Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

दासढुङ्गादेखि मुग्लिनसम्मको सडकमा सधैँ पहिरोको त्रास, तुइनखोला देखि कालीखोलासम्म उच्च जोखिम

दासढुङ्गादेखि मुग्लिनसम्मको सडकमा सधैँ पहिरोको त्रास, तुइनखोला देखि कालीखोलासम्म उच्च जोखिम
विज्ञापन
Advertisement

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको दासढुङ्गादेखि मुग्लिनसम्मको सडकखण्ड पहिरोका कारण सधैँ जोखिमपूर्ण हुने गरेको छ। पानी पर्दा लेदोसहितको पहिरो र पानी नपर्दा सुक्खा पहिरो खस्ने गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

चीन सरकारको सहयोगमा निर्माण भएको यो सडक अहिले आधुनिक रूपमा विस्तार भए पनि, प्रकृतिको जोखिमबाट अझै सुरक्षित हुन सकेको छैन। सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इ कृष्णप्रसाद आचार्यका अनुसार नारायणगढ–मुग्लिन सडक विसं २०३३ मा चीन सरकारको सहयोगमा निर्माण गरिएको हो । सुरुआती चरणमा यो सडक मिडियम लेनमा पाँच दशमलव पाच मिटर चौडाइमा बनेको थियो ।

राजधानी काठमाडौं जाने प्रमुख मार्गको रूपमा विकसित यो सडकमा दैनिक हजारौँ सवारीसाधन गुड्ने गर्दछन् । बढ्दो यातायातलाई मध्यनजर गर्दै विसं २०७०÷७१ सालदेखि सडकलाई डेडिकेटेड डबल लेनमा विस्तार गर्ने कार्य सुरु गरी विसं २०७५ मा विस्तार कार्य सम्पन्न गरिएको आचार्यले जानकारी दिए । यससँगै सडकमा रहेका १९ वटा पुललाई पनि डबल लेनमा रूपान्तरण गरिएको छ । पछिल्लो समय विश्व बैंकको ऋण सहयोगमा सडक विस्तार र पुल निर्माणको काम गरिएको हो ।

सूचना अधिकारी आचार्यका अनुसार दासढुङ्गादेखि मुग्लिनसम्मको भू–बनोट पहिरो जाने प्रकारको भएकाले यो सडकखण्ड जोखिमयुक्त मानिन्छ। अधिकांश स्थानमा भाँचिएको ढुङ्गा ‘फ्याक्चर्ड रक’का पहाड भएकाले पहिरोको जोखिम बढी रहेको छ । हरेक वर्ष सक्रिय पहिरोका स्थानहरू परिवर्तन हुँदै जाने गरेको उनले बताए । विगतका वर्षहरूमा मौरीखोला र सेती दोभानखोला क्षेत्रमा बढी समस्या हुने गरेको भए पनि हालका वर्षहरूमा तुइनखोला, कालीखोला र नाम्सीखोलामा पहिरोको जोखिम बढी रहेको आचार्यको भनाइ छ । उनका अनुसार यो वर्ष तुइनखोलामा १६० मिटर, नाम्सीखोलामा १५० मिटर र कालीखोलमा ५० मिटर पहिरोको उच्च जोखिमा रहेको छ ।

जोखिम न्यूनीकरणका लागि सडक डिभिजन कार्यालयले पहिरो हटाउने उपकरण तयारी अवस्थामा राखेको र नियमित रूपमा काम भइरहेको आचार्यले जानकारी दिए । पहिरो रोक्नका लागि योजना बनाएर विभागमा पठाइएको छ । उनका अनुसार आफूहरूले तयार पारेको योजना सहमतिका लागि विभाग पठाइएको र अध्ययनको क्रममा रहेको छ ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख नारायण लामिछानेका अनुसार यसअघि पहिरो खस्दा तुइनखोलामा पुलपट्टीको ढिस्को बाँकी रहेको थियो । सोही ढिस्कोको केही भाग हिजोआज खस्ने गरेको छ। पटक–पटक गरेर पहिरो खस्दा सडक जोखिमपूर्ण वनेको छ। गत महिना सो ठाउँमा पहिरो खस्दा लामो समय सडक अवरुद्ध भएको थियो। पहिरो नियन्त्रणका लागि योजना बनाइएको सो पहाडको धेरै भाग झरेपछि कार्यालयले सडक बिभागमा पहिरो नियन्त्रणका लागि पुनः लगत तयार गर्न फाइल पेस गरेको छ ।

लामिछानेका अनुसार यसअघि तुइनखोलासहित विभिन्न ठाउँमा पहिरो नियन्त्रणका लागि ३९ करोडको लगत तयार गरी विभागमा पेस गरिएको थियो । पहिरो नियन्त्रण गर्नुपर्ने मुख्य पहाडको रूपमा रहेको तुइनखोला नजिकैको पहाडको स्वरूप पहिरोले परिवर्तन गरेपछि स्टिमेट पुनः गर्न लागिएको हो । उनका अनुसार यही हिउँदमा काम गर्नुपर्ने भएकाले विभागलाई यथासक्य छिटो निर्णय प्रक्रियामा लैजान आग्रह गरिएको छ। यो सडक हुँदै राजधानी काठमाडौं र गण्डकी प्रदेशका विभिन्न जिल्लाहरू सवारीसाधन जाने आउने गर्दछन् । ती जिल्लाका लागि लाइफलाइनका रूपमा यो सडकलाई हेर्ने गरिन्छ ।

डिभिजन सडक कार्यालयले जोखिमपूर्ण ती क्षेत्रमा पहिरो रोकथामको काम गर्न गत वर्षनै विभागमा प्रस्ताव गरेको भए पनि समयमा ध्यान नदिँदा यो बर्र्सातमा यात्रुहरूले दुःख पाएका हुन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit