह गरेका छन् ।
यो सम्झौतालाई गाजामा दुई वर्ष लामो विनाशकारी युद्धको अन्त्यतर्फको ठूलो कूटनीतिक उपलब्धि मानिएको छ । राष्ट्रपति ट्रम्पका अनुसार, हमासले आगामी दिनमा सबै २० जना जीवित इजरायली बन्धकहरूलाई मुक्त गर्नेछ, जसको सट्टामा प्यालेस्टिनी कैदीहरू रिहा गरिनेछन् । साथै, इजरायली सेनाले गाजाको अधिकांश भागबाट फिर्ता लिन सुरु गर्नेछ ।
“यसको अर्थ यो हो कि सबै बन्धकहरू चाँडै आफ्ना घर फर्किनेछन् र इजरायलले बलियो, दीर्घकालीन र चिरस्थायी शान्तिको दिशामा पहिलो कदमका रूपमा सहमत रेखासम्म आफ्नो सेना फिर्ता लिनेछ”, राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत भनेका छन् । लगत्तै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै भने “भगवानको कृपाले हामी सबैलाई घर ल्याउनेछौँ ।”
गाजा इजरायलबीचको पहिलो चरणको शान्ति सम्झौतापछि विश्वभरका नेताहरूले यस घटनाक्रमलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गर्दै प्रतिक्रिया जनाएका छन् । लामो समयदेखिको युद्ध अन्त्य हुनेतर्फ उन्मुख उक्त सम्झौताले इजरायल–प्यालेस्टिनीबीच स्थायी शान्तिको सम्भावना देखिएको धारणा विश्व नेताहरुले राखेका छन् ।
यस सम्झौतालाई लिएर कसले के भने?
संयुक्त राष्ट्रसङ्घ
संयुक्त राष्ट्रसङ्घका महासचिव माननीय एन्टोनियो गुटेरेसले एक विज्ञप्ति जारी गर्दै सम्झौताको पूर्ण कार्यान्वयनलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले गाजामा दिगो मानवीय राहत, पुनर्निर्माण र पुनःस्थापनाका प्रयासलाई तीव्र पार्ने बताएका छन् ।
गुटेरेसले भनेका छन्, “संयुक्त राष्ट्रसङ्घले सम्झौताको पूर्ण कार्यान्वयनलाई समर्थन गर्नेछ र गाजामा दिगो मानवीय राहत, पुनर्निर्माण र पुनःस्थापनाका प्रयासलाई तीव्र पार्नेछ ।” उनले अगाडी भनेका छन्, “यो अवसरले कब्जाको अन्त्यतर्फ विश्वसनीय राजनीतिक मार्ग निर्माण गर्न, प्यालेस्टिनी जनताको आत्मनिर्णयको अधिकारलाई सम्मान गर्न र इजरायली तथा प्यालेस्टिनी दुवै जनतालाई शान्ति र सुरक्षामा जीवन यापन गर्न सक्षम बनाउने दुई–राज्य समाधानको दिशामा अघि बढ्न सहयोग पुर्याउनेछ ।”
क्यानाडा
क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले सामाजिक सञ्जालमा खुशी व्यक्त गरेका छन् । उनले भनेका छन्, “बन्धकहरू चाँडै आफ्ना परिवारसँग पुनर्मिलन हुने खबरले हामीलाई अत्यन्त हर्षित बनाएको छ । वर्षौंको पीडादायी सङ्घर्षपछि अब स्थायी शान्तिको सम्भावना देखिएको छ ।”
यस्तै उनले सबै पक्षहरूलाई ‘सहमति गरिएका सर्तहरू छिटो कार्यान्वयन गर्न र न्यायपूर्ण तथा दीर्घकालीन शान्तिको लागि एकजुट भएर काम गर्न’ आग्रह समेत गरेका छन् । कार्नीले वार्तामा मध्यस्थता गर्ने कतार, इजिप्ट र टर्कीको भूमिकाको प्रशंसा पनि गरे ।
अर्जेन्टिना
अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले त ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिनका समर्थन गर्ने घोषणा नै गरे । उनले एक्समा लेखेका छन्, “म यो अवसरमा राष्ट्रपति डोनाल्ड जे. ट्रम्पको नोबेल शान्ति पुरस्कारका लागि उम्मेदवारीमा हस्ताक्षर गर्ने घोषणा गर्न चाहन्छु । यस किसिमको उपलब्धि हासिल गर्ने नेताहरूलाई यो मान्यता पहिले नै प्राप्त हुनुपर्ने थियो ।” स्वतन्त्रतावादी नेता र ट्रम्पका सहयोगी रहेका मिलेईले यो सम्झौताले विश्व शान्तिको दिशामा ठूलो योगदान पुर्याएको उल्लेख गरेका छन् ।
मलेसिया
मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले उक्त सम्झौताले लामो पीडादायी समयपछि आशाको उज्यालो छाएको प्रतिक्रिया दिएका छन् । उनले एक विज्ञप्तिमा भने, “यो घटनाक्रमले महिनौँदेखिको असहनीय पीडा र विनाशपछि आशाको उज्यालो देखाएको छ ।” यस्तै उनले सबै पक्षलाई ‘यो अवसर प्रयोग गरी व्यापक र स्थायी शान्तितर्फ अघि बढ्न’ आग्रह पनि गरे ।
जापान
