काठमाडौं । सप्तरीको रुपनीस्थित ज्योति विकास बैंक शाखाका कर्मचारीमाथि गरिएको दुर्व्यवहारप्रति बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले कडा आपत्ति जनाएको छ ।
सिबिफिनका अनुसार लामो समयदेखि कर्जाको किस्ता नियमित हुन नसकेपछि सो विषयको समाधानका लागि स्वयं ऋणीको आग्रहमा छलफलका लागि पुगेका बैंक कर्मचारीहरूलाई स्थानीय तहका जिम्मेवार अधिकारीको नेतृत्वमा रहेका ऋणीहरूको समूहले नियोजित रूपमा घण्टौँसम्म नियन्त्रणमा राखी पशुवत व्यवहार तथा हिंस्रक आक्रमण गरेका थिए ।
सिबिफिनले उक्त घटनापछि स्थानीय सुरक्षा निकायले जाहेरीबिना नै तत्काल अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुको सट्टा पीडितको जाहेरी दर्ता नगरेको र मिलापत्रका लागि दबाब दिएको उल्लेख गर्दै कडा आपत्ति जनाएको छ । यस्ता गतिविधिले कर्तव्यनिष्ठ बैंक कर्मचारीको मनोबल र मानसिक स्वास्थ्यमा गम्भीर असर पार्ने सिबिफिनले उल्लेख गरेको छ । यस्तै, सिबिफिनले निहित स्वार्थपूर्तिका लागि बैंक तथा वित्तीय संस्था जस्ता संवेदनशील र अत्यावश्यक क्षेत्रमा गरिएको ज्यादतीलाई गम्भीर अपराधको संज्ञा दिँदै घटनामा संलग्न दोषीलाई हदैसम्मको कारबाही गर्न नेपाल सरकार, गृह मन्त्रालय र मातहतका सुरक्षा निकायसँग जोडदार माग गरेको छ ।
संघले बैंक तथा वित्तीय संस्था र त्यहाँ कार्यरत सम्पूर्ण कर्मचारीहरूको प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन तथा बैंकिङ सेवा निर्वाध रूपमा सञ्चालन हुने सुरक्षित वातावरण निर्माण गर्न संघीय, प्रदेश तथा स्थानीय सरकार, गृह मन्त्रालयलगायत सबै सम्बन्धित निकायसँग आग्रह गरेको छ ।
यसैबीच ज्योती विकास बैंकले आजै विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेको छ । ‘ऋणी सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रा.लि.का सञ्चालक ऋणीहरुले कर्जाको किस्ता नियमित गर्ने सम्बन्धमा छलफल गर्न टेलीफोनबाट बोलाए अनुसार यस बिकास बैंकको क्षेत्रीय कार्यालय बर्दिबासका २ जना कर्मचारीहरु कर्जाको किस्ता नियमित गर्ने सम्बन्धमा ऋणीसँग छलफल गर्न गएकोमा कर्मचारीहरुलाई फर्म रहेको स्थानमा ऋणी प्रा.लि.का संचालक, निजका परिवारका सदस्य तथा सहयोगीहरुले छलफलका लागि खटाइएका कर्मचारीहरूलाई नियन्त्रणमा लिई नियोजित रूपमा दुव्र्यवहार गर्दै ज्यान मार्ने उद्देश्यले आक्रमण गरिएको जस्तो गम्भीर आपराधिक घटनाको यस विकास बैंक घोर भत्र्सना गर्दछ’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बैंकले उक्त घटनामा स्थानीय जनप्रतिनिधि समेत संलग्न रहेको उल्लेख गर्दै त्यसको कडा निन्दा गरेको छ । ‘अपराधिक मनोवृत्तिले सुनियोजित ढंगबाट घण्टौंसम्म आफ्नो नियन्त्रणमा लिई बहालवाला उपमेयर समेतको संलग्नतामा भएको यो घटना अत्यन्त खेदजनक रहेको छ ’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साथै, कर्मचारीहरुलाई नियन्त्रणमा लिई धितो लिलामी स्थगनको निर्णय लिखित रुपमा तत्काल केन्द्रिय कार्यालयबाट पत्र उपलब्ध नगराएमा ज्यान लिने धम्की दिएको अवस्थामा सुरक्षा निकायबाट कुनै सहयोग नपाएपछि बैंकलाई विकल्पविहिन अवस्थामा उक्त पत्र लेख्न बाध्य बनाइएको व्यहोरा समेत सम्पुर्णमा जानकारी गराउँदछौं ।’
यस्तै, बैंकले आफ्नो कर्मचारीको पक्षमा न्याय माग गर्ने जनाउँदै कारबाहीको लागि कानूनी प्रकृया अघि बढाएको उल्लेख गरेको छ। ‘हाल पछिल्ला समयहरुमा बैंक तथा वित्तीय संस्थाहरू विभिन्न अराजक तथा अपराधिक गतिविधिको निशानामा परिरहेकोमा यस विकास बैकका कर्मचारीहरु समेत यस्ता अपराधिक व्यक्तिहरुको निशानमा परेको प्रति दुःख व्यक्त गर्दै, यस्ता आपराधिक कार्यहरूको घोर निन्दा तथा भत्र्सना गर्दछौं । अपराधीहरूलाई कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारबाहीको लागि आवश्यक प्रक्रिया समेत अघि बढाइसकीएको छ।’
बैंकले यस्ता प्रकृतिका अपराधिक मनसायले गरिने कार्यहरूविरुद्ध सदैव कडा रूपमा उभिने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।















प्रतिक्रिया दिनुहोस्