काठमाडौं । एनआईसी एशिया क्यापिटलले एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किमको इकाई खरिद तथा पुन: खरिदका लागि आवेदन खुला गरेको छ ।
क्यापिटलद्वारा सञ्चालित ‘एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम’ कम्पनीको दोस्रो खुलामुखी म्युचुअल फन्ड योजना हो । यो योजनामा नेपालमा सञ्चालित खुलामुखी म्युचुअल फन्डहरूमध्ये पहिलो पटक मिनी एसआईपी (५०० रुपैयाँ) तथा एसटीपी (सिस्टेमाटिक ट्रान्सफर प्लान) जस्ता विशेषताहरू समावेश गरिएको क्यापिटलले जनाएको छ ।
नेपाल धितोपत्र बोर्डले स्वीकृत गरेर पहिलो चरणको बाँडफाँड सम्पन्न भएको मितिले तीन महिनाभित्र योजना नियमित खरिद/पुर्नखरिदका लागि खुला गर्नुपर्ने प्रावधानअनुसार आज (मंसिर १५ ) गतेदेखि नियमित कारोबारका लागि आवेदन खुला गरिएको हो ।
कम्पनीले योजनाको पहिलो चरणअन्तर्गत १० रुपैयाँ अंकित दरका ५ करोड इकाइ साउन २९ गतेदेखि भदौ १२ गतेसम्म सार्वजनिक निष्कासन गरेको थियो । सो अवधिमा ८२ हजार ७३७ जना लगानीकर्ताले ७४ लाख १७ हजार इकाई बराबरको आवेदन दिएको कम्पनीले उल्लेख गरेको छ। जुन कुल मागको १.४८ गुणा बढी हो। योग्य आवेदन दिने सबै लगानीकर्तालाई भदौ १६ गते इकाई वितरण गरिसकेको क्यापिटलले जनाएको छ ।
हालका लागि इकाइ खरिद तथा पुर्नखरिद प्रक्रिया एनआईसी एशिया क्यापिटलको रजिस्टर्ड कार्यालय ट्रेड टावर थापाथलीबाट गर्न सकिने छ । क्यापिटलका अनुसार निकट भविष्यमै मोबाइल एप, अनलाइन पोर्टल तथा डिजिटल भुक्तानी माध्यममार्फत पनि इकाइ खरिद–पुनर्खरिद गर्ने व्यवस्था मिलाइनेछ ।
यो योजनामा संकलित रकममध्ये अधिकांश हिस्सा धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीहरूका सेयरमा लगानी गरिने कम्पनीले जनाएको छ ।

















प्रतिक्रिया दिनुहोस्