Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

म्याग्दीमा सुन्तला उत्पादनको क्षेत्रफल बढ्दा उत्पादकत्व घट्यो

म्याग्दीमा सुन्तला उत्पादनको क्षेत्रफल बढ्दा उत्पादकत्व घट्यो
विज्ञापन
Advertisement

म्याग्दी । यहाँको प्रमुख नगदे फलफूल बालीका रूपमा रहेको सुन्तलाको यस वर्ष उत्पादन घटेको छ। सुन्तलाखेती हुने जमिनको क्षेत्रफल र मूल्य बढे पनि उत्पादकत्वमा कमी आएको हो ।

विज्ञापन
Advertisement
Advertisement

जिल्लास्थित कृषि विकास कार्यालयका अनुसार गत वर्षको तुलनामा पाँच दशमलव ५६ प्रतिशतले उत्पादन घटेको छ। यस वर्ष विभिन्न रोग र किराको सङ्क्रमण नभए पनि बोटमा दाना पातलो लागेकाले उत्पादन घटेको कार्यालयका प्रमुख सञ्जीव बास्तोलाले बताए ।

‘यस वर्ष मौसमले साथ दिएको हो। रोगकिरा नदेखिएको र विपद्ले क्षति नगरे पनि यसपालि दाना कम लागेको छ’, उनले भने, ‘एक वर्ष अत्यधिक फल्ने र अर्को वर्ष कम दाना लाग्ने सुन्तलाखेतीको प्राकृतिक विशेषताका कारण उत्पादनमा असर परेको हो ।’ गत वर्ष ४२५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ११ दशमलव २५ मेट्रिक टनका दरले चार हजार ७८१ मेट्रिक टन सुन्तला उत्पादन भएको जनाउँदै बास्तोलाले यस वर्ष ४३० हेक्टर क्षेत्रफलमा १० दशमलव पाँच मेट्रिक टनका दरले चार हजार ५१५ मेट्रिक टन सुन्तला उत्पादन भएको अनुमान गरिएको उल्लेख गरे ।

किसानको बगैँचाको नमूना अध्ययनका आधारमा प्रारम्भिक तथ्याङ्क निकालिए पनि सबै बगैँचाको सुन्तला बिक्री भइसकेपछि वास्तविक तथ्याङ्क सङ्कलन गरिने कार्यालय प्रमुख बास्तोलाले बताए । यस वर्ष सरदर ६५ देखि ७० रुपैयाँका दरले सुन्तला बिक्री भइरहेको छ । यद्यपी किसानले गत वर्षको तुलनामा प्रतिकिलो पाँच रुपैयाँ बढी मूल्य पाएका छन् । म्याग्दीमा यस वर्ष उत्पादन हुने अनुमान गरिएको सुन्तलाको सरदर बिक्री मूल्य अनुसार ३१ करोड ६० लाख ५० हजार रुपैयाँ अनुमान गरिएको कृषि विकास कार्यालयले जनाएको छ ।

जिल्लाको ८३० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भएको कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख छ। राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेँडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा बढी सुन्तला बगैँचा रहेका प्रमुख बास्तोलाले जानकारी दिए ।

जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौं, पोखरा, मुग्लिनगायत बजारमा सुन्तला बिक्री हुने गरेको छ। यातायात सुविधा भएकाले व्यापारी सुन्तला खरिद गर्न गाडी लिएर बगैँचामै आउने गरेका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र र स्थानीय तहको कृषि शाखाले सुन्तलाका बिरुवा वितरण, प्राविधिक तालिम, बगैँचा व्यवस्थापन, साना सिँचाइ र बजारीकरणमा सहयोग गर्दै आएका छन् । रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit