भद्रपुर । गाउँका धेरै युवाजस्तै विदेश जाने सपना देखेर होइन, आफ्नै माटोमा बसेर प्रविधिसँग मित्रता गाँस्दै सफलता खोज्ने आँट गरे झापाका दुई दाजुभाइले। शिवसताक्षी नगरपालिका–२, सङ्गमचोकका प्रदीप चौहान र पवन चौहान आज ‘विदेश कहिले जाने ?’ भन्ने प्रश्नको उत्तर आफ्नै युट्युब च्यानलमार्फत दिइरहेका छन् । मध्यम वर्गीय परिवारमा जन्मिएका यी दाजुभाइको पहिचान अहिले ‘विदेश नजाने तर विश्वभर चिनिने नेपाली क्रियटर’का रूपमा स्थापित भएको छ ।
सानो कोठामा, साधारण मोबाइलबाट सुरु भएको उनीहरूको यात्राले आज ‘सानो क्रियटर’ नामक युट्युब च्यानललाई विश्वकै चर्चित मिनिएचर कन्टेन्ट प्लेटफर्ममध्ये एक बनाएको छ । करिब दुई वर्षको अवधिमै झण्डै ४५ लाख सब्सक्राइबर, करोडौँ भ्युज र मासिक लाखौँ आम्दानी–यो सफलता आकस्मिक होइन, निरन्तर प्रयास, असफलताबाट सिकाइ र फरक सोचको परिणाम हो ।
मध्यम परिवारदेखि डिजिटल संसारसम्म
प्रदीप चौहान २९ वर्षको भए । उनले कक्षा १२ सम्म अध्ययन गरेका छन् । पढाइमा औसत भए पनि सानैदेखि केही नयाँ बनाउने, बिगार्ने र फेरि जोड्ने उनको बानी थियो । घरमा कुनै इलेक्ट्रोनिक सामान आइपुग्यो भने त्यसका पाटपुर्जा खोलेर हेर्ने, कसरी चल्छ भनेर बुझ्ने उनको स्वभाव नै थियो ।
कक्षा १२ सकेपछि परिवारसँग दुई बिघा जमिन भएकाले प्रदीपले कृषिलाई नै भविष्य ठानेर यसमै समपर्ण गर्ने सोच बनाए । लेयर्स कुखुरापालनदेखि बङ्गुर व्यवसायसम्म उनले विभिन्न प्रयोग गरे । सुरुआतमा आशा पलाए पनि गाउँमै धेरै मानिस एउटै व्यवसायमा लागेपछि उत्पादन बढ्यो, बजार खुम्चियो र लगानी डुब्न थाल्यो । करिब २५ लाख रुपैयाँको कृषि ऋण, घर–परिवारको जिम्मेवारी र असफलताले उनीहरुलाई मानसिक रूपमा निकै कमजोर बनायो । ‘निराशा चरम सीमामा पुगेको थियो, तर हामीले हार मानेनौँ’, प्रदीपले विगत सम्झिदै भने ।
असफल प्रयास र नयाँ सोचको जन्म
आजभन्दा झण्डै छ वर्ष पहिले कोभिड–१९ को समय। घरमै थुनिएको अवस्था, बाहिर कामको अवसर शून्यजस्तै। त्यही समयमा प्रदीपले युट्युबलाई एउटा सम्भावनाका रूपमा पाए । उनले एउटा च्यानल खोलेर नयाँ ठाउँ, नयाँ परिवेशका भिडियो हाल्न थाले। तर खासै दर्शक आकर्षित हुन सकेनन्। त्यतिखेर उहाँहरूसँग न त महँगो क्यामेरा थियो, न त स्टुडियो । आइफोन ७ प्लस नै सबैथोक थियो । ‘भिडियो हाल्यौँ तर प्रतिक्रिया आएन । धेरैपटक मन खिन्न भइयो,’ प्रदीपले भने ।
