चितवन । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ मा जसरी पनि निर्वाचन हुने बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले निर्वाचन निष्पक्ष र धाँधलीरहित ढङ्गबाट हुने उल्लेख गरे ।
खरेलले भने, ‘निर्वाचन आयोगले द्रुत गतिमा काम अघि बढाइरहेको छ । पछिल्लो आधार समानुपातिकको बन्द सूचीमा ६४ वटाभन्दा बढी दलहरुले बन्द सूची बुझाइसकेका छन् ।’ १० लाख बढी नयाँ मतदाता मतदाता नामावलीमा दर्ता भइसकेको अवस्था रहेको भन्दै उनले सुरक्षा निकायमा नयाँ नेतृत्व आइसकेर प्रहरीको मनोबल उच्च भएको प्रस्ट पारे । सरकारले निर्वाचनका लागि जनशक्तिसहित पर्याप्त बजेट छुट्याई सकेको उनको भनाइ थियो । दलहरु जिल्ला जिल्लामा प्रचारमा लागेको उल्लेख गर्दै उनले भने, ‘पार्टीका झन्डा देखेर मतदान दिनुस् भन्न थालिएको छ। प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा समेत दलहरु लागिसकेका छन् ।’ जनस्तरदेखि मिडियासम्म प्रश्नदेखि जवाफसम्म निर्वाचन केन्द्रित भइरहेकाले निर्वाचन नहुनेमा द्विविधा नभएको उनको भनाइ थियो ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेलले आफू अहिले नागरिक सरकारको प्रवक्ता भएको भन्दै अहिलेसम्म कुनै पनि पार्टीमा नरहेको बताए । ‘चुनाव लड्ने नलड्ने भन्ने कुनै निर्णय मैले गरेको छैन’ मन्त्री खरेलले भने। सरकारले दलका कार्यालयहरु गएर भेटेर बोलाएर चुनावको बातावरण बनाइरहेको उनको भनाइ थियो । उनले भने, ‘म मन्त्रिपरिषद्को सदस्य भएको नाताले निर्वाचन कसरी गर्ने भन्ने विषयमा प्रधानमन्त्रीलाई सघाउने हो । निष्पक्ष, धाँधलीरहित र स्वतन्त्र निर्वाचन गर्ने कुरामा हामी लागेका छौँ ।’
सरकारले सुशासन कायम गर्ने कुरासँगै भ्रष्टाचार नियन्त्रण गर्ने कुरामा केही आधारशिलाहरु अघि बढाएको उनको भनाइ छ । अर्को प्रसङ्गमा उनले अहिलेका मन्त्रीहरुले निर्वाचनमा उम्मेदवार हुने नहुने कुरा एउटा व्यक्तिका अधिकारको कुरा भएको बताए । ‘चुनाव लडिराख्दा महत्वपूर्ण पदमा छ भने त्यो पदको दुरुपयोग गर्नु हुँदैन । एउटा व्यक्तिले म चुनाव लड्छु, जनतामा जान्छु, म उम्मेदवार बन्छु, देशको सेवा गर्छु भनेर भन्छ भने त उसलाई बार लगाउनु त भएन’ खरेलले भने ।

















प्रतिक्रिया दिनुहोस्