काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले भन्सार कर छली प्रकरणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदीय समितिमा झुटो बोलेको आरोप लगाउँदै तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले सरकारमा पुगेपछि सुशासनका प्रतिबद्धताहरू बिर्सिने प्रवृत्ति बढेको टिप्पणी गरे। बुधबार अर्थ समितिको बैठकमा अर्थमन्त्री वाग्लेले आफूले आर्थिक विधेयक र करका दरहरूमा कुनै थपघट वा सूचना चुहावट नगरेको दाबी गरेका थिए। तर, सांसद शाहीले अर्थमन्त्रीको सो दाबी झुटो भएको बताए ।
संसदमा महालेखा परीक्षकको प्रतिवेदन उल्लेख गर्दै शाहीले भने, ‘प्रतिवेदनको पृष्ठ १५२ मा विद्युतीय (ईभी) गाडीहरूको मोटर क्षमता हेरफेर गरेर तातोपानी, कोराला र रसुवागढी नाकाबाट मात्रै २ अर्ब ५० करोड ८३ लाख रुपैयाँ भन्सार छुट दिइएको स्पष्ट उल्लेख छ। देशैभरि गरेर कुल ३ अर्ब ७७ करोड ४४ लाख रुपैयाँ महशुल छुटबारे छानबिन गरी असुलउपर गर्न भनिएको छ।’
उनले सुशासनका पक्षमा हालका अर्थमन्त्रीसँगै अघिल्लो कार्यकालमा संसदीय छानबिन समितिको माग गरेको स्मरण गर्दै भने,‘यो सत्ताको कुर्सी गज्जबको हुँदोरहेछ। यताबाट उता जान बित्तिकै सबै कुरा बिर्सिने रहेछ’ शाहीले थपे, ‘भन्सारको कर छलीको विषयमा अर्थमन्त्रीले संसदीय समितिमा गएर झुट बोल्नुभएको छ। हामीले संसदीय छानबिन समितिको माग रहरले गरेका होइनौं।’
सांसद शाहीले जेठ १ देखि १४ गतेभित्र करिब ३ हजार सवारी साधन नेपाल भित्रिएको र बजेट भाषण अगावै (सूचना चुहाएर) भन्सार पास गरिएको दाबी गरे। वर्षौंदेखि चल्दै आएको यस्तो राजस्व छली र नीतिगत चलखेलको सत्यतथ्य बाहिर ल्याउन सरकारी जोडतोडको समिति मात्र नभई शक्तिशाली संसदीय छानबिन समिति नै आवश्यक रहेको उनको जिकिर छ।

















प्रतिक्रिया दिनुहोस्