काठमाडौं । अन्तरिम मन्त्रिपरिषद् पुनः विस्तार भएको छ । शुक्रबार थपिएका चार नवनियुक्त मन्त्रीले पद तथा गोपपनियताको शपथ लिएसँगै प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको चौथो पटक विस्तारित मन्त्रिपरिषद्को आकार १४ सदस्यीय बनेको छ ।
नवनियुक्त मन्त्रीहरु कुमार इङनाम, राजेन्द्रसिंह भण्डारी, माधव चौलागाईं र श्रद्धा श्रेष्ठले आज शितलनिवासमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपपिनयताको शपथ लिएका हुन् । थपिएका मन्त्रीहरुमा इङनामले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा, चौलागाईंले वन तथा वातावरण र श्रेष्ठले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

थपिएका चारमध्ये वन मन्त्री चौलागाईं जुम्लाका हुन् भने उनले प्रत्येक वर्ष ‘कुडा कर्णालीका’ नामक कर्णाली साहित्य महोत्सव मार्फत कर्णाली प्रदेशका विकास सम्भावना र चुनौतीहरुबारे उजागर गर्दै आएका थिए । यस्तै उनी ‘जुरुक्कै कर्णाली’ गीतका लेखक समेत हुन् । यसैगरी, बैतडी जिल्लाको पाटन नगरपालिकाका बासिन्दा श्रममन्त्री भण्डारी नेपाल प्रहरीको अवकाश प्राप्त पूर्व एआईजी हुन् । उनले २०४३ सालमा नेपाल प्रहरीमा इन्स्पेक्टरको रूपमा सेवा प्रवेश गरेका थिए । भण्डारी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को संस्थापक प्रमुख तथा निर्देशक समेत हुन् । उनलाई अन्तरिम सरकारले श्रम मन्त्रालयको जिम्मेवारी दिएको छ । यस्तै, यस्तै, तेह्रथुमको इवामा जन्मिएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री इङनाम काठमाडौं स्कुल अफ लबाट सेवानिवृत्त भएपछि पनि प्राध्यापन र वकालत पेसामा संलग्न छन् । उनी फौजदारी कानूनका ज्ञाता हुन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रेष्ठ भने पर्यटन बोर्डमा वरिष्ठ प्रबन्धक पदमा कार्यरत थिइन् । दुई दशकदेखि पर्यटन बोर्डमा कार्यरत श्रेष्ठ ७ वर्षअघि वरिष्ठ प्रबन्धकमा बढुवा भएकी थिइन् । पर्यटन बोर्डको सीईओका लागि प्रतिस्पर्धामा रहेकी श्रेष्ठलाई अन्तरिम सरकारले मन्त्री बनाएको हो ।
श्रेष्ठको सेवा अनुभवको आधारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी उपयुक्त हुने कतिपयले चासो व्यक्त गरेपनि उनलाई प्रधानमन्त्री कार्कीले महिला, बालबालिका मन्त्री बनाएकी छन् ।
अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आउँन ८३ दिन बाँकी रहँदा शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष चारजनाको नाम मन्त्री नियुक्तिका लागि सिफारिस गरेकी थिइन् ।
शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति राम शहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा अन्य मन्त्रीहरुको उपस्थिति रहेको थियो ।

















प्रतिक्रिया दिनुहोस्