काठमाडौं । जीवनशैली र वातावरण प्रदूषणले नेपालीहरुको आँखा स्वास्थ्यमा प्रभाव पारिरहेको छ। वातावरण प्रदूषण तथा मोबाइल, कम्प्युटर र टिभी अत्याधिक हेर्ने बानीले आँखाको एलर्जीको समस्या पनि बढाएको छ। यस्तो समस्या बालबालिकामा समेत देखिएको छ। नर्भिक अस्पतालमा पनि आँखाको एलर्जी, आँखा सुक्खा हुने, चस्मा लगाउनुपर्ने, मधुमेह र उच्च रक्तचापका कारण हुने आँखाको समस्या लगायतका बिरामीहरु बढी आउँछन् । यस्तोमा आँखा सुख्खा हुनुका कारण र यसबाट बच्ने उपायहरु निम्न छन् ः
आँखा किन सुक्खा हुन्छ ?
हाम्रो आँखालाई पानी चाहिन्छ । बाहिरी वातावरणमा प्रदूषण बढी हुँदा आँखाको पानी छिटो सुक्ने हुन्छ । स्क्रीनमा धेरै हेर्दा पनि आँखा झिम्काउने प्रक्रिया कम हुँदै जान्छ। आँखा झिम्काउनु भनेको आँखाको पानीलाई फैलाउनु हो। यो काम आइ लिडको हुन्छ । प्रतिमिनेट १४/१५ पटक आँखा झिम्काउनुपर्नेमा धेरै समय स्क्रीन हेर्दा आँखा झिम्काउने समय पनि कम हुन्छ। जसले गर्दा पानी उडेर जान्छ र आँखा सुक्खा हुन्छ । आँखा सुक्खा भएपछि एलर्जी हुन्छ ।
आँखाको एलर्जीका लक्षण
– आँखा पोल्ने,
–आँखा चिलाउने,
–आँसु आइरहने,
–आँखा धेरै उज्यालो वा प्रकाशमा हेर्न गाह्रो हुने ।
आँखा सुक्खा हुन नदिन के गर्ने ?
प्रविधिको युगमा अघि बढिरहेको अहिलेको पुस्तालाई मोबाइल, कम्प्युटरको प्रयोग बढी गर्न हुँदैन भन्नु व्यावहारिक हुँदैन । तर यसको प्रयोगलाई कम गर्न भने अवश्य सकिन्छ । मोवाइल, ल्यापटक वा कम्प्युटरको प्रयोग लगातार वा घण्टौंसम्म गर्नुभन्दा बीच–बीचमा आराम गर्नुपर्छ। हरेक २० मिनेटमा २० सेकेण्डदेखि एक मिनेटसम्म आँखालाई आराम दिनुपर्छ। आँखा सुक्खा वा एलर्जीको समस्या पटक– पटक भइरहेको छ भने आँखामा आँसुको मात्रा जाँच गराउन सकिन्छ। आँखामा आँसुको मात्रा कम भएको पाइएमा आँखालाई शीतल गर्ने आइड्रप प्रयोग गर्न सकिन्छ ।
सम्पूर्ण शरीरलाई स्वस्थ राख्न जसरी ध्यान दिनुपर्छ, त्यसैगरी आँखालाई पनि स्वस्थ राख्न ध्यान दिनुपर्छ ।
आँखा स्वस्थ राख्न के गर्ने ?
– हरेक वर्ष वा ६ महिनामा एकपटक आँखा जाँच गराउने,
–आँखा सफा राख्ने,
–आँखामा आफूखुसी एन्टिबायोटिक वा स्टेरोइड नराख्ने,
– सन्तुलित खाना खाने,
–बालबालिकालाई भिटामिन ए को कमी हुन नदिने,
–पानी प्रशस्त पिउने,
–हरियो सागसब्जी नियमित खानुपर्छ,
– कुनै समस्या भइहालेमा आँखा जँचाइहाल्ने गर्नुपर्छ ।
( लेखक नेत्र रोग विशेषज्ञ, डा. नेयाज कौसर नर्भिक अस्पतालमा कार्यरत छन् ।)




कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्