तर, यही असफलताले उनलाई सिकायो–युट्युबमा सफल हुन जे मन लाग्यो त्यही हाल्ने होइन, ‘दर्शकले के खोजिरहेका छन्’ बुझ्नुपर्छ । त्यसपछि उनले युट्युब एल्गोरिदम, ट्रेन्डिङ भिडियो, विभिन्न सामाजिक सञ्जालका कन्टेन्टहरू गहिरो अध्ययन गर्न थाले । कुन भिडियो धेरै हेरिन्छ ? किन हेरिन्छ ? दर्शकको ध्यान कहाँ टिक्छ ? यही अनुसन्धानले उनीमा एउटा नयाँ विचार जन्मायो–सानो, सरल तर सबैलाई चासो लाग्ने कन्टेन्ट निर्माण गर्नुपर्छ ।
‘सानो क्रियटर’ : सानो सोच, ठूलो प्रभाव
सन् २०२३ को सुरुआतमा प्रदीप र पवनले ‘सानो क्रियटर’ नामक युट्युब च्यानल खोले । यो च्यानलको अवधारणा थियो–दैनिक जीवनका ठूला कामहरू सानो आकारमा देखाउने । प्रदीपलाई साना गाडी र संरचना बनाउने रुचि थियो । पवनलाई भिडियो खिच्ने र एडिट गर्ने । दाजुभाइको यही फरक–फरक सीप एउटै उद्देश्यमा जोडियो । चप्पलका चक्का काटेर बनाइएका साना ट्रक, ट्याक्टर, घर निर्माणका सामग्री, साना गाडीले माटो बोकेको दृश्य–यी सबै साधारण सामग्रीबाट बनाइएका थिए । तर त्यसमा कल्पना, मेहनत र धैर्य मिसिएको थियो । भाग्यवश, च्यानलको पहिलो भिडियोदेखि नै दर्शकको ध्यान तान्न सफल भयो । भिडियोहरू भाइरल हुन थाले । एकपछि अर्को भिडियो लाखौँ पटक हेरिन थाल्यो ।
‘सानो क्रियटर’ मा देखिने साना ट्रक, खेत खन्ने मेसिन, घर बनाउने सामग्री–यी सबै दाजुभाइले आफैँ बनाउने गर्छन् । बाहिरको ठूलो क्षेत्र होइन, आफ्नै स्टुडियोभित्र सानो संसार तयार हुन्छ। गाडीले सामान बोकेको, फिल्ड खनेको, घर निर्माण गरेको दृश्य यथार्थजस्तै देखिन्छ। यही यथार्थपरक ‘मिनिएचर’ संसारले दर्शकलाई बाँधेको छ। प्रदीपको यो कामलाई भाई पवनले पनि पूरै साथ दिएका छन् । “दुबै जना नभए भिडियो बनाउन असम्भव हुन्छ,” प्रदीप भन्छन् । एक जनाले संरचना बनाउँछ, अर्कोले त्यसलाई जीवन दिन्छ–क्यामेराबाट ।
विश्वभर फैलिएका दर्शक
आज ‘सानो क्रियटर’का दर्शक नेपालमा मात्र सीमित छैनन्। करिब ६० प्रतिशत दर्शक भारतका छन्। नेपाली दर्शक भने करिब दुई प्रतिशत मात्रै। भारत, नेपालबाहेक पाकिस्तान, बङ्गलादेश, थाइल्याण्ड, श्रीलङ्कालगायतका देशमा पनि उनीहरुको भिडियो अत्यन्त रुचाइन्छ । भाषाभन्दा पनि दृश्यमा आधारित कन्टेन्ट भएकाले विश्वभरका दर्शकले सजिलै बुझ्छन् । यही अन्तर्राष्ट्रिय दर्शक नै उनीहरुको आम्दानीको मुख्य आधार बनेको छ । प्रदीपका अनुसारजस्तो पायो त्यस्तै भिडियो निरन्तर हाल्नुभन्दा केही समयको अन्तर राखेर भिडियो अपलोड गर्नु राम्रो हुन्छ । भिडियो बनाउन धेरै मेहनत लाग्छ, त्यसैले उनीहरुले महिनामा करिब १० देखि १२ वटा भिडियो मात्र ‘अपलोड’ गर्छन् ।
‘भ्युज’ होइन, विज्ञापनको खेल
प्रदीपका अनुसार युट्युबको आम्दानी भ्युजसँग मात्र जोडिएको हुँदैन । भिडियो सुरु हुँदा आउने विज्ञापन नै आम्दानीको मुख्य स्रोत हो । ‘डिजिटल साक्षरता बढी भएको देशमा बज्ने विज्ञापनको दर नेपालभन्दा धेरै हुन्छ’, उनले भने । त्यसैले नेपालभन्दा बाहिरबाट धेरै ‘भ्युज’ आए आम्दानी पनि बढी हुन्छ। कुनै भिडियो धेरै हेरियो भने विज्ञापन पनि बढी आउँछ । यही कारणले एउटै भिडियोले छ करोड २० लाख ‘भ्युज’ पाउँदा एक महिनामा करिब २९ हजार अमेरिकी डलरसम्म आम्दानी भएको अनुभव प्रदीपसँग छ । प्रदीपका अनुसार, दुई वर्षअघि अपलोड गरिएको भिडियो अहिले पनि धेरै हेरिने भएकाले उक्त भिडियोबाट अहिले पनि आम्दानी भइरहेको हुन्छ । हालसम्म युट्युबमार्फत उनीहरुले मासिक करिब सात लाखदेखि अधिकतम् ४१ लाख नेपाली रुपैयाँसम्म आम्दानी गरेका छन् ।
ऋणको भारीदेखि करोडपति जीवनसम्म
दुई वर्षअघि उनीहरुसँग काठको टाँडे घर थियो । कृषि ऋणको भारले भविष्य अन्धकार देखिन्थ्यो । आज भने युट्युबकै कमाइले करोडौँ लगानीमा घर निर्माण भएको छ। चारपाङ्ग्रे विद्युतीय गाडीसमेत खरिद गरेका छन् । तर उनीहरुका लागि सबैभन्दा ठूलो उपलब्धि पैसा नभइ हाल आत्मविस्वास भएको प्रदीपको भनाइ छ । ‘सबैभन्दा ठूलो कुरा आत्मविश्वास हो’, प्रदीप भन्छन् । असफलताबाट उठेर आफूले केही गर्न सक्छु भन्ने विश्वास नै उनीहरूको साँचो पुँजी बनेको छ।
प्रदीप चौहान अरूको नक्कलभन्दा फरक बाटो रोज्न युवालाई स्पष्ट सन्देश छ, ‘अरूले के ग¥यो भनेर त्यही दोहो¥याउनु सजिलो हुन्छ, तर दिगो सफलता आफ्नै सोच र सीपबाट मात्रै आउँछ।’ आफूसँग जे छ, जति छ, त्यसलाई फरक तरिकाले प्रस्तुत गर्नसके त्यो नै ठूलो अवसर बन्न सक्ने प्रदिपको अनुभव छ ।
आज प्रविधि गाउँ–गाउँसम्म पुगेको छ। महँगो उपकरण, ठूलो स्टुडियो वा ठूलो लगानी नभए पनि सिर्जनात्मक सोच र निरन्तर अभ्यासले सामाजिक सञ्जाललाई आम्दानीको बलियो माध्यम बनाउन सकिने प्रदीपको विश्वास छ। ‘प्रविधि आफैँमा ठूलो शक्ति हो, प्रश्न यसलाई कसरी प्रयोग गर्ने भन्ने हो’, उनले भने ।
विदेश जाने लाइनमा नलागेर आफ्नै गाउँबाट विश्व बजारमा पुगेका चौहान दाजुभाइको यात्रा केवल युट्युब सफलताको कथा मात्र होइन । यो कथा हो–असफलताबाट भाग्ने होइन, त्यसलाई पाठ बनाउने साहसको। यो कथा हो–भीडभन्दा फरक हिँड्ने हिम्मतको र निरन्तर मेहनतको । ‘सानो क्रियटर’ले प्रमाणित गरिदिएको छ–सपना ठूलो हुनैपर्छ भन्ने छैन, सोच फरक भए पुग्छ । सानो प्रयास, सही दिशा र आत्मविश्वास भए गाउँबाटै विश्व जित्न सकिन्छ । दिपक चन्द/रासस

















प्रतिक्रिया दिनुहोस्