जापानका मुख्य क्याबिनेट सचिव योसिमासा हयासीले पत्रकारहरूलाई सम्बोधन गर्दै भने, “जापानले सहभागी पक्षहरूबीच ‘पहिलो चरण’ मा सहमति भएकोमा स्वागत गर्दछ । यो सम्झौता द्वन्द्व शमन र दुई–राज्य समाधानतर्फको महत्त्वपूर्ण कदम हो ।” उनले अमेरिकी, कतारी, इजिप्टेली, टर्की र अन्य मध्यस्थता गर्ने देशहरूको ‘अथक प्रयास’ को प्रशंसा गर्दै सबै पक्षबाट ‘इमानदार र स्थायी कार्यान्वयन’ को अपेक्षा व्यक्त गरे ।
हयासीले गाजाको पुनर्निर्माण र मानवीय अवस्थाको सुधारका लागि जापानको निरन्तर सहयोग गर्ने बाचा पनि गरेका छन् ।
अस्ट्रेलिया
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजले यो सम्झौतालाई ‘प्रकाशको किरण’ को रूपमा वर्णन गरेका छन् । “आठ दशकको द्वन्द्व र हिंसापछि, आज हामीले हिंसाको चक्र तोड्न र अझ उज्यालो भविष्य निर्माण गर्न सक्ने आशा पाएका छौँ”, उनले भने, “आजको यो घोषणा केवल सम्झौता होइन — यो मानवताको पुनर्जीवनको सन्देश हो ।”
न्युजिल्यान्ड
न्युजिल्यान्डका विदेशमन्त्री विन्स्टन पिटर्सले पनि उक्त सम्झौतालाई दुई वर्षदेखिको पीडादायी समयको अन्यको रुपमा चालिएको सकारात्मक कदम भनेर प्रशंसा गरेका छन् । उनले भने, “विगत दुई वर्षमा इजरायली र प्यालेस्टिनी दुवैले अकल्पनीय पीडा व्यहोरेका छन् । आजको यो सम्झौता त्यो पीडा अन्त्यतर्फको सकारात्मक पहिलो कदम हो ।”
विदेशमन्त्री पिटर्सले दुवै पक्षलाई सम्झौताको सर्तहरू पूरा गर्न आग्रह गर्दै भने “यो स्थायी शान्ति प्राप्त गर्ने दिशामा आवश्यक पहिलो कदम हो । हामी इजरायल र हमासलाई पूर्ण समाधानको दिशामा निरन्तर काम गर्न आह्वान गर्छौं ।”
गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय
करिब २४ महिनादेखि बन्दकका परिवारले अनिश्चितता, पीडा र निराशाको गहिरो अन्धकार सहनु परेको थियो । तर, बिहीबार बिहान मध्य तेल अभिवको ‘होस्टेज स्क्वायर’ नामक स्थलमा खुशी, आँसु र राहतको मिश्रणसहित आशाको विस्फोट नै भएको छ ।
समाचार सार्वजनिक हुनेबित्तिकै भिडमा खुसीको चिच्याहट मच्चिएको थियो । श्याम्पेनका बोतलहरू खोलेर सेलिब्रेशन सहित मिठाइ बाँडियो भने अनि हाँसो र आलिङ्गनसहित आँसु बगाए गाजामा बन्दी बनाइएका इजरायली नागरिकहरूको रिहाइ नजिकिएको खबरले स्क्वायरलाई हर्ष र भावनाले भरिदिएको समाचार संस्था एपीले उल्लेख गरेको छ ।
बन्दीहरू मुक्त गराउने अभियानको प्रमुख अनुहार मानिएकी इना जाङ्गाउकरले आफ्नो बन्धक छोराको नाम उच्चारण गर्दै उत्साहित स्वरमा चिच्याउँदै “मतन घर आउँदैछ १” भनेर हात आकाशतिर उठाउँदै उनले‘धन्यवाद दिइन् ।
जबकि वरिपरि समर्थकहरूको भीड, बन्धकका परिवारहरू र पहिले मुक्त भएका पूर्व बन्दीहरूले चोक भरिदिएका थिए । पत्रकारहरूलाई छोरा घर फर्किने खुशीमा उनले भनिन्, “म मेरो छोरा मतनको गन्ध लिन चाहन्छु । मेरो एउटा मात्र सपना छ – उसलाई आफ्नै ओछ्यानमा सुतिरहेको देख्ने ।”
सन् २०२३ अक्टोबर ७ मा हमासको इजरायलमाथिको आक्रमणपछि जब उनीहरूको प्रियजनहरू अपहरणमा परे, त्यतिबेलादेखि यी परिवारहरू निरन्तर सङ्घर्षमा छन् । उनीहरूले विश्व नेताहरूसँग भेटघाट गरेका छन्, इजरायली राजनीतिज्ञहरूसँग वादविवाद गरेका छन्, अनि आफ्नो परिवारका सदस्यहरूलाई दुःस्वप्नजस्तो अवस्थाबाट मुक्त गराउने प्रतिज्ञा कहिल्यै त्यागेका छैनन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायल र हमासबीच बाँकी रहेका बन्धकहरूको रिहाइका लागि सम्झौता भएको घोषणा गर्नासाथ नेपालीहरुले पनि उक्त सम्झौतालाई नजिकबाट नियालीरहेका छन् । इजरायलबाट नेपाली युवक विपीन जोशी पनि हमासको बन्दक बनाइएका छन् । नेपाल सरकार र जोशीको परिवार उनको रिहाइको लागि निरन्तर प्रयास गरिरहेको छ । उक्त सम्झौतापछि जोशी पनि हमासको कब्जाबाट छुट्न सक्ने सम्भावना अझ तीव्र भएको छ ।
इजरायली तथ्याङ्कअनुसार, सुरुमा अपहरणमा परेका २५० जना मध्ये हाल गाजामा रहेका २० जना जीवित छन् र २८ जनाको मृत्यु भइसकेको छ । एपी







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्